खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सवकाे अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उहाँले आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले ‘राज्यको चौथो अङ्ग’ पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक विना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
उहाँले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व रहेको बताउँदै भन्नुभयो, 'लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमीकमजोरी क्रमशः हट्दै जानेछन् भन्ने आशा गरेको छु, सबै पत्रकारले आचारसंहिता पालना गर्ने अपेक्षा लिएको छु ।'
पत्रकार आचारसंहिताको पूर्ण पालनाका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 'अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचारसंहिता र पेसागत मर्यादा समेतलाई ख्याल नगरि तथ्यहीन र झुटा समाचार एवं भ्रामक विचार कतिपय सञ्चारमाध्यममा प्रकाशित र प्रसारित भइरहेको छ', उहाँले भन्नुभयो, 'सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुटा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको छ । नेपालको सन्दर्भमा यस चुनौतीको सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।'
राष्ट्रपति भण्डारीले पत्रकारितालाई जिम्मेवार बनाउँदै जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिलले सञ्चार क्षेत्रको अनुगमन र अनुसन्धानका साथै आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी कारबाहीका लागि गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्नुभयो ।
उहाँले यस वर्ष विश्वभरिका सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत कोभिड–१९ को महामारीबाट पीडित हुनुपरिरहेकामा दुःख लागेको र आफू नेपालका पत्रकारले सामना गर्नुपरेको चुनौतीका बारेमा जानकार रहेको समेत बताउनुभयो । 'कोभिड–१९ को यस्तो जोखिमपूर्ण परिस्थितिमा पनि पत्रकार समाचार सम्प्रेषण गर्न खटिनुभयो र अझै खटिइरहनुभएको छ । प्रतिकूल परिस्थितिमा समेत अविचलित रूपमा पेसाप्रतिको दायित्व वहन गर्ने पत्रकारिता क्षेत्रको म उच्च मूल्याङ्कन गर्दछु', उहाँले भन्नुभयो, 'यस सन्दर्भमा पत्रकार स्वयं पनि कोरोनाबाट सङ्क्रमित हुनुभएको छ । म उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।'
आमसञ्चार क्षेत्रले जनताको सुख, शान्ति र समृद्धिको यात्रामा सधैँ टेवा पुर्याउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, 'स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनुहुँदैन ।' राष्ट्रपति भण्डारीले राष्ट्रको सुख, शान्ति र समृद्धिको साझा सङ्कल्पलाई साकार तुल्याउन भौतिक पूर्वाधार विकासलाई उत्प्रेरित गर्न आमसञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
'जलवायु परिवर्तनका कारण उत्पन्न भएका समस्या उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पुर्याउन पत्रकारिता महत्त्वपूर्ण माध्यम बन्नुपर्दछ', उहाँले भन्नुभयो, 'खाद्य सुरक्षा, सरसफाइ तथा स्वच्छ पिउने पानी, गुणस्तरीय शिक्षा र जनस्वास्थ्य प्रवर्द्धनका विषयमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराउनुपर्दछ । सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण गर्न विभिन्न प्रकारका कुप्रथा, विकृति एवं विसङ्गति अन्त्यका लागि चेतना तथा जागरण अभिवृद्धि गर्नुपर्दछ ।'
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’, सम्पादक अमित ढकाल र वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।