बहराइनका राजपरिवारका सदस्यकाे टाेली हिमाल चढ्न काठमाण्डाैमा

 भदौ ३१, २०७७ बुधबार १६:३:४२ | रासस
unn.prixa.net

काठमाण्डाै – हिमाल आरोहणका लागि बहराइनका राजपरिवारका सदस्यकाे टाेली नेपाल आइपुगेकाे छ । खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजपरिवारकाे टाेलीसहित १८ जनाको टोली आज काठमाण्डाै आइपुगेको हो । 

टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । विमान बुधबार बिहान ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन  बेलायती  रहेको बताइएको छ । बहराइनमा रहेकाे नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उद्देश्यसहित मङ्गलबार राति नेपाल प्रस्थान गरेको थियो ।

टोलीलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले प्रस्थान अघि पर्वतारोहणमा सफलताको शुभकामना दिनुभएको थियो । त्यस क्रममा राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्रिपरिषद्को यही भदौ १४ गतेको बैठकले बहराइनी राजपरिवारकाे टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो । झण्डै दुई महिना समयावधिको कार्यक्रमसहित नेपाल आएको  टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीका रुपमा लिँदै सन् २०२१ मा सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको दूतावासले जनाएको छ । 

हिमाल आरोहणका लागि आएको टोलीले पर्यटन विभागबाट आरोहण अनुमति लिनुपर्ने हुन्छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार आरोहणका लागि नेपाल आएको राजपरिवारकाे ​टोलीले हवाई उड्डयन मापदण्डअनुसार क्वरेण्टीनमा बस्ने र पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्रै विभागबाट आरोहण अनुमति पाउनेछ । 

सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागका निर्देशक आचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजपरिवारकाे ​आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया