‘विदेशमा रोजगारी गुम्यो, स्वदेशमा उद्यमको बाटो खुल्यो’

 भदौ १७, २०७७ बुधबार १४:३५:१५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिकाको फुलबारीकी तुलसी कार्की घर फर्किएको दुई महिना हुन लागेको छ । कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी उनले अब विदेश नजाने अडान लिइसकेकी छिन् । सुरुमा दुई वर्ष र त्यसपछि एक वर्ष भिसाको समय थपेर तीन वर्षसम्म काम गरेर उनी घर फर्किएकी हुन् । विदेश बस्दा कमाएर बचाएको पाँच लाख रुपैयाँमै उनले उद्यम सुरु गरेकी छिन् ।

विदेशमा गरेको दुःखले स्वदेशमा उनले आफ्नै काम थालेकी हुन् । फुलबारी बजारमा उनले फेन्सी पसल सञ्चालनमा ल्याएकी छिन् । पसल थालेको एक महिना पुग्न थालेको छ । विदेशमा गएर दुःख भोग्नुभन्दा आफ्नै घरमा बसेर काम गर्न पाउँदा कार्की मात्रै होइन उनको परिवार पनि खुसी छ । ‘विदेशमा तीन वर्ष काम गरियो । अहिले आएर भिसाा पनि थपिएन, त्यही भएर घर फर्किए’, उनले भनिन्, ‘अब विदेश जाँदिन । जे काम गरे पनि अब घरमै गर्छु । सबै जनालाई आफ्नै ठाउँमा सानोतिनो काम गर्न आग्रह गर्दछु ।’

कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र धर्मराएको छ । लाखौँको रोजगारी गुमेको छ । नेपालको पनि मुख्य अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स हो । तर वैदेशिक रोजगारीमा गएकाहरु रोजगारी गुमेसँगै घर फर्किन थालेका छन् । सुदूरपश्चिमका एक हजारभन्दा बढी वैदेशिक रोजगारीका लागि विदेश गएकाहरु घर फर्किएका छन् । विदेशबाट फर्किएकामध्ये कतिले आफ्नै ठाउँमा आफ्नो व्यापार व्यवसाय सुरु गरेका छन् भने कतिले त्यसको तयारी गरिरहेका छन् । लकडाउनका कारण भिसाको समय सकिएर फर्किएकाहरु पनि अब आफ्नै ठाउँमा काम गर्ने मनसायमा छन् ।  

कैलालीको घोडाघोडी नगरपालिकाका श्याम चौधरी दुवईबाट आएको दुई महिना भएको छ । तर उनले विदेशबाट फर्किएर पनि आरामले बस्न पाएका छैनन् । ११ वर्षको विदेश बसाइँले कमाएको धनले साँडेपानी बजारमा दुई तले घर बनाइसकेका छन् उनले । त्यही घरको अगाडि रहेका शटरहरुमा र्‍याक काउन्टर बनाउन भ्याइ नभ्याइ छ । सम्पूर्ण विद्युतीय उपकरणहरु एकै ठाउँमा पाउने गरी व्यवसाय सुरु गर्नका लागि चौधरीलाई फुर्सद नै छैन । विदेशमा भएकाहरु धेरै जना घर फर्किसकेको विषयमा जानकार उनी आफ्नै घरमा बसेर सुन्दर भविष्यको कल्पना गरिरहेका छन् ।

‘विदेशमा धेरै वर्ष बसेँ, दुःख भोगे । लकडाउनले रोजगार गुमेपछि अलपत्र परेँ । उद्धारका लागि हारगुहार गरेर घर फर्किएको हुँ’, उनले भने, ‘अब काम गर्न बाहिर जाँदिन । साँडेपानीमा सबै विद्युतीय उपकरण पाउने ठाउँ छैन । त्यही भएर त्यसको पसल खोल्न थालेको हुँ । सबै जनालाई म यतै घरमा बसेर काम गर्न रमाइलो हुन्छ भन्न चाहन्छु ।’ 

तुलसी कार्की र श्याम चौधरी प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै विदेशबाट फर्किएका सयौँ जनाले आफ्नै व्यवसाय थालेका छन् र थाल्ने तयारी गरिरहेका छन् । कतिपयले भने आफ्नो काम पनि सुरु गरिसकेका छन् । कैलालीको फुलबारीका अर्जुन सापकोटा अब विदेश नगएर आफ्नै काम गर्ने योजना बुनिरहेका छन्् । ‘घर परिवार हेर्नै पर्यो । छोराछोरी र श्रीमती बाहेक अरु कोही छैन । काम नगरेर साँझ बिहानको छाक टार्न गाह्रो हुन्छ’ उनले भने, ‘विदेश गएर पनि के गर्नु अब काम पाउने अवस्था छैन । घरमै बसेर केही काम गर्छु । के गर्ने भनेर सोचिरहेको छु ।’

नेपालमा गएको चैत १० गते लकडाउन भएपछि भारत बाहेक अन्य देशबाट ५० हजार बढी नेपाली घर फर्किएका छन् । उनीहरु आफ्नो घर पुगेका छन् । सुदूरपश्चिम र कैलाली जिल्लामा पनि एक हजार एक सयभन्दा बढी विदेशबाट फर्किएका छन् । विदेशबाट फर्किएकाको सङ्ख्या जिल्लामा ठूलो रहेकोले उनीहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन कार्यक्रम लक्षित गरिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी परामर्शदाता लक्ष्मीकुमारी चौधरीले बताउनुभयो ।

‘अहिले हामी सुरक्षित आप्रवास परियोजना मार्फत ११ जनाको उद्धार गरिएको हो । तर फर्किनेको सङ्ख्या एक हजार एक सयभन्दा बढी छ । हाम्रा विभिन्न कार्यक्रम विदेशबाट फर्किएकाकै विषयमा केन्द्रित छन्’, उहाँले भन्नुभयो, ‘हाम्रा ८० प्रतिशत कार्यक्रमहरु विदेशबाट आएकाहरुलाई आत्मनिर्भर बनाउने विषयमा केन्द्रित रहेको छ । त्यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिएका छौँ ।’ 

विश्वभरि फैलिएको महामारीका कारण वैदेशिक रोजगारीमा गएका हजारौँ नेपाली घर फर्किएका छन् । उनीहरुले विदेशको बसाइँमा कुनै न कुनै काम गर्दै सीप पनि सिकेका छन् । यदि उनीहरुको सीपलाई नेपालमै प्रयोग गर्न सकेमा र त्यो सीपलाई सदुपयोग गर्नका लागि सरकारीस्तरबाट पहल भएमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सार्थकतामा बदल्न मदत्त मिल्ने अर्थ विश्लेषकहरुको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया