‘दूतावास गएर आयो भन्ने थाहा पाए कम्पनीले दुईजनाले गर्ने काम एउटैलाई लगाउँछ’

 भदौ २१, २०७७ आइतबार १३:५:९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

शंकर भुजेल/पोखरा, हाल यूएई

परदेशमा नेपाली श्रमिकहरु, जो सामान्य कामदाको रुपमा गएका हुन्छन्, प्रायः एउटै दिनचर्या हुन्छ । जीउबाट पसिना चुहिंदै मोजा भिजेर हिलै हुन्छ । कहिलेकाहीँ त पसिनाले भिजेको टिसर्ट फुकालेर पसिना निचोरेर पनि लगाइएको छ ।

आज बिरामी भएँ आउन सकिन भन्दा कम्पनीले बहाना बनायो भन्छ । उस्तै परे सुपरभाइजर, म्यानेजर कोठामै लिन आइपुग्छन् । दैनिक १२ देखि १३ घण्टा लगातार काम गरेर पनि छुट्टी कहिल्यै मिल्दैन । घर जान्छु भन्यो पासपोर्ट साहुको हातमा हुन्छ । भिसा नसकी जान पाउने कुरै हुँदैन ।

त्यही पनि अहिलेको कोरोनाको समयमा कसरी जानु र ? गोरु जोताइ भनेको त्यो हो, जहाँ गोरुको काँध र आफ्नो हात उस्तै हुन्छ । यहाँ हामीहरुको अवस्था पनि त्यस्तै छ । ठेला उठेर पनि छाला मरिसकेका छन् । सबैको नहोला । राम्रो काम गर्नेहरु पनि छन् ।

यस्ता विभिन्न समस्याबाट राहत पाउनको लागि दूतावास गए पनि खासै समस्यामा राहत मिल्दैन । नेपालीहरु दूतावासमै गएर भोक भोकै सुतिराखेका हुन्छन् । त्यहाँ पुग्दा आफ्नो पीडा केही होइन जस्तो लाग्छ लाग्न त । कतिले त ६ महिनादेखि तलब पाएका हुँदैनन् । कतिले दुर्घटनामा परेर हातगोडा गुमाउँदा पनि साहुले क्षतिपूर्ति दिएको हुँदैन । कतिलाई साहुले घर जान दिएको हुँदैन । जान दिए पनि नेपाली दूतावासले पीडितको कुरा सुन्दैन । कानुनी प्रक्रिया भन्छ ।

पीडित आफै पीडित भएको हुन्छ । त्यस्ता अनेकथरी कानुनी प्रक्रिया कसरी गर्न सकोस् । कुनैबेला प्रमाण नै भए पनि पैसा हुँदैन । हाम्रो नेपाली दूतावासबाट हामीहरु जति हेपिएका छौं त्यति अरु देशका श्रमिकहरु छैनन् । उनीहरुको दूतावासले यसरी दुःख दिदैन । समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउँछ ।

कम्पनीले पनि आफ्नो कोही कामदार दूतावास गएर आयो भन्ने कुरा थाहाँ पायो भने दुईजनाले गर्ने काम एउटैलाई पेलाइदिन्छ । त्यति गरेर पनि बल्ल तल्ल महिना मरेपछि तलब आउँछ, २८ – ३० हजार रुपैयाँ । नेपालमा रहेका परिवारमा फोन गरेर कहिल्यै काम गर्न सकिएन भन्छन् साथीहरु ।

न त दुःख छ भनेर नै घरपरिवारसँग रोइयो, बिलौना गरियो । जेजस्तो दुःख भोगे पनि परिवारसँग कुरा गर्दा ओठमा मुस्कान ल्याइयो ।, आँखाको आँसु लुकाइयो ।

अन्तिम अपडेट: असोज ३, २०७७

तपाईको प्रतिक्रिया