परदेशीको सपना : कतारबाट हिँड्दै नेपाल फर्कंदा

 भदौ २५, २०७७ बिहिबार ११:२९:२५ | मेरो कथा मेरो भोगाई

भगवान घिमिरे बुटवल, देवीनगर/हाल दोहा कतार ।

कोरोना महामारीका बीचमा धेरैको काम बन्द भयो । कम्पनी चलेनन् । तर त्रास र आतंकका बीच पनि हाम्रो अफिस चलिरहेको थियो ।  तर भयो के भने कम्पनीले भिसा सकिएको मान्छेलाई काम नदिने भन्यो । मैले पाउनुपर्ने सबै हिसाबकिताब क्लियर गरिदियो ।

मेरो एक मात्र विकल्प घर फर्कनु नै थियो । कम्पनी त चल्यो, तर म भने घर फर्कने जहाजको प्रतिक्षामा थिएँ  । बसिरहँदा गर्ने के त ? सबैलेझैं समाचार हेर्ने, करोनाको बारेमा जानकारी लिने, यस्तै नै थियो । त्यही समाचार हेर्दा र पढ्दा दिनचयाँ झन् तनावमा बित्न थाल्यो ।

 कोरोनाको डरले कोठाबाट बाहिर निस्केनौं । संसारभरी फैलिएको कोरोनाबाट उपचार गर्ने डाक्टर र नर्ससमेत सङ्क्रमित भएको ज्यान गएको भन्ने खबरहरु आउन थाले । 

यस्ता खबर सुन्दा र बढ्दा लाग्थ्यो मरे पनि आफ्नै देशमा मरौंला, तर देश चाहिँ जानु पर्छ । 

तर आकाशमा जहाज उडेनन् । सडकमा गाडी गुडेनन् । कस्तो परिस्थिति यो हो ? सोच्दा पनि डर लाग्ने । न घर जान पाइयो न परदेशमा सुरक्षित भइयो । जसको कारण बाँच्ने र स्वदेश फर्कने आश मार्न थाल्यो । तर यही बाध्यताको बीच एउटा आशलाग्दो सपना देखेछु । 

हामी चार, पाँच जना साथी मिल्यौं । जहाज कुर्दाकुर्दा थाकेका हामी हिँडेरै नेपाल जाने भयौं ।

पछाडि बोक्न मिल्ने ठूलो झोलामा आफूले लगाउने र चाहिने कपडा अनि दिनहुँ प्रयोगमा आउने अरु सानातिना समानसहित झोला प्याक गर्‍यौं ।  कपडा भने मैले कुनै पनि छाडिनँ । चाहे त्यो गर्मीका हुन् या जाडोका । किनकी हामी वर्षौं लागे पनि गन्तव्यमा नपुग्दासम्म हिँडिरहने अठोट गरेका थियौं । त्यसैले सिजन अनुसारका लुगा पनि त बोक्नै पर्‍यो । र लाग्यौं आफ्नो देश पुग्ने आश बोकेर ।

हामी चार, पाँच जना साथी मिल्यौं । जहाज कुर्दाकुर्दा थाकेका हामी हिँडेरै नेपाल जाने भयौं ।

पैसा कमाउन त्यत्रो मरिहत्ते गर्यौं । हजारौं किलोमिटर टाढा आयौं । आज पहिलोचोटी त्यही पैसाको कुनै महत्व नभएको देख्दा अचम्म लाग्यो । हप्तौं हिंड्दा हिंड्दा बाटोमा यस्तो ठाउँ पनि भेट्यौं, करिब करिब पुरै शहर मानव रहित निर्जन स्मशान घाट जस्ता लाग्थे । अग्ला अग्ला महलहरु सबै रित्ता । गाउँ बस्ती नै रित्तो ।

कहींकहीं यस्तो लाग्थ्यो कि अब यो संसारमा मान्छेको नाममा हामी साथमा हिँडिरहेका पैदलयात्रीहरु मात्रै छौं । जंगलहरु भने सुन्दर थिए । जंगली जनावरहरु मस्त थिए, उनीहरुलाई कुनै पर्वाह थिएन र मान्छेको डर पनि थिएन । बाटोमा पर्ने ठाउँहरु  कुन देश हो र कुन ठाउँ हो भन्ने केही थाहा जहुने । तर हामी निरन्तर हिँडिरह्यौं । 

हिंड्दा हिंड्दा यस्तो स्थिति आयो कि कति दिन, रात, हप्ता, महिना बिते पत्तो भएन । कहाँ पुग्यौं भनेर समेत पत्तो हुन छाड्यो । खाली बिहान घाम उदाउँदा ए यतापिट्ट पूर्व रहेछ र उतापट्टि पश्चिम रहेछ भन्ने थाहा हुन्थ्यो । तर अब भने हामी यस्तो अन्योल अवस्थामा आयौं कि अब कता जाने, नेपाल कता पर्छ पूर्व कि पश्चिम ? कसैलाई सोधेर पत्तो लाग्ने स्थिति पनि थिएन ।

मोबाइल त महिनौं दिन अगाडि नै ब्याट्री डाउन भैसकेको थियो । हातको घडीले समय त देखाउँथ्यो तर त्यो समयको पनि कुनै अर्थ भएन । जुन समयको पछि लागेर हामी यो अवस्थामा आइपुगेका थियौं आज त्यही समय हाम्रो लागि फालाफाल भएको थियो । गन्तव्य नै हराएको थियो । अब पुग्नुपर्ने कतै थिएन  । केबल खाना र नाना अनि बास बस्ने ओत भए पुग्ने भयो हामीलाई । 

हामीले स्वदेश पुग्ने आशा मारिसकेका थियौं । त्यसैले बिस्तारै बिस्तारै आफ्नो देश, गाउँ समाज, परिवार, श्रीमती छोराछोरी सबै बिर्सिसकेका थियौं । एक किसिमले माया मारिसकेका थियौं । केवल माया थियो त आफ्नै ज्यान कसरि बचाउने भन्ने मात्रै । सबैले सल्लाह गरेर साथमा भएको पैसा पनि फालिदियौं ।

अब हामीलाई त्यो पैसाको कुनै काम थिएन । न कुनै घर घडेरी किन्न, न बालबच्चा पढाउन या अरु चिजबिज जोड्न । जब हामी बाँचुञ्जेल आफ्नो देश नपुग्ने अनुमान लगाइसकेका थियौं । आफ्नो देश नपुगे पनि हाम्रो कुनै गन्तव्य नै नभएपछि हामी हिँड्न पनि छाड्यौं । 

सबैभन्दा महत्वपूर्ण कुरा त्यहाँ रहेका हामी सयौं जनाको समूहले बसाएको त्यो नयाँ संसारमा पैसा भन्ने चिज नै थिएन, अर्थात पैसाको प्रयोग नै हुँदैनथ्यो । 

बाँचियो भने यतै केही गरौंला नयाँ घर बसाउँला, नत्र ज्यानको माया मारेका थियौं । नजिकै एउटा गाउँ रहेछ । त्यो गाउँमा मानिस पनि रहेछन् । उनीहरुले हामीलाई सहयोग गरे । बस्ती सुन्दर थियो । 

त्यहाँ संसारभरीका हामीजस्तै बाटोमा अलपत्र परेका मान्छेहरुले निर्माण गरेको अर्कै संसार रहेछ । 

जहाँ  जात, धनी, गरिब, धर्म, भाषा, संस्कृति, रीतिरिवाजको कुनै भेदभाव थिएन । फरक फरक देशको नागरिक भएकोले सामुहिक खेतीपाती र बेलाबेला फुर्सदमा गरिने आआफ्नो देशको आफूले जानेको नाचगान, रमाइलोले पुरानो अतित सबै भुलाएको थियो । र अन्त्यमा सबैभन्दा महत्वपूर्ण कुरा त्यहाँ रहेका हामी सयौं जनाको समूहले बसाएको त्यो नयाँ संसारमा पैसा भन्ने चिज नै थिएन, अर्थात पैसाको प्रयोग नै हुँदैनथ्यो । 

जुन पैसाले हामीलाई त्यो अवस्थामा ल्याइपुर्याएको थियो । अब हामी सबैले हाम्रो त्यो नयाँ संसारमा पैसाको प्रयोग नगर्ने प्रण गरेका थियौं ।

हामी कसैसँग कुनै देशको कागजात या परिचय पनि थिएन । जहाँबाट पैसा कमाउन फेरि परदेश लाग्नुपर्ने अवस्था थिएन ।  त्यहाँ मात्र जीवन थियो । तर यो त एउटा काल्पनिक सपना न थियो । तर पनि त्यो सपना सम्झंदा घरीघरी लाग्छ, हामी परदेशीको बिपना पनि त्यस्तै भैदिए हुन्थ्यो ।
 

अन्तिम अपडेट: असोज ६, २०७७

तपाईको प्रतिक्रिया