तपाईँलाई के चाहियो ? ‘वरिपरि’ छ

 भदौ २८, २०७७ आइतबार १५:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पटक–पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा ग्राहकसम्म पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप ‘वरिपरि’ सरल उपाय बनेर आएको छ ।

कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको छ ।

कुनै पनि व्यवसायीले आफ्नो पसल तथा कार्यालयको वस्तु वा सेवा बेच्न आफ्नो व्यवसायलाई विना लगानी वरिपरि एपमा दर्ता गर्न सक्छन् । यसरी व्यवसायी डिजिटल माध्यमबाट उपभोक्तासँग सजिलै पुगी व्यवसायको वृद्धि गर्न सक्ने वरिपरि नेपाल प्रालीका संस्थापक राज रेग्मी बताउनुहुन्छ । 

व्यवसाय दर्ता गर्न मोबाइलमा एप डाउनलोड गरी नाम र मोबाइल नम्बर राखेर एकाउन्ट खोल्न सकिन्छ । एकाउन्ट खोलेपछि ‘क्रिएट स्टोर’ मा गइ आफ्नो व्यवसायको नाम र स्थान उल्लेख गर्नुपर्ने हुन्छ । जुनसुकै व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने रेग्मीले बताउनुभयो । 

वरिपरि  एपमा दर्ता गरेपछि व्यवसायीले आफ्नो सेवा अवधि तोक्न मिल्छ, यसो गर्दा ग्राहकले एपमा हेर्दा त्यो समयमा सम्बन्धित व्यवसाय खुला छ कि बन्द छ भनेर जानकारी लिन सक्छन् ।

होम डेलिभरीको व्यवस्था छ कि छैन अनि भुक्तानीका विकल्पहरु (बैंक कार्ड, ई–सेवा, खल्ती, सेल पे) के/के छन् भनेर पनि एपमै उल्लेख गरेपछि ग्राहकलाई सहज बनाउन सकिन्छ ।

अहिलेको प्रतिस्पर्धात्मक बजारमा व्यवसायलाई बजारीकरण गर्नको लागि ठूलो लगानी गर्नुपर्ने र क्षतिसमेत बेहोर्नु पर्ने समयमा वरिपरि एपले क्रेता र विक्रेतालाई एकै ठाउँमा ल्याइ सहजता प्रदान गर्ने रेग्मीले बताउनुभयो । स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपभोग बढाउनु र ग्राहकको शपिङ सहजतामा ख्याल गर्नु वरिपरि एपको मुख्य लक्ष्य रहेको उहाँको दाबी छ । 

आफ्नो नजिकैका ग्राहकलाई व्यवसायको बारेमा जानकारी प्रचार गर्न नसक्दा नजिकका ग्राहक पनि सेवा लिन टाढा जानु र ग्राहकको समेत समय र पैसा दुवैको क्षति हुन्छ । यही समस्यालाई मध्यनजर गर्दै क्रेता र बिक्रेतालाई डिजिटल माध्यमबाट एउटै ठाउँमा ल्याउन मोबाइल एप ‘वरिपरि’ सुरु भएको रेग्मीले बताउनुभयो ।

नयाँ ठाउँ पुगेका व्यक्तिलाई वरिपरि एप शपिङ गाइड नै बन्नेछ । वरिपरि एपको आधिकारिक वेबसाइट www.oripari.com बाट थप जानकारी लिन सकिन्छ । 

अन्तिम अपडेट: भदौ ३०, २०७७

तपाईको प्रतिक्रिया