खोपकाे व्यापक प्रयोग हुनु अघि नै कोरोनाका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्छ : डब्लूएचओ

 असोज १०, २०७७ शनिबार ६:१:० | एजेन्सी
unn.prixa.net

कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ ।

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको हो । डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बिना कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा धेरै हुने बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । उत्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर सुरु हुन थालेको बीबीसीले जनाएको छ । अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको ज्यान गएको छ । यस्तै ५९ लाखमा कोरोना पुष्टि भएको भारतमा ९३ हजारको ज्यान गएकाे छ । ब्राजिलमा ४६ लाख ८९ हजारमा कोरोना पुष्टि भएको छ भने १ लाख ४० हजारको ज्यान गएको छ ।

अहिले विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख निको भएका छन् भने ९ लाख ९२ हजारको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया