‘देशको माया त हामीलाई मात्र रहेछ, खाडीमा अलपत्र नागरिकको माया सरकारलाई खै त ?’

 भदौ २६, २०७७ शुक्रबार १४:३५:१६ | सन्जिता देवकोटा

काठमाण्डौ – परिस्थिति सामान्य हुन्थ्यो भने आजैको दिन पनि सपनाको पोको बोकेर एक हजार नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्थे होलान् । जहाज चढेर साउदी, कतार, यूएई र मलेसिया ओर्लन्थे होलान् । तर ६ महिना भयो यो दैनिकी रोकिएको छ । परदेश जानेभन्दा फर्कन खोज्ने धेरै छन् । 

खाडीका देश र मलेसियामा श्रम गर्न पुगेकालाई समयले पनि ठगेको छ । उनीहरु नै आफ्नै देश फर्कन पनि रोइकराइ गरिरहेका छन् । तर फर्कन पाएका छैनन् । साउदीबाट चितवनका कुमार रेग्मी भन्नुहुन्छ, ‘न त डाँको छोडेर रुन मिल्ने न त बौलाएर हिँड्न मिल्ने, भगवान यो कस्तो संकटमा पार्‍यौ नि मलाई ।

’परदेशको ठाउँ । न आँखाको आँसु कसैले देख्छ न त भोकभोकै बस्दाको पीडा कसैले बुझ्छ । परिआएका समस्यासँग एक्लै लडिरहनुभएको छ उहाँ । 

परदेशमा काम छैन । कमाइ छैन । कम्पनीले जसोतसो बस्न दिएको छ । तर खान छैन । घर फर्कन दूतावासको सूचीमा नाम आएको पनि पाँच महिना भयो, तर घर फर्कने टिकट पाउनुभएको छैन । 

‘मानिस किन जिन्दगीदेखि हार खान्छन् भनेको कारण यही रहेछ’ कुमार दिक्क मान्दै भन्नुहुन्छ, ‘परदेशको ठाउँमा मर्न त नपरोस्, तर अब पनि घर जान नपाए बाँच्ने आधार पनि छैन । ’ 

जो घर फर्कन चाहान्छन्, जो समस्यामा छन्, उनीहरुलाई परदेशमा महिनौंसम्म किन रोकिएको होला ? अर्काको देशमा कोठामा थुनिएर बस्नुभन्दा त आफ्नै गाउँघरका पाखा पखेरोमा पसिना बगाउन हुन्थ्यो भन्ने लाग्छ कुमारलाई । घर फर्कन पनि यतिका दुःख किन सहनुपर्छ भनेर कुमारले बुझ्नुभएको छैन । 

डीएल ताजपुरियाको अवस्था पनि उस्तै । मनमा सरकारप्रति अनेकन प्रश्न र परदेशमा बेरोजगार बस्नुपर्दाका समस्या अनगिन्ती छन् । 

महामारी आयो, काम बन्द भयो ठिक छ । कमाइ भएन, त्यो पनि स्वीकार्य छ । तर कामबिहीन हुँदा महिनौंसम्म घर फर्कन नपाउने सरकारी नीतिले डीएलको मन साउदीमा पाएको दुःखलेभन्दा बढी दुखेको छ । 

‘मानिस किन जिन्दगीदेखि हार खान्छन् भनेको कारण यही रहेछ’ कुमार दिक्क मान्दै भन्नुहुन्छ, ‘परदेशको ठाउँमा मर्न त नपरोस्, तर अब पनि घर जान नपाए बाँच्ने आधार पनि छैन । ’ 

कम्पनी बन्द हुनु, काम नहुनुमा कसैको दोष छैन । महामारीले संसारलाई पिरोलेको छ । जसको चपेटामा पर्ने आफू मात्र होएन भनेर उहाँले पनि बुझ्नुभएको छ । तर ६ महिना बित्दा पनि घर फर्कने टिकट नै नपाउनुको कारण भने उहाँले बुझ्नुभएको छैन । 

‘पहिला विदेश आउँदा पनि ऋण नै काढेर आइयो, अहिले घर फर्कन पनि ऋण नै गरौंला, तर हाम्रो लागि जहाज पठाउ सरकार,’ डीएल अनुरोध गर्नुहुन्छ ।

 कम्पनी बन्द हुँदा खल्तीमा अलिअलि दाम थियो र त चार, पाँच महिना सजिलै माम मिल्यो । अब के होला उहाँले सोच्न सक्नु भएको छैन । सुन्नु त भएको छ दूतावास र एनआरएनए लगायतले खाद्यान्न राहत दिएका छन् भनेर । तर त्यो कहिले आउला ? कमाउन परदेशिएको मानिस कहिलेसम्म राहतका भरमा आफ्नो प्राण धान्ला ? उहाँ यी सब कुरा कल्पना पनि गर्न सक्नुहुन्न । 

‘हामी पैसा तिर्न तयार छौं, नेपाल आएपछि सरकारले लागू गरेका हरेक नियम मान्नेछौं, हामीलाई पनि आफ्नो देशको माया छ,’ डिएल भन्नुहुन्छ, ‘तर हामीलाई जति आफ्नो परिवार र देशको माया छ त्यति माया सरकारलाई रेमिट्यान्स पठाउने नेपालीको रहेन छ ।’

डिएलको सरकारलाई एउटै प्रश्न छ, ‘हामी जहाजको टिकट पनि सरकारले तोकेजति मूल्यमा किन्न तयार छौं, काठमाण्डौमा क्वरेण्टीनमा बस्न पनि तयार छौं, लाग्ने खर्च तिर्न पनि तयार छौं तर पनि सरकार हामीलाई हाम्रो देश लैजान किन तयार छैन ?’

हामी पीसीआर गरेरै आउँछौं, जहाज पठाइदेउ

​मकवानपुरका प्रेमनाथ विष्टले कतारबाट घर फर्कन खोजेको पाँच महिना हुन लाग्यो । तर अझै कति समय कुर्न पर्ने हो थाहा छैन । महामारीपछि केही समय त अन्योल नै भयो । तर सबैभन्दा पहिला कतारमा रहेको नेपाली दूतावासले नै समस्यामा पर्नेले फारम भर्नुहोस् भन्यो ।

सुरुमा त प्रेमनाथलाई समस्या सुनाएर हुने केही हैन झैं लाग्यो । तर विकल्प अरु थिएन । उहाँले पनि दूतावासको फारम भर्नुभयो । लामो समय लाग्यो दूतावासको घर फर्कने सूचीमा नाम निस्कन पनि । नाम त निस्कियो, तर घर फर्कने जहाज चढ्ने पालो आएन । 

आफ्नो देश होइन परदेश । परदेशी श्रमिकलाई कम्पनीले कस्तो व्यवहार गर्‍यो होला ? खानै नदिए पनि आनन्दले बस्न दियो होला त ? सरकारको मनमा कहिले यस्ता प्रश्नहरुले नघोचेको देख्दा प्रेमनाथलाई उदेक लाग्छ ।

‘काम हुँदा, महिनैपिच्छे तलब आउँदा त गाह्रो पर्ने परदेशको ठाउँमा महिनौंसम्म कामबिहीन भएर बस्दा के हुन्छ होला,’ प्रेमनाथ चित्त दुखाउँदै भन्नुहुन्छ, ‘अरुले नै पस्केर दिएको भात टेबलमा बसेर खानेलाई के थाहा, आधा पेट निदाउँदाको पीडा ।’

आफ्नो देश होइन परदेश । परदेशी श्रमिकलाई कम्पनीले कस्तो व्यवहार गर्‍यो होला ? खानै नदिए पनि आनन्दले बस्न दियो होला त ? सरकारको मनमा कहिले यस्ता प्रश्नहरुले नघोचेको देख्दा प्रेमनाथलाई उदेक लाग्छ । कहिलेकाहीँ सोच्नुहुन्छ, ‘हामी नेपाली नै हौं, होइनौं भने को त ?’ मनले हरेस खान्छ उहाँको  । तर बाध्यता छ । घरको मायाले पदेशमा बचाएको छ भन्नुहुन्छ उहाँ । 

पहिले कतारमा पीसीआर परीक्षण सहज थिएन । तर अब सहज छ । निःशुल्कदेखि कम शुल्कमासमेत गर्न पाइन्छ । निजी अस्पतालले पनि घर फर्कनका लागि पीसीआर परीक्षण गरिदिन्छन् । ​

प्रेमनाथ भन्नुहुन्छ, ‘७२ घण्टे पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउनेलाई किन रोक्छौ सरकार, कोरोनालाई त हामी नआउँदा पनि रोक्न सकेनौं ।’

पहिले कतारमा पीसीआर परीक्षण सहज थिएन । त्यो बेला बरु चार्टर्ड उडानको सङ्ख्या धेरै थियो । तर अहिले पीसीआर परीक्षण सहज छ र पनि सरकारले नियमित उडान नगर्नु र बेलाबेलामा गर्ने उदेकलाग्दा निर्णयले भने घर फर्कने दिन कुरिरहेका परदेशीलाई गलाउन थालेको छ । 

कतारबाट सन्तोष कोइरालालाई पनि आफ्नै खर्चमा नेपाल जान्छु भन्दा पनि रोक्ने सरकारको नीति मन परेको छैन । उहाँ प्रश्न गर्नुहुुन्छ, ‘आफ्नो गोजीको पैसा तिरेर घर जान पनि किन तड्पनु पर्ने, परिस्थिति सामान्य छैन थाहा छ, कुराउनुको पनि हद हुन्छ नि हैन र ?’

झापाका छविकिरण ओली पनि  आकाशमा जहाज उडेको देख्दा पनि सपना हो कि झैं लाग्दोरहेछ भन्नुहुन्छ । 

चार महिना भयो करार सकिएको । करार सकिएपछि उहाँले घर फर्कन भनेर भिसा, आईडी रद्द गर्नुभयो । तर घर फर्कने पालो आएन । जहाज पाए, टिकट पाए उहाँको त कम्पनी नै टिकट काटिदिन तयार छ । तर नेपाल सरकार उहाँजस्ता महिनौं कुरेर बस्नेलाई ल्याउन जहाज पठाउन तयार नभएको देख्दा रिस उठ्न थालेको छ उहाँलाई । 

‘अब त धनको भन्दा ज्यानको माया लाग्न थालेको छ सरकार, हामीलाई आउन देऊ,’ छविकिरण अनुरोध गर्नुुहुन्छ ।

नियमित उडान खुल्यो, टिकट पाइएन

मनिष नेपालको नाम यूएईबाट घर फर्कने सूचीमा निस्किएको तीन महिना हुन लाग्यो । तर टिकट हात परेको छैन । दूतावासले उडान तालिका सार्वजनिक गर्नासाथ उहाँ एअरलाइन्स कम्पनीमा आफ्नो नाम आएको छ टिकट दिनुस् भन्दै फोन गर्नुहुन्छ । तर उहाँलाई एअरलाइन्सवालाको जवाफ सधैं एउटै हुन्छ – ‘अहिले फूल भइसक्यो अब अर्काे लटमा ।’ 

कि त फोन नै अफ हुन्छ । लागिहाले पनि उठ्न मुश्किल नै पर्छ । उहाँ भन्नुहुन्छ, ‘दुई हजार दिर्हाम तिर्दा दुई घण्टामा टिकट पाउने, अनि सरकारी नियम अनुसार जान्छु भन्दा पाँच महिनासम्म पनि टिकट नपाउने किन होला बताइदिनुपर्‍यो ।’

काम छैन । महामारीको बेलामा आफ्नै खल्तीबाट खान, बस्न परेको छ । त्यो पनि महिनौंसम्म । मनिषसँग अब दलालमार्फत टिकट काट्ने पैसा छैन । तर सरकारी नियम अनुसार टिकट नै पाईंदैन ।

‘कस्तो भुमरीमा फसियो, अहिले त मरियो भने पनि लाश पनि समयमा घर पुग्दैन, के गर्ने कसरी यहाँ बस्ने थाहा छैन,’ मनिषको घर फर्कन पाउने आश पनि अब त मर्न थालेको छ । 

रामकृष्ण अधिकारीले पनि यूएईबाट फर्कन टिकट नपाएको महिनौं भयो । पहिले चार्टर्ड उडान थियो, बरु टिकट केही सस्तो थियो । तर अहिले त सरकारले यूएईमा नियमित उडान खुलाइदियो झन टिकट पाउन मुश्किल पर्‍यो । जसले महंगो तिर्छ, उसले टिकट पाउन थाले । जो निमुखा छन्, जसलाई सरकारले तोकेको रकम तिर्न पनि ऋण गर्नु परेको छ उनीहरुले त कहिल्यै पनि टिकट नपाउने अवस्था सृजना भयो । 

‘कस्तो भुमरीमा फसियो, अहिले त मरियो भने पनि लाश पनि समयमा घर पुग्दैन, के गर्ने कसरी यहाँ बस्ने थाहा छैन,’ मनिषको घर फर्कन पाउने आश पनि अब त मर्न थालेको छ । 

‘हामी गरिब नेपाली कामदारका लागि खाए खा नखाए घिच भन्ने परिस्थिति कहिलेसम्म रहने, पेट त कसरी भरौं भन्ने अवस्थामा पुगेका छौं, दलाललाई पैसा खुवाएर कहाँबाट काटौं टिकट ?’ रामकृष्ण प्रश्न गर्नुहुन्छ । 

यूएईबाटै जानुका मगर पनि गुनासो गर्दै भन्नुहुन्छ, ‘सात सयको टिकट १४ सय दिर्हाम भयो, त्यो पनि चित्त बुझाइयो, समय खराब छ भनेर मन बुझाइयो, तर जब टिकट काट्न गयो तब २२ सय दिर्हाम तिर्नुस् भन्छन्, यो कस्तो समय हो सरकार ?’

नियमित उडान खुल्दा टिकट सस्तो होला, सरकारले आफ्नो बाध्यता बुझिदेला भनेर खुशी भएकाहरु झन दुःखी भएका छौं भन्नुहुन्छ उहाँ । 

संसारलाई कोरोनाले तहसनहस पारेको छ । यो परिस्थिति नै असामान्य छ । तर असामान्य परिस्थितिको भुमरीमा परेकालाई सहारा दिनुपर्ने बेलामा राज्य यसरी निष्ठुरी बन्न मिल्छ र ? 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया