रुकुम पश्चिम : आठबीसकोटका झण्डै १४ सय घरधुरी एक महिनादेखि खाद्यान्न अभावमा

 भदौ ३१, २०७७ बुधबार २०:२३:२१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको तीन वडामा खाद्यान्न अभाव भएको छ । नगरपालिकाको वडा नम्बर १, २ र ३ मा रहेका १४ सय घरधुरीमा एक महिना अघिदेखि खाद्यान्नको अभाव रहेको छ ।

तीनवटै वडामा महिना दिनयता खाद्यान्न अभाव भए पनि अहिलेसम्म आपूर्ति हुन नसकेको वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विकले बताउनुभयो । उहाँका अनुसार वर्षाका कारण बन्द भएको सडक नखुल्दा खाद्यान्न ढुवानी गर्न नसकिएपछि गाउँमा अभाव कायमै रहेको हो ।  

‘मेरो वडामा मात्र पाँच सय ३० घरधुरी खाद्य अभावमा रहेका छन्’, वडाध्यक्ष विकले भन्नुभयो, ‘तीनै वडाका झण्डै १४ सय घरधुरी अहिले खाद्यान्नको अभावमा रहेका छन् ।’ अहिले घोडा, खच्चडमार्फत ढुवानी गरिएको चामल सबैलाई नपुगेपछि त्यहाँका नागरिक समस्यामा छन् ।

रुकुम पश्चिमकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले स्यालाखदीमा बिक्री केन्द्रको लागि पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको र टेन्डर पनि स्वीकृत भइसकेकोले अब तत्कालै खाद्यान्न आपूर्ति हुने जनाएको छ ।

स्यालाखदीमा खाद्यान्न अभावको दीर्घकालीन समाधानका लागि डिपो राख्ने योजनासमेत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो ।

गाउँमा चामल अभाव भएपछि व्यापारीहरुले मनोमानी ढङ्गले मूल्य बढाएको गुनासो बढेको छ । अहिले त्यहाँ एक क्विन्टल चामलको मूल्य सात हजार पाँच सयभन्दा बढी लिने गरेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीबासीले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया