सरकार भन्छ : १४ दिन आइसोलेशन बसेपछि निस्कन मिल्छ, तर समाजले खोज्छ नेगेटिभ रिपोर्ट

 भदौ २६, २०७७ शुक्रबार १२:४४:४० | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - ललितपुर महानगरपालिकाका एक दम्पतीमा भदौ ११ गते कोरोना पुष्टि भयो । अघिल्लो दिन स्वस्थ महिला ६ गते बिहान उठ्न सकिनन् । उनलाई ज्वरोसँगै हल्का ज्यान दुखेको थियो । 

मौसम परिवर्तनको समय भएकाले परिवारका सदस्यले यसलाई सामान्य ठाने । तीजको व्रत बसेकाले बिसञ्चो भयो भन्ने परिवारका सदस्यको ठहर थियो । दुई दिनपछि ६ वर्षको छोरालाई एक्कासी सय डिग्रीमाथि ज्वरो आयो । त्यसपछि क्रमशः हजुरआमा, आमा गर्दै परिवारका अन्य सदस्यलाई पनि ज्वरो आयो । 

९० वर्ष पुग्न लागेका हजुरबा हजुरआमादेखि ६ वर्षको छोरालाई पनि ज्वरो आएपछि के गर्ने कसो गर्ने भयो । अस्पताल जाउँ सामान्य ज्वरो मात्र छ ! सरकारले नै जटिल स्वास्थ्य समस्या नभएसम्म अस्पताल नजान बारम्बार भनिरहेको छ । 

‘परिवारका सबै सदस्यलाई ज्वरो आएपछि अलि तनाव बढ्यो’, ३८ वर्षका पुरुषले भने, ‘जताततै कोरोनाको डर भएकाले सिटामोल खाएर हामी पनि घरमै बस्यौँ ।’ तनावकै बीचमा उनको श्रीमती कन्ट्याक ट्रेसिङमा परेको फोन आयो ।  

‘परिवारका सदस्य प्रायः सबै जनालाई ज्वरो आएपछि श्रीमती कन्ट्याक ट्रेसिङमा परेको भन्दै फोन आयो । त्यो फोनले कोरोना पो भएछ कि भनेर झस्कायो’ उनले थपे । बैंकमा एउटै कोठामा बसेर काम गर्ने सहकर्मीमा कोरोना पुष्टि भएको रहेछ । सहकर्मीको कन्ट्याक ट्रेसिङमा एकजना परेपछि केही लक्षणसमेत देखिइसकेकाले दम्पतीले नै कोरोना परीक्षण गर्ने निर्णय गरे ।

तनावकै बीच भदौ ९ गते बिहान उनीहरु स्वाब दिन गए । तीन दिनभित्र रिपोर्ट आउने भएकाले डाक्टरको सुझाव अनुसार त्यसै दिनदेखि आइसोलेशनमा बसे । खाने भाँडा छुट्टै प्रयोग गरेर परिवारका सदस्यबाट अलग्गै रहे । शौचालय पनि फरक प्रयोग गरे । उनीहरु कोठाबाट निस्किएनन् । त्यहाँ अरु कसैलाई जान पनि दिएनन् । 

‘बैंकमा काम गर्ने धेरै साथीहरुले एकसाथ स्वाब दिएका थियौँ । १० गते दिउँसोदेखि आफ्नो नेगेटिभ रिपोर्ट आएको कुरा साथीहरुले सुनाइरहे । तर हाम्रो रिपोर्ट आएन, तनाव त्यहीँबाट सुरु भयो । त्यो रात राम्ररी निदाउन पनि सकिएन’, ती महिलाले भनिन्, ‘पछि केही सहकर्मीको रिपोर्ट पोजेटिभ आएको थाहा पाएँ । लक्षणसमेत देखिएकाले आफ्नो पनि पोजेटिभ आउँछ भन्ने कुराले तनाव बढ्दै गयो ।’ 

भदौ ११ गते दिउँसो २ बजेतिर श्रीमानको फोनमा घण्टी बज्यो । स्वास्थ्य कार्यालय ललितपुरबाट फोन आएको रहेछ । ‘फोन गर्ने व्यक्तिले नाम र ठेगाना सोधेर पोजेटिभ रिपोर्ट आएको जानकारी दिँदै स्वास्थ्य अवस्था र आइसोलेशनको प्रबन्धबारे जानकारी लिए’, उनले आफूलाई कोरोना पुष्टि थाहा भएपछिको अवस्थाबारे भने, ‘स्वाब दिएको दिनदेखि नै आइसोलेशनमा बसेको जानकारी गराएँ ।’ होम आइसोलेशन भनेपछि फोनमा धेरै लामो कुरा पनि भएन । ‘अहिले जसरी बस्नुभएको छ, त्यसैगरी बस्नुहोस् । तपाईंलाई कोरोना सङ्क्रमण भएको छ’, भनेर फोन राखे ।

कुनै लक्षण नै नदेखिएका श्रीमानको रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि श्रीमतीलाई आफ्नो पनि पोजेटिभ आयो भन्ने लागिसकेको थियो । किनकी उनमा त लक्षणसमेत थियो । ‘केही लक्षण नै नदेखिएको श्रीमानको रिपोर्ट पोजेटिभ आएपछि मेरो पनि पोजेटिभ नै आउनेमा कुनै शंका थिएन’, उनले भनिन्, ‘केहीबेरमै फोन आयो । हुन्छ हवस् भन्नेबाहेक मसँग कुनै विकल्प भएन ।’ 

समाचारमा सुनेको र अरुलाई सङ्क्रमण भयो रे भनेर फोनमा साथीहरुले भनेको भन्दा आफैमा सङ्क्रमण हुँदाको अनुभूति फरक हुने नै भयो । ‘के हो कसो हो, अब के गर्ने अन्योल भयो’, फोन राखेपछिको दुविधा सम्झँदै ती पुरुष भन्छन्, ‘एकछिन त केही सोच्नै सकेनौँ । तर आइसोलेट हुनुपर्छ भनेर स्वाब दिएपछि नै मानसिक रुपमा तयार चाहिँ भएका थियौँ ।’ 

आफूले अवस्था बुझे पनि परिवारका सदस्यलाई कसरी भन्ने अन्योल उनीहरुमा थियो । तर परिवारलाई जानकारी गराउनै पर्यो । ‘केही तनाव पनि भयो तर परिवारमा नभन्नुको विकल्प पनि भएन’, ती पुरुषले भने, ‘परिवारका सदस्यमा सङ्क्रमण पुष्टि भएको थाहा पाएपछि सबैलाई तनाव हुने नै भयो ।’ यो कुरा घरबाहिर जानकारी भएपछि समाजले गर्ने व्यवहार कस्तो होला ? मान्छेले के भन्लान् भन्ने उनीहरुलाई छुट्टै तनाव थियो ।

‘संचारमाध्यममा कोरोना लाग्ने बित्तिकै मान्छे मरिहालिन्छ भन्ने सन्देश हेर्दै र सुन्दै आएकाले हामी पनि आत्तियौँ। तर आत्तिएर ठिक हुने अवस्था थिएन । त्यसैले मन दह्रो बनाएर आफूहरुलाई कोरोना सङ्क्रमण भएको कुरा परिवारमा जानकारी गरायौँ’, उनले भने, ‘हामीलाई खासै स्वास्थ्य समस्या नभएकाले ठिक छौं र आत्तिनु पर्दैन भन्यौं । जे भने पनि आमाबुवाको मन कहाँ मान्छ र ? तनाव त भइहाल्यो । तर पनि सम्झाउन केही सफल भयौं । धेरैबेरपछि अवस्था सामान्य बनेको महशुस भयो ।’ 

सङ्क्रमण पुष्टि भएपछि कसलाई भन्ने कसलाई नभन्ने भनेर उनीहरुलाई मेलोमेसो पनि भएन । कोरोना सङ्क्रमणसँगै अन्योल र तनाव बढ्दै गएपछि यसबारे परिवारमै छलफल गरे । ‘छरछिमेकलाई सुनाउनुभन्दा पहिला हामीले वडाध्यक्षलाई जानकारी गरायौँ’, ती पुरुषले सङ्क्रमणपछिको अवस्थाबारे जानकारी दिँदै भने, ‘वडाध्यक्षलाई जानकारी गराउने बित्तिकै हामीलाई कोरोना पुष्टि भएको कुरा टोलमा फैलिहाल्यो ।’ 

कन्ट्याक ट्रेसिङको तनाव

लक्षण देखिएपछि मात्र कन्ट्याक ट्रेसिङमा परेको खबर आएको र स्वाब दिएको तीन दिनपछि मात्र रिपोर्ट आएकाले अरुलाई पनि सरिसकेको हो कि भन्ने तनाव उनीहरुलाई भयो । घरका अरुमा पनि मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुले कन्ट्याक ट्रेसिङमा परेकाको छिट्टै परीक्षण गर्न वडा र नगरपालिकालाई पटकपटक अनुरोध गरे । तर पाँचदेखि सात दिन नभई सही नतिजा नआउने भन्दै नगरपालिकाले त्यसअघि परीक्षण नहुने जानकारी दियो । 

घरमा ९० वर्ष पुग्न लाग्नुभएका हजुरबुवा र हजुरआमादेखि डेढ वर्षकी भान्जी पनि कन्ट्याक ट्रेसिङमा परेका थिए । सङ्क्रमित आफ्नै घरमा भए पनि कन्ट्याक ट्रेसिङमा परेका दिदीबहिनी कोठा भाडामा बसेका थिए । सबैलाई एकैपल्ट लक्षण देखिए पनि कन्ट्याक ट्रेसिङमा ढिलाई हुँदा उनीहरुको रिपोर्ट ढिला  आयो । कोरोनाको विषयमा समाजको नजर गलत हुँदा कन्ट्याक ट्रेसिङमा परेका सबैले सामाजिक तनाव झेल्नु परेको थियो ।

‘हामी त तनावमै थियौँ । कन्ट्याक ट्रेसिङमा परेका सबैजना तनावमा भए । कन्ट्याक ट्रेसिङमा परेपछि घरबेटीले घरीघरी कोरोना परीक्षण गर्न भनेपछि कोही पाँचौँ दिनमा निजी ल्याबमा गए । छैठौं दिनमा कन्ट्याक ट्रेसिङमा परेका अरुको पनि स्वाब संकलन भयो । रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्यो । घरमा बुवाबाहेक ६ जनाको रिपोर्ट पोजेटिभ आयो । तीज बनाउन माइत आएका बहिनीहरुका परिवारमा कसैका एक सदस्य त कसैका परिवारका चारै जनामा संक्रमण पुष्टि भयो’, उनले कन्ट्याक ट्रेसिङको कहानी सुनाए ।

राज्यको नियम मान्छे हेरी हेरी 

घरभित्र मात्र नभएर दिदीबहिनीको परिवारमासमेत सङ्क्रमण देखिएपछि तनाव झन् बढ्यो । दम्पतीलाई सङ्क्रमण पुष्टि भएपछि लक्षण देखिएका अरुको छिटो परीक्षण गर्न पटकपटक आग्रह गर्दा सात दिन कुर्ने नगरपालिकाले मान्छे हेरीहेरी व्यवहार गरेको पीडितको गुनासो छ ।

महानगरपालिकामा कार्यरत कर्मचारीकै घरमा बस्ने बहिनीको परिवारमा सङ्क्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्रयाक ट्रेसिङमा परेकाको दुई दिनमै परीक्षण भयो । तर आफूहरुले बारम्बार आग्रह गर्दा पनि परीक्षणमा ढिलो भएको उनीहरु बताउँछन् ।

कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि समाजले गर्ने व्यवहारले सङ्क्रमित मानसिक रुपमै विक्षिप्त बन्ने अवस्था आएको उनीहरुको गुनासो छ । बिरामी चाँडो निको हुन उसको आत्मबल दह्रो हुनुपर्छ । समाज र परिवारका मान्छेले माया र सहानुभूति दिनुपर्छ । तर, घरमा एक जना सङ्क्रमित भएपछि त्यो परिवारमाथि नै समाजले अछुत व्यवहार गर्दा कोरोनाको भन्दा समाज खतरा बन्दै गएको देखिन्छ । 

कन्ट्याक ट्रेसिङमा परेकाहरु घरबाहिर ननिस्कनु स्वभाविक छ । तर, परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएकालाई समेत अत्यावश्यक सामान किनमेलमै प्रतिबन्ध लगाउने, नजिकैका पसलले सङ्क्रमितको परिवारको मान्छे भनेर पैसा नलिने, पानीको जार फिर्ता नलाने व्यवहारले सङ्क्रमित झन तनावमा पर्दै गएका छन् । यसले कोरोनासँग नभएर प्रत्येक सङ्क्रमित समाजसँग लडाईं लडिरहेको अनुभूति हुने गरेको पीडित बताउँछन् । 

१४ दिन आइसोलेशनपछि डिस्चार्ज !

सरकारले अस्पताल भर्ना भएका कोरोना संक्रमितलाई १४ दिनमै डिस्चार्ज गर्न थालेको छ । कोरोना भाइरस १० दिन सक्रिय हुने र त्यसपछि कमजोर हुने भन्दै १४ दिनपछि बिना परीक्षण डिस्चार्ज गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार, ‘शरीरमा प्रवेश गरेको भाइरस १० दिनसम्म सक्रिय हुन्छ, त्यसपछि कमजोर हुँदै जान्छ । त्यही भएर १४ दिन आइसोलेशन वा क्वरेण्टीनमा बस्नुपर्छ भनिएको हो ।’ उहाँका अनुसार १४ दिनपछि स्वास्थ्य मापदण्ड पालना गरेर सामान्य जीवनमा फर्कन सकिन्छ ।  

१४ दिनमै संक्रमितभित्र रहेको भाइरस मरिसक्ने भने होइन । कोरोना संक्रमितको उपचारमा सक्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर अनुप बास्तोलाका अनुसार शरीरमा ५० दिनम्म भाइरस पोजेटिभ देखिन सक्छ । तर, १० दिनपछि भाइरस सक्रिय नहुने भएकाले कम्तिमा १४ दिनपछि साधारण जीवनमा फर्किन सकिने उहाँको भनाइ छ । 

‘संक्रमितको शरीरमा लामो समयसम्म पनि कोरोना भाइरस देखिन सक्छ । तर, त्यसले १० दिनपछि अरुमा सर्ने क्षमता राख्दैन । परीक्षण गर्ने नै हो भने कतिपय सङ्क्रमितको रिपोर्ट ५० दिनसम्म पोजेटिभ आउन सक्छ’, डा. बास्तोला भन्नुहुन्छ, ‘त्यसैले आइसोलेशनमा बसेको १४ दिनपछि रिपोर्ट पोजेटिभ आए पनि स्वास्थ्य मापदण्ड पालना गरेर काममा जान सकिन्छ ।’ 

समाजको स्वास्थ्य मापदण्ड छुट्टै ! 

सरकारले बनाएको मापदण्ड अनुसार पालिकाले पनि कन्ट्याक ट्रेसिङमा परेर कोरोना पुष्टि भएकाहरुको दोहोर्याएर परीक्षण गर्दैनन् । १४ दिनपछि सामान्य दैनिकीमा फर्कन सकिने उनीहरुको तर्क छ । कोरोना सङ्क्रमित १४ दिन आइसोलेशनमा बसेपछि सामान्य जीवनमा फर्किने सक्ने गरी स्वास्थ्य मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै सार्वजनिक गरेको छ ।

तर, यो मापदण्ड मान्न समाज तयार छैन । यसको मारमा सबैभन्दा बढी कामकाजी र अर्काको घरमा भाडा तिरेर बस्नेहरु परेका छन् । घरबेटी र कार्यालयलेसमेत नेगेटिभ रिपोर्ट खोज्ने गरेको बैंकमा कार्यरत ललितपुरका एक सङ्क्रमित पुरुषले बताए ।

‘होम आइसोलेशनमा बसेको १० दिन भयो । राज्यले १४ दिन आइसोलेशन बसेर सामान्य जीवनमा फर्किन पाइन्छ भनेर बारम्बार भनिरहेको छ । तर, घरबेटीले फेरि परीक्षण गराएर नेगेटिभ रिपोर्ट ल्याउन बारम्बार दबाब दिएको छ’ उनले भने, ‘हामीलाई संक्रमण भएपछि घरबेटी पनि बाहिर निस्किएका छैनन् । हामी संक्रमण भएर आइसोलेशनमा छौँ । अब घरबेटीलाई हाम्रो नेगेटिभ रिपोर्ट चाहिएको छ । हामीले सरकारको मापदण्ड मान्ने कि घरबेटी र छिमेकीले भनेजस्तै नेगेटिभ रिपोर्टको कागज खोज्न जाने ?’ 

यो समस्या घर भाडामा बस्नेको मात्र नभएर कार्यालयमा काम गर्ने कर्मचारीलाई पनि छ । बैंकमा कार्यरत ललितपुर १३ का संक्रमितले गुनासो गर्दै भने, ‘सरकारले १४ दिन आइसोलेसनमा बसेपछि पुनः स्वाब परीक्षण आवश्यक छैन भनेको छ । निजी ल्याबमा स्वाब परीक्षण गर्ने पैसा छैन । तर, हातमा नेगेटिभ रिपोर्ट नहुँदासम्म कार्यालय प्रवेश पाइँदैन । के अब संक्रमित भएकै कारण जागिर पनि गुमाउनु पर्ने हो र ?’                                      

अन्तिम अपडेट: कात्तिक २, २०७७

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया