सन्दीप आबद्ध जमैकाको खेल आज राति

 भदौ २०, २०७७ शनिबार २०:२३:६ | रासस
unn.prixa.net

काठमाण्डौ - क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ । 

ट्रिनिडाडकाे ब्रायन लारा रंगशालामा जमैकाले नवौँ खेल बार्बाडोस ट्रिनिडाडविरुद्ध खेल्नेछ । याे खेल राति १२ बजे सुरु हुने छ । 

बार्बाडोसको भने यो १०औँ खेल हो । बार्बाडोससितको खेल जित्नका लागि जमैकाले ब्याटिङमा सुधार गर्नुपर्ने छ । जमैकाको ब्याटिङ लाइन कमजोर रहँदै आएको छ । जमैका बलिङमाथि निर्भर रहँदै आएको छ । 

जमैकाले आठौँ खेल वर्षाका कारण खेल्न पाएको थिएन । जमैका तीन खेलमा जित हात पार्दै अंक तालिकाको चौथो स्थानमा छ । दुई खेल अगावै जमैका सेमिफाइनल प्रवेश गरिसकेको छ । बार्बाडोस पाँचौँ स्थानमा रहेको छ । बार्बाडोस सिपीएलबाट बाहिरिएको छ । 

सन्दीपका लागि आजको खेल महत्वपूर्ण छ । उहाँले सीपीएलमा अहिलेसम्म सात खेलमा १० विकेट लिइसक्नुभएको छ । सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द हुँदा सन्दीपलाई घाटा भएको छ । प्रतियोगितामा उहाँ सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा रहनुभएको छ । 

सबैभन्दा बढी विकेट लिनेमा गुएना अमेजनका इमरान ताहिर रहनु भएको छ । उहाँले १० खेलमा १५ विकेट लिनुभएको छ । यस्तै सर्वाधिक विकेट लिनेको सूचीमा जमैकाका मुजिब उर रहमान रहनुभएको छ । उहाँले आठ खेलमा १३ विकेट लिनुभएको छ । 

प्रतियोगितामा ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । उसले अब सेमिफाइनलमा प्रतियोगिताको चौथो स्थानमा रहने टोलीसित खेल्ने छ । गुयना एमेजन वारियर्स लिग चरणका १० वटै खेल खेलेर १२ अंकका साथ दोस्रो स्थानमा छ । आठ खेल खेलेको सेन्ट लुसिया जुक्स १० अंकसहित प्रतियोगिताको तेस्रो स्थानमा छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया