पर्यटकीयस्थल ‘भाले बास्ने’ ताल ओझेलमा

 साउन २४, २०७५ बिहिबार १७:२१:१४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पर्यटकीयस्थल भएर पनि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुबेसीमा रहेको ‘भाले बास्ने’ ताल ओझेलमा परेको छ । 

भौतिक पूर्वाधार तथा संरक्षणको अभाव र प्रचारप्रसार नहुँदा भाले बास्ने ताल ओझेलमा पर्न गएको हो । 

पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा झण्डै २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन ।

नेपालमा भाले बास्ने ताल कुन जिल्लामा पर्छ ? भनेर सामान्यज्ञानमा प्रश्नको रुपमा स्थान पाएको तालको विकास हुन नसकेकोमा स्थानीय बासिन्दाले गुनासो गरेका छन् । 

संरक्षण नहुँदा ताल साँघुरिदै गएको छ । 
    
भाले बास्ने ताल आवश्यक प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ । 

घना वनजङ्गलको बिचमा झरनाको फेदीमा रहेको निलो रङमा देखिने तालमा बिहानको समयमा भाले बास्ने गरेको किम्बदन्ती रहेको छ । 

यसैगरी गाउँका ९ भाई लाहुरेमध्ये एक जनाले भरिया लिएर तालको अवलोकन गर्न गएको अवस्थामा ताल नजिकै दरबार जस्तै घरमा रात बिताएर बिहान ढुङ्गामा सुतेको अवस्थामा भेटिएको भन्ने बुढापाका बताउँछन् । 
    
नेपालमा आर्कषक तालको सूचीमा पर्ने भए पनि भाले बास्ने तालको चर्चा कम हुने गरेको छ । 

तालको माथिल्लो भागमा रहेको मन्दिरमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । 

पर्यटकीय आकर्षण बोकेको तालसम्म पुग्ने पदमार्ग निर्माण र ताल संरक्षणका लागि आवश्यक पहल हुन नसक्दा ओझेलमा परेको स्थानीय नन्दप्रसाद रोकामगरले बताउनुभयो । 

तालसम्म पुग्ने सजिलो बाटो भत्किएपछि अहिले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 
    
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ताललाई जोगाउन सरकारी निकायमा पहल गरिए पनि सहयोग नभएको स्थानीयको भनाइ छ । 

तालको अवलोकन गर्न सामुदायिक विद्यालयका विद्यार्थी र आन्तरिक पर्यटक पुग्ने गरेका छन् । 

स्थानीयले भाले बास्ने ताल आसपासका क्षेत्रलाई देवताको पहाडको रुपमा मान्ने गर्दछन् । 

जङ्गलभित्र रहेका नियालोको सहारामा आन्तरिक पर्यटकले आवतजावत गर्ने गरेका छन् । 

तालको शिरमा पर्ने प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी भाले बास्ने ताल जाने बाटोमा मालिकाको शाखा मन्दिर बनाइएको छ । 
    


तालमा छिमेकी मंगला गाउँपालिका–२, खार्तुङखोला र दरुङ गाउँबाट पनि जान सकिन्छ । दुवै गाउँबाट भीरको बाटो हुँदै जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ । 

हरेक वर्ष फागुनदेखि जेठ महिनासम्म विद्यालयको शैक्षिक भ्रमण तथा विदाको समयमा आन्तरिक पर्यटकहरु भ्रमणमा जाने गरेका छन् । 

गाउँपालिकाको पहिचानका रुपमा रहेको ताललाई चिनाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । 

तालको संरक्षण र प्रचारप्रसार गर्न तथा भौतिक पूर्वाधार विस्तारका लागि चालु आर्थिक वर्षमा वडा र गाउँपालिकाबाट आवश्यक पहल गरिने मालिका–६, दरबाङका वडा अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो ।

उहाँले तालसम्म पुग्ने पदमार्ग निर्माण गर्ने तयारी गरिएको बताउँदै तालको संरक्षण र प्रचारप्रसारका साथै आवश्यक पूर्वाधारहरुको निर्माणका लागि बजेट परिचालन गरिने जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया