कोरोना सङ्क्रमण कुनै पनि बेला हुन सक्छ, होम आइसोलेशनको तयारी गरी राखौँ

 भदौ २१, २०७७ आइतबार १५:१:३ | डा. गाेविन्द गाैतम
unn.prixa.net

अहिलेको अवस्थामा प्रत्येक व्यक्तिले एकअर्कालाई कोरोना छ कि भनेर शङ्का गर्नुपर्ने अवस्था आएको छ, चाहे त्यो साथी होस्, आफन्त होस् या परिवारकै सदस्य किन नहोस् । यसरी प्रत्येक व्यक्तिलाई शङ्काको दृष्टिले हेर्नु भनेको हामीले आफ्नो र शङ्का गरिएको मानिस दुवैको सुरक्षामा संवेदनशीलता देखाउनु हो । आपसमा सुरक्षाको उपाय अपनाउनु हो ।

यसरी गरिने शङ्कालाई तिरस्कार मान्नु हुँदैन र तिरस्कारका दृष्टिले शङ्का गर्नु पनि हुँदैन । यसरी शङ्का गर्नु भनेको म आफैमा पनि कोरोना सङ्क्रमण भएको हुन सक्छ, मैले अरुलाई सार्न हुँदैन भन्ने अर्थमा हो भन्ने सोच्नु र बुझ्नुपर्छ । यो हामी सबैले अपनाउनु पर्ने सावधानीको महत्त्वपूर्ण कदम हो भन्ने कुरा बुझ्नुपर्छ । 

कोरोना सङ्क्रमणबाट बच्ने उपायबारे झण्डै छ/सात महिनादेखि विभिन्न माध्यमबाट हामीले जानकारी पाइरहेका छौँ । पछिल्लो समय समुदायस्तरमै कोरोना फैलिएको हो कि जस्तो देखिएकाले हामी सबै जोखिमको स्थितिमा छौँ । हामी सबैले अतिरिक्त र बढी सतर्कता अपनाउनु पर्ने समय आएको छ । 

खासगरी कोराना सङ्क्रमण हुनबाट बचाउनुपर्ने उच्च महत्त्वको समूह भनेको उमेर पुगेका वृद्धवृद्धा, मधुमेह, रक्तचापलगायतका रोग लागेका व्यक्ति र बालबालिका हुन् । यी रोग लागेका जुनसुकै उमेरका मानिसलाई बढी खतरा छ । कुनै पनि दीर्घरोग लागेका मानिस जोखिम वर्गमा पर्छन् ।

मधुमेह, रक्तचापलगायतका रोग भएका जुनसुकै उमेरका मानिसलाई कोरोनाको जोखिम हुन्छ । प्रत्येक नागरिक यसबाट बच्नुपर्छ । म भर्खरको ठिटी हो वा ठिटो हो, मलाई के हुन्छ र भन्नु हुँदैन । केही रोग नभएका युवाबाट पनि अरु जोखिम भएकाहरुलाई सङ्क्रमण सार्ने सम्भावना भएकाले सावधानी अपनाउनुपर्छ । अरु विभिन्न रोग लागेका व्यक्तिलाई त झन् हामीले रोग सार्नु हुँदैन । 

रोग नफैलियोस् भनेर डराउनुपर्छ तर आत्तिनु हुँदैन

कोरोनाबाट डराउनुपर्छ, तर डराउनुपर्ने कारण रोग नफैलियोस् भनेर हो । सङ्क्रमण भइ हाले पनि आत्तिनु चाहिँ हुँदै हुँदैन । आत्तिनुपर्ने कुनै कारण छैन । रोग लाग्न सक्छ । रोग लागेपछि बिरामीलाई उपचारको खाँचो हुन्छ । रोगलाई हामीले निवारण गर्ने हो । रोगलाई सञ्चो गराउने हो । तर हामीले बिरामीलाई अत्याउने गलत तरिका अपनायौँ भने आत्तिएर रोगीको ज्यान जाने सम्भावना हुन्छ ।  

कोरोना सङ्क्रमित हुनबाट बच्न र सङ्क्रमण भइ हाले उपचार गर्नका लागि सुरक्षाका उपायहरु अर्थात् प्रोटोकलहरु छन् भन्ने हामीले बुझेकै छौँ । त्यहीअनुसार सुरक्षाका उपाय अपनायौँ भने आत्तिनुपर्दैन । पछिल्लो समय कोरोनालाई समाजमा अज्ञानताका कारण हाउगुजी बनाएर धेरै मानिसले दुःख पाएका छन् । रोग लागेपछि हामीले रोगीलाई अपराधीको रुपमा हेर्न भएन । रोग लागेकालाई सहयोग गर्नुपर्छ । तर अत्याएर, नाकाबन्दी गरेर, युद्धको अपराधीलाई जस्तो गर्न भएन । राम्रोसँग बुझेर समाधानको उपाय अपनायौँ भने एकदिन अवश्य रोगलाई जित्नेछौँ । 

मलाई लाग्छ कि गलत समाचार भन्दा पनि सही समाचारलाई ध्यान दिएर बुझेर पढ्न प¥यो । राज्यले दिएको र स्वास्थ्य संस्थाले दिएका सुझाव सही हुन् । तर यत्तिकै सामाजिक मिडियामा जसले जे पायो, त्यही लेख्छ भने गलत हो । राज्यले वेबसाइट बनाएको छ । यो जसले पनि जहाँसुकैबाट पनि पढ्न र बुझ्न सक्छ । पढ्न नसके अरुबाट बुझ्न सकिन्छ । 

सङ्क्रमण भए परीक्षण कहिले गर्ने ?

‘प्राइमरी कन्ट्याक’ भनेको प्रत्यक्ष रुपमा सङ्क्रमितको सम्पर्कमा आएको भन्ने बुझिन्छ । दोस्रोमा गएमा ‘सेकेण्डरी’ भन्ने हो । त्यसपछि अरुमा जान्छ । सेकेण्डरी भन्दा प्राइमरी कन्ट्याक्टमा परेको मानिसलाई जोखिम बढी हुन्छ । अहिले कोरोना भाइरस समाजमा गयो भन्ने आशङ्काले गर्दा यस्तो स्थितिमा को प्राइमरी कन्ट्याक र को सेकेण्डरी कन्ट्याक  भनेर छुट्याउन गाह्रो हुन्छ । त्यसैले हामीले आफूले आफूलाई कतै हामी प्राइमरीमा त छैनौँ भनेर अनिवार्य रुपमा सुरक्षाका उपाय अपनाउनुपर्छ । 

कोभिड–१९, अथवा सार्स–२ को भाइरस छिरेको दिनदेखि लक्षण देखिने दिनसम्म कम्तीमा पाँचदेखि सात दिन लाग्छ भन्ने मानिएको छ । यो भाइरसले शरीरमा प्रवेश गरेर आफूलाई विकसित गर्ने समय हो ।

सङ्क्रमित व्यक्तिले १४ दिनसम्म सार्न सक्छ भनिएको छ । त्यही भएर १४ दिनको क्वरेण्टीन र आइसोलेशन भनिएको छ । सङ्क्रमण भएको शङ्का लाग्नासाथ जाँच गर्दा कोरोना भए पनि पोजेटिभ नदेखिन सक्छ । पीसीआर टेस्ट पाँचौँदेखि सातौँ दिनमा गर्नु राम्रो हुन्छ । रिपोर्ट नेगेटिभ आयो तर पनि आफूलाई अझै शङ्का लागेको छ भने फेरि पाँच दिनपछि परीक्षण गर्दा राम्रो हुन्छ । 

कोरोना नेगेटिभ हुनु भनेको कोरोना छैन भन्ने सर्टिफिकेट होइन । यसलाई कोरोना छैन भन्ने सर्टिफिकेटको रुपमा लिनु पनि हुँदैन । आज नेगेटिभ हुँदैमा सधैँका लागि कोरोनामुक्त भएको ठान्न हुँदैन । सुरक्षाका उपाय अपनाइएन भने आज नेगेटिभ आएको छ, भोलि नै सङ्क्रमण हुन सक्छ र अर्को परीक्षण गर्दा कोरोना पोजेटिभ देखिन सक्छ । तसर्थ म निको भए भनेर नभनौँ । रोग फेरि पनि देखिन सक्छ ।

 सम्बन्धित लिङ्क

होम आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने कुरा

अहिले ‘हाउसपिटल’ भन्ने शब्द आएको छ । घरको हाउस र अस्पतालको पिटल जोडेर हाउसपिटल भनिएको हो । अथवा घरमा बस्ने बिरामीलाई पनि हस्पिटलले निगरानी गरेको हुन्छ । आइसोलेशन र क्वरेण्टीन धेरै अगाडिदेखि चर्चामा आएको हो । आइशोलेसन भनेपछि ठ्याक्कै रोग लागेर आफू कसैसँग सम्पर्कमा नआइ अलग्गै बस्ने हो । रोग लागेको छैन तर रोगीको कुनै न कुनै रुपमा सम्पर्कमा पुगेको छ भने हामी १४ दिनका लागि क्वरेण्टीनमा बस्नुपर्छ ।  

होम आइसोलेशनमा को बस्ने र को नबस्ने भन्ने विषयमा सरकारले स्वास्थ्यको मापदण्ड सार्वजनिक गरेको छ । सङ्क्रमित भए पनि कुनै लक्षण छैन, अथवा सामान्य लक्षण मात्रै देखिएको अवस्थामा घरमै अथवा होम आइसोलेशनमा बस्न सकिन्छ ।

आइसोलेशन भनेपछि यस्तो वातावरण हुनुपर्‍याे कि कसैसँग सम्पर्क हुनु भएन । आइसोलेशनमा बस्दा आफू बस्ने कोठामा कोही पस्न नपाओस् । बस्ने कोठामा हावा ओहोरदोहोर गर्ने हुनुपर्छ । सूर्यको किरण छिर्ने हुनुपर्छ । सङ्क्रमितले प्रयोग गर्ने स्नान गृह (बाथरुम) तथा शौचालय अरुले प्रयोग गर्न हुँदैन ।  किनभने त्यसबाट पनि रोग सर्न सक्छ । शौचालय तथा स्नानगृह अलग्लै छ भने सजिलो भयो । परिवार सानो छ, सबैले एउटै पाइखाना चलाउनुपर्छ भने सङ्क्रमित व्यक्तिले प्रयोग गरेपछि डिसइन्फेक्स्शन (निर्मलीकरण) झोल प्रयोग गरेर पखालेर मात्रै त्यो पाइखाना अरु व्यक्तिले प्रयोग गर्न मिल्छ । 

अस्थायी शौचालयमा सङ्क्रमणको जोखिम कम हुन्छ 

अहिलेको अवस्थामा विषेशगरी गाउँघरमा एट्याच बाथरुम (घरसँगै जोडिएको शौचालय) कमै छन् । शहरमा परिणत भएका गाउँठाउँमा भने बनाउन थालिएको छ । तर मापदण्डअनुसार छैन । त्यसैले गाउँघरमा घर नजिकको बारीको पाटो वा घरबाट केही दुरीमा अस्थायी रुपमा बेग्लै पाइखाना बनाउन सकिन्छ । अस्थायी शौचालय बनाउँदा पनि अलि पर बनाउन उचित हुन्छ । अस्थायी भन्नाले खाल्डो खनेर बनाउन सकिन्छ । खाल्डोलाई पुर्न सकिने तरिकाले बनाउन सकिन्छ । त्यस्तो शौचालयबाट कोरोना सर्ने सम्भावना कम हुन्छ । किनभने आधुनिक शौचालयमा थचक्क बस्ने कमोड अस्थायीमा हुँदैन । त्यसैले अस्थायी शौचालयमा सङ्क्रमणको जोखिम पनि कम हुन्छ । त्यसैले यो महामारीको बेलामा सकेसम्म अलग्गै शौचालय बनाएको राम्रो हुन्छ । 

एउटा मात्रै शौचालय भएका तर धेरै जना बस्ने घरहरु अथवा ठूला शहर तथा काठमाण्डौमा समस्या देखिएको छ । भवन चार पाँच तलाको छ, मान्छे टनाटन बस्छन् तर शौचालय थोरै छन, यस्तो ठाउँमा कोरोना फैलिने जोखिम धेरै हुन्छ । त्यस्तो अवस्थामा सबैभन्दा राम्रो उपाय भनेको राज्यले आइसोलेशन सेन्टर खोलेको ठाउँमा सम्पर्क गरेर त्यही गएर बस्दा राम्रो हुन्छ । 

सङ्क्रमित व्यक्ति घरमै आइसोलेशनमा बस्दा पनि स्वास्थ्य संस्थासँग भने सम्पर्कमा रहिरहनुपर्छ । त्यसको पनि नियम छ । म पोजेटिभ छु, अलग्गै छु भनेर आफैले मन लागेको ठाउँमा बस्छु भन्न हुँदैन, मिल्दैन । किनभने सुरुका दुई चार दिन लक्षण नदेखिएको र लक्षण देखिएको भए आफूले नबुझिएको पनि हुन सक्छ । त्यसैले होम आइसोलेशनमा बसेको छ भने पनि सुरक्षा सावधानी भने अपनाउनुपर्छ । सरकारले त्यसमा १९ बुँदे सुरक्षा प्रोटोकल तयार पारेको छ । त्यसमध्येको एउटा प्रोटोकल भनेको सामान्य लक्षण वा लक्षण नदेखिएकाहरु होम आइसोलेशनमा बस्ने भनिएको छ । तर असामान्य लक्षण देखिएमा भने अस्पताल जानैपर्छ । 

 यहाँ क्लिक गर्नुहाेस्

अन्तिम अपडेट: बैशाख १४, २०८१

डा. गाेविन्द गाैतम

गाैतम एनेस्थेसिया तथा क्रिटिकल केयरका डाक्टर हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया