नेपालमा पहिलो पटक बन्यो पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र

 असोज ७, २०७७ बुधबार १५:१९:५६ | रासस
unn.prixa.net

ललितपुर – नेपालमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बजारमा पाइने थरिथरिका पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न याे प्रविधि निर्माण गरेको हो ।

कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यताअनुरुप याे यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालले बताउनुभयाे । उहाँले भन्नुभयो, 'यसबाट हरेक पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ। यस यन्त्रले पीपीई परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटिएम १६७० अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिन्थेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्काे एयसटिएम १६७१ मान्यताअनुरुप रगतमा भाइरस मिसाएर पीपीई परीक्षण गर्दा ब्याक्टेरिया अर्थात् जीवाणुले कस्तो परिणाम दिन्छ यसबारेमा पनि जानकारी लिइन्छ ।' 

याे यन्त्रमा ३० किलो पास्कलसम्म दबाब दिने मोटर, यसमा पीपीईमा जाने दबाब नियन्त्रण गर्ने साधन र यस यन्त्रमा शून्यदेखि १५ किलो पास्कल पुगेपछि बन्द हुने व्यवस्था गरिएको ढकालले जानकारी गराउनुभयो । याे यन्त्रमा डिजिटल मिटर, यन्त्रलाई सञ्चालन र बन्द गर्ने स्विच, पीपीई च्याप्ने नमुना डिस्क तथा माथिबाट सिन्थेटिक रगत हाल्ने प्वाल अनि मुनिबाट पनि पीपीई तथा मास्क परीक्षणपछि त्याे रगत फाल्ने प्वाल रहेको ढकालले बताउनुभयो । 

नास्टले याे यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेशन टेस्ट डिभाइस’ (पीसीटी) नाम दिएको छ । याे यन्त्रले नेपालमा बनेका मास्क तथा पीपीईलाई प्रमाणीकरण गरेर बजार प्रवर्द्धनका लागि सघाउने विश्वास नास्टले लिएको छ । नास्टले विभागसँग यन्त्रको आईएसओ मान्यता प्राप्त लिने क्रममा रहेको बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया