छठलगत्तै त्रिविका सबै परीक्षा

 असोज ७, २०७७ बुधबार १५:५९:३७ | रासस
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

त्रिविले कोभिड–१९ का कारणले रोकिएका सबै परीक्षा छठलगत्तै गर्ने गरी दशैँ अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्न सक्ने जनाएको छ । त्रिविले भौतिक दुरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने छ ।

पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेस्टर परीक्षा लिने छ्न् । त्रिविका रजिस्ट्रार प्राध्यापक डाक्टर पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । दाहालले माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन/चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

कोभिड–१९ का कारणले त्रिविका चैतदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित भएका छन् । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दुरी कायम राखेर सञ्चालन गरिरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया