कौसीमा फल्न थाल्यो 'ड्रागन फ्रुट'

 भदौ २३, २०७७ मंगलबार १९:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  तीव्र गतिमा बढिरहेको शहरीकरणले काठमाण्डाै उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्वर भूमि मानिने उपत्यका अहिले कङ्क्रिटका घरहरुले भरिएको छ । तर ऊर्जाशील किसानहरुले यही कङ्क्रिटको राजधानीमा घरको छत र कौसीमा फलफुल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

बढ्दो शहरीकरण र जनसङ्ख्याका कारण उब्जाउ हुने खेतीयोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरु घरको छतमै फलफुल र तरकारी खेती गरेर लाखाैँ आम्दानी गरिरहेका छन् । केही समय अघिसम्म आफ्नो आवश्यकताअनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसानहरु अहिले छतमै ड्रागन फ्रुट फलाइरहेका छन् ।

ड्रागन फ्रुटको खेतीबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिने मात्रै नभएर खाद्यान्न सङ्कट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी वासुदेव ढकालले बताउनुभयो । खेतीयोग्य जमिन मासिँदै गए पनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेती गर्न सकिए १५ अर्ब रुपैयाँ बढीको उत्पादन हुने उहाँले बताउनुभयो ।

रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सन्तला, आँप कटहर खेतीभन्दा सहज र बजारीकरणका लागि सरल हुने उहाँको भनाइ छ । बर्सेनि ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खेती विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत केही सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो । राष्ट्र बैंकले समेत मौद्रिक नीतिमार्फत विशेष गरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेती प्रवर्द्धनका लागि कार्यक्रमहरु ल्याएर सहयोग गरेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसले सामाजिक र आर्थिक जीवनलाई आक्रान्त पारेको छ । काठमाण्डाै उपत्यकामा पनि हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दो छ । लाखौँले रोजगारी गुमाएका छन । यस्तो अवस्थामा घरको छतमा थोरै लगानीमा समेत गर्न सकिने ड्रागन फ्रुटको खेतीले स्वरोजगार बन्न मद्दत गर्छ । साथै बर्सेनि विदेशबाट हुने गरेको आयातलाई निरुत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिक वृद्धिमा टेवा पुर्‍याउन सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया