बालबालिकाको पढ्ने र लेख्ने बानीमा कमी आउन दिनुहुँदैन : प्रधानमन्त्री ओली

 भदौ २९, २०७७ सोमबार १४:५६:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने बानीमा कमी आउन दिन नहुने बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साेमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड दिनुभयो । 

बालबालिकाको रुचि, क्षमता र छनोटका विषयमा अभिभावकले ध्यान दिनुपर्ने बताउँदै उहाँले बालबालिकालाई कुनै पनि किसिमको विभेदको सिकार बनाउन नहुनेमा जोड दिनुभयो ।

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि स्वच्छ हावा, आहार र त्रासरहित वातावरणको सुनिश्चित गरिनुपर्ने उहाँको भनाइ थियो । कुनै पनि देश देशबीच वा समुदाय समुदायबीचको विवादका कारण बालबालिकाको शान्तिसँग बस्न पाउने अधिकार खल्बलिन नहुने उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, 'कुनै पनि बालबालिकाकाले शारीरिक र मानसिक रुपमा आनन्दले जीवन बिताउन, अनुशासन र नियम सिक्न तथा सामूहिक भावना विकास गर्न पाउनुपर्छ ।'

कार्यक्रममा बालबालिकामन्त्री पार्वत गुरुङले जोखिममा परेका बालबालिकाको अभिभावकका रुपमा राज्य रहेको बताउँदै प्रधानमन्त्रीको मार्गनिर्देशनअनुसार तिनीहरुसँग सम्बन्धित कार्ययोजना बनाइने जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले पन्ध्रौँ योजनामा बालबालिकाका समग्र विषय समेटिएको जिकिर गर्नुभयो भने आयोगका सहसचिव किरण रुपाखेतीले बालबालिकालाई सम्मानजनक रुपमा हेरिनुपर्ने बताउनुभयो । 

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश घोषणा गर्न तयारी गरिरहेको जानकारी दिनुभयो । गण्डकी प्रदेशका सामाजिकमन्त्री नरदेवी पुनले प्रदेश सरकारले बालमैत्री प्रदेश र बालमैत्री पालिका बनाउन लागिपरेको बताउनुभयो । 

नेपाल प्रहरी, बालबालिका निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले पहिले हिंसा पीडित बालबालिकालाई जिल्लाकाे महिला तथा बालबालिका कार्यालयसँग समन्वय गरिए पनि अहिले पालिकासँगको समन्वय अप्ठ्याराे भएको बताउनुभयो । राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले पछिल्लो दिनमा भएका प्राकृतिक विपद्का समयमा बालबालिकाको उद्धार र संरक्षणमा पालिकाले समन्वय गरिरहेको बताउनुभयो । 

केन्द्रीय बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले संस्थामा कतिपय बाबुआमा भएका बालबालिकासमेत रहेकाले सच्याउनुपर्नेमा जोड दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले कोभिड–१९ लाई शिक्षण सिकाइ र विद्यार्थी मूल्याङ्कन परिवर्तन गर्ने अवसरका रुपमा लिन सकिने बताउनुभयो । 

नेपाल नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष अशोक ब्याञ्जुले बाटो, विद्युत लगायत भौतिक पूर्वाधार मात्रै भन्दा बालबालिकाको समग्र विकासमा सबै सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका अध्यक्ष सीता सुन्दासले पालिकाले भौतिक संरचना बालमैत्री बनाइरहेको बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया