धनगढी बेस बनाएर उडान हुने खबरले सुदूर पहाडमा उत्साह

 असोज ८, २०७७ बिहिबार १६:८:५८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन हुने खबरले उत्साह बढेको छ । वर्षाैँदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनर्निर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको हो । 

अहिले धनगढी–बाजुरा चार्टर्ड उडान भइरहेको बताउँदै धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ थापाले भन्नुभयो, ‘बैतडी, डोटी र बझाङ जिल्लामा पनि विमानस्थलको निर्माण सकिएको छ । केही साताभित्रै धनगढीबाट तीन पहाडी जिल्लामा परीक्षण उडान हुनेछ ।’ उहाँले परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढी बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने बताउनुभयो। 

धनगढीबाट पहाडी जिल्लामा आन्तरिक उडान गर्ने तयारी भएपछि उत्साह बढेको बझाङका स्थानीय कलक खत्रीले बताउनुभयो । ‘बझाङवासी विमानस्थल सञ्चालनको पर्खाइमा छन्’, उहाँले भन्नुभयो, ‘नियमित रुपमा जहाज सञ्चालन भए जिल्लाको समग्र विकासमा टेवा पुग्ने देखिएको छ ।’ अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ । 

बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा सहज पहुँच हुने बैतडीको पाटनका व्यवसायी चमन भण्डारीले बताउनुभयो । उहाँले बैतडीको विकासका लागि पनि उडान निकै महत्त्वपूर्ण साबित हुने बताउनुभयो ।

सुदूर पहाडका तीन विमानस्थलको निर्माण कार्य भर्खरै सम्पन्न भएको हो । डोटी, बैतडी र बझाङको विमानस्थल सञ्चालनपछि पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ । पहाडी जिल्लामा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रसम्म पुग्नका लागि अहिले पनि सास्ती हुने गरेको छ ।

तर जहाज चलेपछि पर्यटनसँगै व्यपार, व्यवसाय र स्वास्थ्य सेवामा पनि सहज पहुँच हुने उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । ‘विमानस्थल सञ्चालन भए पहिला यात्रुहरुलाई फाइदा हुन्छ’, उहाँले भन्नुभयो, ‘धार्मिक तथा पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।’

बाजुरामा चार्टर्ड उडान गरिरहेको समिट एअरले छिट्टै बझाङमा परीक्षण उडानको तयारी गर्ने जनाएको छ । बझाङपछि बैतडी र डोटीमा पनि परीक्षण उडान गरिनेछ । 

अन्तिम अपडेट: चैत २५, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया