खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ : स्वास्थ्यमन्त्री ढकाल

 असोज १०, २०७७ शनिबार १५:४६:५८ | रासस
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार-विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । 

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औं वार्षिकोत्सव तथा १६ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस विषयमा जनचेतना जगाउन आवश्यक रहेकामा जोड दिनुभयो । 

मन्त्री ढकालले भन्नुभयो, 'हामीले खानपान र आहार-विहारमा ध्यान नदिँदा क्यान्सर रोगबाट ग्रसित हुनुपरेको छ ।' मानिसमा हुने मोटोपन, शारीरिक रुपमा निस्क्रियता, हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग, मदिरा र सूर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने उहाँले बताउनुभयो । 

क्यान्सर रोगका सङ्क्रमितमध्ये एक तिहाइको मृत्यु हुने गरेको, एक तिहाइको निको हुने गरेको र एक तिहाइलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम रहेको बताउनुभयो । अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उहाँले यस अभियानमा सबैलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'निरोगी नेपाल निर्माण गर्ने अभियानमा सरकार लागेको छ ।'

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्यान्सरका बिरामीको उपचार र रोकथामका लागि विश्वास आर्जन गर्दै आएको उहाँको भनाइ थियो । अस्पतालले आर्जन गरेको विश्वासकै कारण देशका विभिन्न ठाउँबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको भन्दै मन्त्री ढकालले यसलाई अझै बढाउन आवश्यक रहेको जानकारी दिनुभयो । 

मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आ-आफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्छ भन्नुभयो । विश्वमा वार्षिक ९६ लाख जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ७० प्रतिशत व्यक्ति न्यून आय भएका व्यक्तिहरु रहेको यस अवसरमा जानकारी दिइयो । 

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य निशा अधिकारी, चिनियाँ टिमका टिम लिडर वी झ्याङ्लगायतले बोल्नुभएको थियो । यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले अस्पतालको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । २१ वर्षअघि चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना गरिएको हो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया