गण्डकी प्रदेशमा ४९ र पाल्पामा ३० गरी ७९ जनामा कोरोना पुष्टि

 भदौ २५, २०७७ बिहिबार ९:९:२५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - गण्डकी प्रदेश र पाल्पामा स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित ७९ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी र प्रहरीसहित ४९ जना सङ्क्रमित थपिएका हुन् । 

सबैभन्दा धेरै सङ्क्रमित कास्कीको पोखरा महानगरपालिकामा १९ जना थपिएका छन् । त्यस्तै स्याङ्जामा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै बाग्लुङका नौ जना, तनहुँमा तीन जना, नवलपरासी सुस्ता पूर्वमा पाँच जना र पर्वतमा एक जना थपिएका छन् । 

पोखरामा सङ्क्रमण पुष्टि भएकामध्ये एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स र पर्वतमा प्रहरीमा कार्यरत रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । 

यसैगरी स्याङ्जाका सङ्क्रमितमध्ये ४ जना जिल्ला मालपोत कार्यालयका कर्मचारी र एक जना वडा सचिव रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । 

स्याङ्जामा सङ्क्रमित भएका जुवाडेहरुको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङमा समुदाय स्तरका पाँच जनामा कोरोना देखिएको उहाँले बताउनुभयो । योसँगै बिहीबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार सात सय २८ जना पुगेको छ । 

एक हजार आठ सय आठ जना निको भएका छन् । यस्तै पाल्पामा एकैदिन ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुका प्राप्त रिपोर्टअनुसार रम्भा गाउँपालिकाका ९ जना र बाँकी १९ जना तानसेन बजार क्षेत्रका हुन्। नेपालमा हिजो एक हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको छ । सङ्क्रमितमध्ये नौ सय १८ जनासहित कुल ३३ हजार आठ सय ८२ जना निको भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया