दरबार हाई स्कुललाई ७५ वटा कम्प्युटर हस्तान्तरण

 भदौ २३, २०७७ मंगलबार १८:३९:४२ | रासस
unn.prixa.net

काठमाण्डौ – दरबार हाई स्कुलकाे पुनर्निर्माण गरिरहेकाे चिनियाँ कम्पनी शङ्घाई कन्सट्रक्शनले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर हस्तान्तरण गरेकाे छ । 

काठमाण्डाै महानगरपालिका–२७ रानीपोखरीको दक्षिणतर्फ साढे नाै रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण भइरहेकाे हो । भवनको ठेक्का चिनियाँ कम्पनी शङ्घाई कन्सट्रक्शनले लिएको थियो । ८५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको यो चार तले भवन ४० कक्षा कोठाको छ । 

दरबार हाई स्कुलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सञ्चालित छन् । दुवै विद्यालय अलग–अलग व्यवस्थापनमा चलिरहेका छन् । दुवै विद्यालयमा गरी तीन सय ५० विद्यार्थी अध्ययनरत छन् भने ३५ जना शिक्षक कार्यरत छन् ।

भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गमा रहेकाे वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ ।  

विसं २०७२ मा गोरखाकाे बारपाक केन्द्रविन्दु भएर गएकाे भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको हाई स्कुलको पुनर्निर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा यो विद्यालय स्थापना गरिएको थियो ।

विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्नका लागि खुला गरिएको यो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरिएकाे थियाे । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि याे विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ । 

सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको छ । यसअघि लामो समय काठमाण्डाै महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनर्निर्माणको काम सुरु भएको थियो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kamala Shrestha

    Sept. 9, 2020, 6:39 a.m.

    Good news

  •  0 Reply

तपाईको प्रतिक्रिया