‘जसले व्यापार गर्नुपर्दैन, सुरुसुरु तलब आइरहन्छ, उनीहरुले मात्र लकडाउन गर्नुपर्छ भनिरहेका छन्’

 भदौ २२, २०७७ सोमबार १८:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । 

आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताउनुभयो । 

जसले व्यापार गर्नुपर्दैन, जसले तलब खुवाउनुपर्दैन, जसको स्वतः तलब आइरहन्छ, उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन् भन्ने विषयमा प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा जसको केही काम छैन, जसको तलब आफै सुरुसुरु आउनेहरु लकडाउन र निषेधाज्ञा गर्न उल्टो–उल्टो कुरा गरेको छ । उहाँले त्यसरी नै भन्नुभयो । गर्नै नहुने भिड गर्ने उसलाई निकै भिड गर्नुछ र सवा चार बजेको स्वास्थ्य मन्त्रालयको ब्रिफिङले सकारात्मक ऊर्जा दिनुको सट्टा नकारात्मक भयो भन्ने उहाँले पनि भन्नुभयो ।’

अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभइ भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताउनुभयो । अहिले नयाँ युवा पुस्ता जो व्यवसायमा लागेका छन्, उनीहरु निरुत्साहित हुने स्थिति आइसकेकोले सकारले छिट्टै नै पुनर्उत्थान गर्नुपर्नेमा जोड दिइएको बताउनुभयो । व्यवसायीले राजस्व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शून्य हुने स्थिति आएकाले आफूहरु समस्यामा परेको कुरा स्पष्टसँग राखेको श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘लकडाउनको निरन्तरता चैतदेखि भएकोले हामीले राजस्व तिर्नैपर्ने, ब्याज तिर्नैपर्ने, घरभाडा तिर्नैपर्ने, अफिसको भाडा तिर्नैपर्ने, कर्मचारी र श्रमिकलाई पनि तलब दिनुपर्यो तर पैसा चाहिँ कहीँबाट उठ्न सकेन । त्यसकारण अहिले हामी नसक्ने अवस्थामा आइसकेका छौं ।’

सरकारले गएको जेठ महिनासम्मको स्थितिलाई हेरेर बजेटमार्फत ५० अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिँदै जाँदा त्यसले नपुग्ने भएकाले दुई खर्बको प्याकेज ल्याउन सुझाव दिएको पनि श्रेष्ठले बताउनुभयो । सरकारले पुँजीगत खर्च गर्न नसकेको रकम स्टिमुलस प्याकेजमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउन सहजीकरण गर्नुपर्ने श्रेष्ठको भनाइ छ । 

त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कोषलाई पुनर्संरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुनर्संरचना गर्ने व्यवस्था मिलाउन अग्रह गरिएको उहाँले बताउनुभयो । 

व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तोसुकै परिस्थितिमा पनि सरकारलाई राजस्व र भ्याट तिर्न तत्पर रहेको कुरासमेत प्रधानमन्त्री ओलीलाई बताएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिबद्धता जनाउनुभएको पनि श्रेष्ठले बताउनुभयो । व्यवसायी र प्रधानमन्त्री ओलीबीचको भेटमा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडासमेत उपस्थित हुनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

2 Comments

  • रितेश

    Sept. 8, 2020, 4:32 a.m.

    " व्यवसायी र प्रधानमन्त्री ओलीबीचको भेटमा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडासमेत उपस्थित हुनुभएको थियो ।  " प्रम सकारात्मक हुदाहुँदै पनि युवराज सरले पो कुरा बिगार्लान जस्तो छ 😂🤣

  •  0 Reply
  • Ratna prasad upadhaya

    Sept. 7, 2020, 7:16 p.m.

    कुरा ठीक लाग्यो मलाई त , कि लकडाउन हुँदा संक्रमणको दरमा सुधार आउनुपर्यो कि संक्रमण रोक्ने केही उपाय खोज्नुपर्यो/ न त संक्रमणमा केहि सुधार छ अनि लकडाउन मात्र गर्ने हो भने के फाइदा भयो , बेलैमा सोच सरकार ....

  •  0 Reply

तपाईको प्रतिक्रिया