रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा बिहीबारदेखि पढाइ सुरु हुने

 भदौ ३०, २०७७ मंगलबार ९:५७:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा रहेका विद्यालयमा बिहीबारदेखि पढाइ सुरु हुने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीको कारण लामो समयदेखि बन्द रहेका विद्यालय असोज एक गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । 

गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बन्द भएका शैक्षिक संस्थाहरु पर्सि बिहीबारदेखि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिनुभयो । ‘लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यार्थी समस्यामा परेका छन्’ उपाध्यक्ष शाहीले भन्नुभयो,‘स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरेर गाउँपालिकाभित्रका विद्यालयमा पठन-पाठन सञ्चालन गरिनेछ ।’ 

अहिले गाउँपालिकाभित्रका केही विद्यालयमा वैकल्पिक सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमित नभएको तर जोखिमको अवस्था रहेकाले उच्च सतर्कताका साथ पढाइ सुरु गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

सिस्नेका दुई वटा वडामा पनि पढाइ सुरु हुने  

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि असोज ६ गतेदेखि गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताउनुभयो । 

अन्य वडामा रहेका विद्यालयको लागि भने अर्को व्यवस्था नभएसम्मको लागि रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने प्रवक्ता केसीले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया