दशैँ, तिहार नजिकिएसँगै बजार अनुगमन सुरु

 असोज ९, २०७७ शुक्रबार १७:३७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले दशैं, तिहारलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो । साधारणतया विभागले ४\५ वटा टोलीमार्फत बजार अनुगमन गर्दै आएको छ ।

विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफुललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन् । चाडपर्वको समयमा व्यापारीहरुले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्नेलगायत समस्या देखिने गरेकाले दशैँ आउन चार हप्ता बाँकी रहँदै विभागले अनुगमन सुरु गरेकाे हाे ।

विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताउनुभयो । खासगरी काठमाण्डाैकाे कलङ्की, बालाजु, बुढानीलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललितपुरमासमेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यले बताउनुभयो ।

त्यस्तै विषयगत विभागहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिति बढाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

यस्तै, सबै प्रदेश र पालिकालाई पनि आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन अनुरोध गरेको उहाँले बताउनुभयो । बजार अनुगमन व्यवसायीहरुलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले सुरु नभएको पनि प्रवक्ता रिजालले बताउनुभयाे ।

बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्री वितरण नगरि उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।

विभागले चाडपर्व तथा कोरोना सङ्क्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा असोज १३, १४ र १५ गते र त्यसपछि क्रमशः सबै प्रदेशमा बजार निरीक्षण अधिकृतलाई प्रशिक्षण दिन लागेको पनि प्रवक्ता आचार्यले बताउनुभयो ।

साथै अनुगमनको क्रममा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालन गरिने समेत उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया