गण्डकी प्रदेश : स्वास्थ्यकर्मी र कामदारसहित ६७ जनामा कोरोना सङ्क्रमण

 भदौ २२, २०७७ सोमबार ८:५६:६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

पोखरामा सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदार रहेका छन् । यस्तै पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिनुभयो  ।

नवलपुरको देउचुली नगरपालिकामा एक स्वास्थ्यकर्मीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । तनहुँको व्यास नगरपालिकामा पनि थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थपिएका सबै नयाँ सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डा‍. शर्माले जानकारी दिनुभयो । योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार पाँच सय ९८ जना पुगेको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया