वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण थप तीनकोे ज्यान गयो

 भदौ १३, २०७७ शनिबार ११:२५:३० | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण थप तीनको ज्यान गएको छ । 

वीरगञ्ज महानगरपालिका मनियारीका ३७ वर्षका पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ४३ वर्षका पुरुषको उपचारका क्रममा कोरोना अस्पतालमा ज्यान गएको हो । 

मुर्लीका पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा र मनियारीका पुरुषको थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा चितवनमा ज्यान गएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसीयाले जानकारी दिनुभयो ।

हेपाटाइटिस बी र एचआईभी सङ्क्रमित ३७ वर्षका पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा रिफर गरिएको थियो । यस्तै गएराति नै उपचारको क्रममा वीरगञ्ज-१२ की ६५ वर्षकी महिलाको ज्यान गएको छ ।

ती महिलाको हिजो बेलुका ज्यान गएको डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँलाई पखाला समेत लागेको थियो ।

यस्तै पर्साका ३१ सहित थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि पर्साका ३१ जनासहित थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा शुक्रबार ४ सय ४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित थप ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिका गरी ३१ जनामा सङ्क्रमण देखिएको हो । पोखरियाका १० जना, कालीकामाईका ३ जना र बाँकी सबै वीरगञ्जका विभिन्न वडाका बासिन्दा हुन् ।

त्यसैगरी बाराका ८ जना, धनुषाका ४ जना, महोत्तरीका ३ जना, रौतहटका १ जना, सर्लाहीका २ जना र काठमाण्डौका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अटुलेशकुमार चौरसियाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया