दशैँमा ३ हजार खसी, बाेका र च्याङ्ग्रा ल्याउँदै खाद्य कम्पनी

 असोज ६, २०७७ मंगलबार १४:४२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गर्दै यो वर्ष तीन हजार खसी, बाेका र च्याङ्‍ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी, बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको कम्पनीले यो वर्ष तीन हजार खसी, बोका र च्याङ्‍ग्रा खरिद गर्ने भएको हो । याे दशैँमा १४ सय च्याङ्ग्रा, १६ सय खसी र बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताउनुभयो । कति सङ्ख्यामा खरिद गर्ने भन्ने यकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।

कम्पनीले विगतका वर्षहरु जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्री गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उहाँले बताउनुभयो । एकीकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढीभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने उहाँले बताउनुभयो ।

कम्पनीले हरेक वर्ष दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीले विगतका वर्षहरुमा दाङ, तुलसीपुर, हेटौँडा र नेपालगञ्ज लगायतका ठाउँबाट खसी, बोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ ।

यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित पाँच करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गएकाे यही परिमाणको खसी, बोका तथा च्याङ्ग्राका लागि कम्पनीले पाँच करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया