बाग्लुङ ढोरपाटन बाढी : ११ जलविद्युत आयोजनामा क्षति

 भदौ २०, २०७७ शनिबार १७:२६:४३ | रासस
unn.prixa.net

बाग्लुङ - लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवाविच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।

मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अवरुद्ध भएको छ । सञ्चार सेवा विच्छेद हुँदा बेलैमा जानकारी लिनदिन र समन्वयमा कठिनाइको स्थिति छ ।​ उद्धारकर्ता र सहायताकर्मीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन । विपद्स्थलमा नपुगेसम्म बाढी प्रभावितका भोगाइ र पीडा बाहिर आउन सकेका छैनन् । 

लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा वडा नं १, २, ५, ६, ७, ८ र ९ वडा अन्धकारमय बनेको नगर उपप्रमुख करमती पुनले बताउनुभयो । 'भुजीखोलाका धेरैजसो आयोजनामा क्षति पुगेको छ', उहाँले भन्नुभयो, 'बिजुली नहुँदा उद्धार, व्यवस्थापनलगायतका काममा समस्या भइरहेको छ ।' क्षति पुगेका आयोजनामध्ये कोही बृहद र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थिति छ ।

उहाँका अनुसार विद्युत् सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका सर्वसाधारण लघु जलविद्युतका भरमा छन् । लामो समय विद्युत् अवरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगे पनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले वडा नं ७ बोबाङ र ९ ढोरपाटनमा रहेको टावरमा समस्या आएको बताउनुभयो । 

'बोबाङ गाउँसम्म त मोबाइल लाग्छ, त्योभन्दा भने सम्पर्क टुटेको छ', उहाँले भन्नुभयो, 'दुवै टावरमा सौर्य उर्जा जडानको तयारी छ, सडक खुल्नासाथ हामी सामान लगेर काम थाल्छौँ ।' दुई/चार दिन भित्रमै सडक खुल्ने जानकारी पाएको उहाँले बताउनुभयो ।

बाढीले बुर्तिबाङ-ढोरपाटन सडक ठाउँठाउँमा क्षतविक्षत पारेको छ । सडक अवरुद्ध हुँदा बाढी प्रभावितलाई राहत सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ । अहिले त्यस क्षेत्रमा पुग्न दोगाडीबाट झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ । बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पुर्याएको छ । बाढीमा परि १६ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । बाढीबाट ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको छ । 

एउटा स्वास्थ्य चौकी भवन, दुई विद्यालय, ११ वटा झोलुङ्गे, पाँच वटा ढलान र दश वटा काठे पुलमा क्षति पुगेको जनाइएको छ  ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया