बाग्लुङकाे भुजिखोलाको बाढीले १७१ वटा भौतिक संरचना बगायो

 भदौ २०, २०७७ शनिबार ९:४:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीले एक सय ७१ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

४१ जना मानिस बगाएको बाढीले घर, विद्यालय, जलविद्युत स्वास्थ्य संस्था, झोलुङ्गे पुल लगायतका भौतिक संरचना बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बाढीले बगाएका ४१ जनामध्ये तीन जना सम्पर्कमा आएका, १४ जनाको शव भेटिएको र २४ जना अझै हराइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्‍याएको छ ।

भुजीखोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ । ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो ।

बाढीका कारण ढोरपाटन–९ मा जम्मा ७३ घर र ढोरपाटन–८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरबाट पाँच सय १८ जना विस्थापित भएका छन् ।

एक सय ३१ घरसहित ११ लघु जलविद्युत, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुङ्गे पुल, पाँचवटा ढलान पुल, दुई विद्यालय र १० वटा काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया