कोरोना कहर : हवाई क्षेत्रमा दीर्घकालीन योजनाको आवश्यकता

 भदौ १६, २०७७ मंगलबार २०:४०:५९ | क्याप्टेन रविन्द्र बहादुर बस्नेत
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसकाे महामारीले विश्वका नागरिकको जनजीवन कष्टकर बनाइदिएको छ । अन्योलका बीच कोरोनासँग पौठेजोरी खेलिरहेका विश्वका नागरिकहरु भोलिको दिन कस्तो हुने र अब यो महामारीसँग कसरी बच्ने भन्ने समस्यामा छन् । आमनागरिक मात्र हैन कोरोना महामारीले विश्वका हजारौँ वैज्ञानिक, अध्ययनकर्ता, स्वास्थ्यकर्मी लगायतको निद्रा हराम भएको छ । उनीहरु महामारीबाट सिर्जित समस्याको समाधानमा जुटिरहेका छन् ।  तर मेसो पत्ता लागिसकेको छैन । 

महामारीले एकातिर मानवलाई आक्रमण गरिहरहेको छ भने अर्कोतिर विश्वको अर्थतन्त्रलाई नराम्ररी प्रभावित बनाइदिएको छ । शक्तिशाली अर्थतन्त्र भएका देशदेखि वामे सर्दै गरेका नेपालजस्ता देशको अर्थतन्त्र उठ्न गाह्रो पर्ने अवस्थामा पुगेको छ ।

विश्वव्यापी कोरोना भाइरसका कारण हवाई उडानको क्षेत्र नराम्ररी थलिएको छ । देशको अर्थतन्त्रको एउटा हिस्सा बोकेको उडान क्षेत्र लामो समयसम्म प्रतिबन्ध लगाइनु देश र सम्बन्धित सञ्चालकका लागि दुर्भाग्य हो । हालैको विकसित देशहरुमा भएको २० औँ हजार मानिसहरु कोभिडविरुद्ध सडकमा निस्किनुले पनि एउटा सन्देश दिएको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा चैत ११ देखि नेपाली आकाशमा उडान प्रतिबन्ध छ । उडान प्रतिबन्ध कोरोना समस्या समाधानको एउटा पाटो भए पनि अर्थतन्त्रका लागि भने अभिशाप बन्न पुगेको छ । सरकारले पनि नागरिक बचाउन भन्दै पटक–पटक प्रतिबन्धको समयसीमा थप्दै गएको छ । यसले समस्यामाथि समस्या थपिएकाे छ ।

एकातिर वर्षायामको समय अर्कोतिर कोरोना महामारी । दुवैका कारण नागरिकहरु आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् । त्यसैले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले आन्तरिक उडान सुरु गर्न नै बुद्धिमता हुनेछ । 

आज भारतलगायत युरोप, अमेरिकाजस्ता देशले पनि नागरिक र अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक उडानलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले बाह्य उडानलाई आंशिक बनाएर आन्तरिक उडानलाई बढवा दिएका हुन् ।

छिमेकी देश भारतमा पनि कोरोना महामारीसँगै बन्द आन्तरिक हवाई उडान दुई महिना अघिदेखि नै सुरु भइसकेको छ । यस्तै गरी कोरोनाको इपिसेन्टर मानिएको चीन, युरोपियन देशहरु जर्मनी, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेनलगायतका धेरै देशमा आन्तरिक उडानहरु निर्वाध रुपमा सञ्चालनमा छन् । यसैले पनि नेपाल सरकारले यथाशीघ्र हवाई उडानलाई नियमित बनाउन आवश्यक छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली हवाई क्षेत्रको विकासका लागि अघि सारेका नयाँ हवाई नीतिले पनि आगामी दिनमा हवाई क्षेत्र थप बलियो हुन्छ भन्ने प्रशस्त आधार छन् । आन्तरिक उडानमा साथ दिएका नेपाल एअरलाइन्स, यति, बुद्ध, श्री, तारा, सीता, समिटलगायतका एअरलाइन्सलाई सुरक्षा सतर्कता अपनाएर उडान भर्न दिन आवश्यक छ । कम्पनीको खस्कँदो आर्थिक घाटा र यात्रुको आवश्यकतालाई सरकारले ध्यानमा राख्नुपर्छ ।

यस्तै हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुको पनि उत्तिकै योगदान र जिम्मेवारी छ । यस्तो विषम परिस्थितिमा हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुले विशेष खालका प्याकेज ल्याएर राज्य र नागरिकलाई थप सेवा प्रदान गर्नुपर्ने बेला आएको छ । यसका लागि राज्यले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुलाई ‘रेस्क्यु’ उडानमा लगाइएको प्रतिबन्ध खुला गर्नुपर्ने, रेस्क्यु उडानका लागि उडान अनुमति दिने, जटिल प्रक्रियालाई थप सहज र सरलीकरण जस्ता काम गर्न आवश्यक छ ।

विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३५० वटासम्म आन्तरिक उडान हुने गरेका थिए । तर कोरोनाका कारण यात्रु अभाव भने हुने पक्का छ । जसका कारण त्यसमा ठूलो कटौती हुने आशङ्का भने कायमै छ । अन्तर्राष्ट्रियतर्फ नियमित उडानलाई अन्तर्राष्ट्रिय प्रचलन covid -19 standard operating procedure अनुसार  उडान सञ्चालन र आन्तरिकतर्फको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा आन्तरिक अभ्यास covid- 19 operation rehearsal / aviation safety risk management अनुसार नै यथाशीघ्र हवाई क्षेत्र खोल्न उपयुक्त हुनेछ।

हवाई यात्रा गर्दा विश्व स्वास्थ्य सङ्गठनले आधिकारिक मानेकाे स्प्रे, उडानपछि जहाजको निर्मलीकरण तथा यात्रा अवधिभर मास्क र फेस शिल्डको प्रयोगले सडक यातायातबाट यात्रा गर्नुभन्दा धेरै सुरक्षित हवाई यात्रा मानिन्छ। अहिलेकाे अवस्थामा गाडीमा यात्रा गर्दा ८ र १० घण्टा लाग्दा सङ्क्रमण हुने जोखिमभन्दा गन्तव्यसम्म एक घण्टामा नै पुग्न सकिने हवाई मार्ग ज्यादै सुरक्षित देखिन्छ । याे खुसीको विषय पनि हो ।

उडान नहुँदा विभिन्न शुल्क तिर्नुपर्ने बाध्यता रहेका वायु सेवा कम्पनीहरु आन्तरिक उडान खुला गरिए अहिलेकाे अवस्थाबाट मुक्ति पाउने छन् । समस्याका चाङलाई पन्छाएरै भए पनि राज्यले भर्खरै घोषणा गरेको नयाँ मितिबाट सबै हवाई सेवा प्रदायक कम्पनीलाई विशेष तयारीका साथ आन्तरिक तथा बाह्य उडान गर्दा अर्थतन्त्र चलायमान बनाइराख्न सहज हुनेछ र हजारौँ श्रमिकको आयस्राेत र आश्रित परिवारमा परेको क्षतिमा टेवा पुग्दछ ।

भविष्यमा पनि अन्य सङ्क्रमण दोहोरिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अहिले चरणबद्ध रोकथामको योजना र दीर्घकालीन नीतिको आवश्यकता देखिन्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

क्याप्टेन रविन्द्र बहादुर बस्नेत

बस्नेत हेलिकप्टर प्रशिक्षक पाइलटका साथै उद्धार उडान र हिमाली क्षेत्रको विज्ञका रुपमा चिनिनुहुन्छ ।

तपाईको प्रतिक्रिया