जडीबुटी सङ्कलन गर्न जुम्लीबासी पाटनतिर

 भदौ २९, २०७७ सोमबार १८:४३:५३ | रासस
unn.prixa.net

जुम्ला – जुम्लाको तिला गाउँपालिका ९ को राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लाग्नुभएको छ । हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उहाँ यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिँड्नुभएको हो । 

रावत केही युवाको समूह लिएर जडीबुटी सङ्कलनमा जुट्नुभएको छ । ‘आम्दानीको कुनै स्रोत छैन’, उहाँले भन्नुभयो, ‘परिवारकोे गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ । लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन ।’  

रावतजस्तै अहिले जुम्लाका धेरै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडीबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् । 

तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी सङ्कलन गर्न हिँड्नुभएको छ । उहाँले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताउनुभयो । 

एक दिनमा सेतोचिनी सङ्कलनबाट न्यूनतम एक हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उनीहरु बताउँछन् । सेतोचिनी सुकाएको प्रतिकिलो पाँच सय र काँचो प्रतिकिलो २५ रुपैयाँमा बिक्री हुन्छ । एक दिनमा एक जनाले एक क्विन्टलसम्म सङ्कलन  गर्ने उनीहरुको भनाइ छ । 

जडीबुटी सङ्कलनका लागि आवश्यक खाद्यान्न, नुन, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ ।

तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैँ खर्च जुटाउनका लागि एक महिना पाटनमै बस्ने योजनामा हुनुहुन्छ । अव्यवस्थित ढङ्गले सेतोचिनी सङ्कलन हुँदै जाँदा अहिले नजिक–नजिक पाउन छाडेको उहाँले बताउनुभयो । उहाँका अनुसार यसको बिउ नपाक्दै सङ्कलन गर्नाले लोप हुने खतरा बढेको छ । कात्तिकदेखि मङ्सिरसम्म राख्ने हो भने यसको बिउ पाक्छ तर हिजोआज पहिले नै सङ्कलन गर्ने प्रतिस्पर्धा चलिरहेको उहाँले बताउनुभयो । 

जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्त मात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔँले, सतुवा, पदमचाललगायत थुप्रै जडीबुटी पछिल्लो समय लोप हुँदै गएका छन् ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया