काठमाण्डौका थप दुई ठाउँमा ट्राफिक बत्ती : एघार ठाउँमा जोडिँदै

 असोज १, २०७७ बिहिबार ९:२३:३४ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौका थप दुई ठाउँमा ट्राफिक बत्ती सञ्चालनमा आएको छ । ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन बत्ती सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखा र काठमाण्डौ महानगरपालिका वडा नं १ को समन्वयमा कमलपोखरीको ल्होत्से चोक र वडा नं ५ सँगको सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडि) ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाण्डौ उपत्यकाका अरु ठाउँमा पनि पालिकासँग समन्वय गरी ट्राफिक बत्ती जडान गर्न पहल भईरहेको जानकारी दिनुभयो ।

अहिले कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाइला, बौद्ध, ग्रान्डी चोक लगायतका ११ ठाउँमा ट्राफिक बत्ती जडान भैरहेको छ । उपत्यकाका अरु ४६ ठाउँमा पनि ट्राफिक बत्ती जडानको पहल भइरहेको महाशाखाले जनाएको छ ।

सञ्चालन हुँदै आएका ट्राफिक बत्तीको सङ्केत पूर्णपालना गर्न महाशाखाले अनुरोध गरेको छ । महाशाखाले विगत नौ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टङ्केश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताल चोक लगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया