बङ्गलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

 असोज ५, २०७७ सोमबार २०:८:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच साेमबार भेटघाट भएकाे छ ।

भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तर मापन, क्वरेण्टीनकाे प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदान लगायत विषयमा छलफल भएको छ । 

कृषि मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपाल र भारतका बहुसङ्ख्यक नागरिककाे जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुवै देशबीच अझ धेरै सहकार्यको आवश्यकतामा जोड दिनुभयो । 

भारतीय राजदूत क्वात्राले बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताउनुभएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिनुभयो ।

भारतीय राजदूतले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभइ नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताउँदै नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न भारत सधैंँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।   

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया