‘बाढी पहिरोले बिगारेका सडक दशैँअघि बनिसक्छ’

 असोज ११, २०७७ आइतबार १९:४७:५१ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै - देशैभरि मनसुनी गतिविधि सक्रिय रहँदा विभिन्न ठाँउमा बाढी तथा पहिरोले सडक तथा पुल बिग्रने र बगाउने भएका छन् । नजिकिएको दशैँ र तिहारमा यात्रा गर्नेहरुलाई सडकको अवस्था कस्तो होला भन्ने लागेको छ, उनीहरु जाेखिमरहित यात्रा होला कि नहोला भन्ने चिन्तामा छन् ।

यसै सन्दर्भमा बाढी पहिरोले बिगारेका सडक र पुल तथा देशभरिका निर्माणाधीन सडकबारे सडक विभागका महानिर्देशक केशवकुमार शर्मासँग उज्यालो सहकर्मी मल्लिका थापाले कुराकानी गर्नुभएको छ:- 

लगातारको वर्षासँगै गएको बाढी पहिरोका कारण देशभरि कहाँ-कहाँका पुल तथा सडक अवरुद्ध छन् ?

यसपालिको वर्षाले भाग्यवश क्षति कम नै गरेको छ । केही सडक मात्र अवरुद्ध छन् । बेसीशहरबाट मनाङ जाने सडक अवरुद्ध छ । त्यहाँ बेलिब्रिज राख्ने काम भइरहेको छ । यस्तै बाजुरामा साँफे बगरबाट मार्तडी जाने बाटोमा पनि दुई वटा पुल बगाएको छ । बेनीबाट जोमसोम जाँदा रोम्से भन्ने ठाँउमा पुल बगाएकाले बनाउनुपर्ने छ । त्यहाँ वैकल्पिक बाटोकाे प्रयोग भइरहेको छ  । यसरी तीन वटा बाटो पूर्ण रुपमा बन्द छ । 

वर्षाका कारण मुग्लिङ-नारायणघाट सडकखण्डमा पहिरो खसेकाले बेलाबेलामा बन्द भए पनि खुलाउने काम तत्काल नै भयो । अरनिको राजमार्ग हुँदै बाह्रबिसे तातोपानी जाने र त्रिशूलीबाट स्याफ्रुबेसी केरुङ जाने सडकखण्ड पनि  खुल्दै बन्द हुने भइरहेको छ । 

नारायणगढ-मुग्लिङ सडकखण्डमा यो वर्ष पटक-पटक किन अवरोध आयाे ? यो सडक तयार भएकाे धेरै भएकै छैन । कस्तो अपरिपक्व बनाएको ? यो अस्थायी समस्या हो कि अब हरेक वर्षायाममा यस्तै हुन्छ ? तपाईँ आफैँ पुगेर हेर्नुभएको छ ?

म आफैँ धेरै पटक त्यहाँ पुगिसकेँ । अवस्था के छ भने त्यसलाई चौडा बनाउँदा केही ठाउँमा सडक कटिङ गर्न पर्यो, त्यहाँ स्लोप पनि बनाएर राख्याैँ, सात ठाउँमा । तर ४ किलोमा स्लोप राख्ने काम भइसकेको थिएन, त्यसैले पटक-पटक पहिरो गएर  सडक बन्द भएको हो । अब यो वर्ष स्लोपको  काम सकिएपछि त्यहाँ पहिरो जाँदैन ।

यस वर्ष धेरै पानी परेकाले पनि नारायणी नदीमा ४४ वर्षसम्म नआएको बाढी आयो र नदीले कटान गरेकाले पहिरो जाने, केही ठाँउमा बाटो भासिने भएकाले सडक अवरुद्ध भएको हो । धेरै वर्षा भएकाले नै हाम्रो स्लोपहरु फेल भएको भनेर बुझ्न पर्छ ।

पहिला-पहिला जोगिमारा कृष्णभिरमा खसेको जस्तो ठूलो पहिरो होइन । नेपालको भौगोलिक अवस्था अनुसार यो ठूलो समस्या हाेइन । कतै-कतै एकैचोटी ठूलो पानी पर्दा त्यहाँ भएको कलभर्ट, पुलहरु बगाउने स्वभाविक नै हो ।

अवरुद्ध सडक खुलाउने काम, बिग्रेका पुल बनाउने काम कसरी अघि बढेको छ ?

पहिरो गइरहेको अवस्थामा तत्कालै अर्को स्ट्रक्चर हालेर काम गर्न मिल्दैन । तत्कालको काम भनेको पहिरो पन्छाउने, सफा गर्ने र बाटो खुलाउने मात्र हुन्छ । वर्षा सकिएपछि अनि बल्ल स्ट्रक्चर दिने , पर्खाल लगाउने,  खन्ने गरेर पहिरो थाम्ने हो ।

पहिरो खसिरहेकै समयमा त सानो पर्खाल लगाएर अस्थायी समाधान मात्र गर्ने अनि बाटो खुलाउने मात्र हो । हाम्रो टिम रातभरि बसेर पनि पहिरो पन्छाउने काम गर्छौँ । टिम स्ट्याण्ड बाइ बस्छ । अवस्था सामान्य भएपछि भरपर्दो र पछि समस्या नहुने गरी काम थाल्छौ ।

काठमाण्डौका सडकहरु 'बन्याे-बन्याे' भन्दाभन्दै जताततै भद्रगोल छ भन्छन् नि । के ले बिग्रेको फेरि ? मर्मत हुँदैन ?

विगतमा भद्रगोल भइरहेका सडकहरु अहिले सबै ठिक छन् । एक ठाउँमा देखेर सबै ठाउँमा उस्तै छ भन्न मिल्दैन । काम भइरहेका सडकमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुनु स्वभाविक नै हो । सडक विभाग अन्तर्गतका सडक त्यस्ता छैनन् । अरु भित्रि सडक पालिका अन्तर्गतका हुन् ।

पुतलीसडकमा ढलको काम सकेर कालोपत्रे गर्ने तयारी थियो । पानी परिरहेकाले काम गर्न सकिएन । अब पानी पर्न रोकिएको छ, राम्रोसँग सुक्नेबित्तिकै काम सुरु भइ हाल्छ । गौशाला-चाबहिल सडकखण्डको अवस्था पनि त्यस्तै भएकाले अब काम सुरु गर्ने तयारी छ । दशैँअघि नै काम सकिन्छ । अरु विस्तार भइरहेका र खनिएका सडकबाहेक अरु त्यस्तो बिग्रिएका छैनन् ।

काेराेना भाइरस सङ्क्रमणको जोखिम कम गर्न भनेर ६ महिना लकडाउन भयो, यो समयमा बाढी पहिरोको जोखिम रहेका सडक पहिचान गरी क्षति कम गर्न पूर्वतयारी किन गर्न सकेन सडक विभागले ?

लकडाउनको समयमा हामीले केही काम त गरेकै छौँ । तर काम गर्ने सुविधा भएन, कामदार पाइएन । विभिन्न जिल्लाबाट कामदार ल्याउनुपर्ने तर जिल्ला छिर्न नपाउने, पास झिकाउँदा पनि फर्काउने जस्ता समस्या भयो ।

अत्यावश्यक काम रोकेनौँ । गाडी पनि नचलेकाले सामान ढुवानीदेखि सबै कुरामा समस्या भएर काम गर्ने वातावरण चाहिँ भएन । काम नगरेको भए अहिले वर्षाको समयमा धेरै क्षति हुने थियो।

बर्सेनि बाढी पहिरोले सडकमा क्षति पुर्‍याइरहेकै हुन्छ, सडक निर्माणको क्रममा इन्जिनियरिङ अध्ययन विना नै काम गरेकाले पनि जोखिम बढेको भन्ने अनुमानलाई तपाईँ कसरी हेर्नुहुन्छ ?

हाम्रो राजमार्गहरु आफ्नो कारणले भन्दा पनि अरुको कारणले बढी बिग्रिरहेको छ । जस्तै नौबिसेदेखि नारायणघाटसम्म झण्डै एक सय ५० वटा बाटो खुलेका छन् ।  त्यहाँ बाटो खुल्दा प्राकृतिक रुपमा बहेको खोल्साहरु पुरिन्छन् ।

त्यहाँबाट पानी बग्न पाउँदैनन् । स्लोपहरु बिग्रिँदा पानी सडकको विभिन्न ठाँउबाट बग्ने अनि एकै ठाँउमा जम्मा भएर बस्दा यसले सडक भासिने, भत्काउने, जाम हुने आदि समस्या  हुन्छन् । यस्ता शाखा सडकले राजमार्गको सडकमा क्षति पुर्‍याइरहेकाे हुन्छ । यी सडकहरु पालिकाकाे जिम्मामा हुन्छ ।

सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको १४ हजार नाै सय किलोमिटर सडक मात्र हेर्छ । सडक मर्मतको कुरा आयो कि सडक विभागलाई गाली गर्ने प्रवृत्ति छ, तर अरु सडक पालिका, प्रदेश, शहरी विकासलगायतका निकाय अन्तर्गत पर्छन् ।

बाढी, पहिरो र डुबानको समस्या वर्षैपिच्छे हुन्छ, विभाग अन्तर्गत कै सडक तथा पुलहरुमा क्षति हुन नदिने गरी दीर्घकालीन समाधानका उपाय खोज्न सकिँदैन ? 

दीर्घकालीन समाधानकै उपायअनुसार हामीले काम गरिरहेका छौँ । त्यसैले सडक विभागले पहिरो जान सक्ने सम्भावित क्षेत्रकाे पहिचान, वातावरणीय प्रभाव मूल्याङ्कन गरेर त्यसमा पर्याप्त ध्यान दिएर काम हामी गर्छौँ । तर अरु थुप्रै सडक छन्, अरु निकाय अन्तर्गतका । ती सडककाे निर्माणमा प्राविधिक गुणस्तरीयतामा ध्यान दिइएको पाइँदैन । त्यसैले बढी क्षति भएको हुन सक्छ । 

दशैँ, तिहारलगायतका पर्व नजिकिँदै छ, अब यातायातका साधनको चाप हुने निश्चित छ, चाडपर्वअघि नै सडक तथा पुल मर्मत गर्न भ्याइन्छ ?

अधिकांश ठाउँमा बिग्रेका सडकमा बेलिब्रिजकाे काम हुन थालिसकेको छ । दुई हप्ताभित्र काम सकिन्छ । केही ठाँउमा पहिरो पन्छाएर यातायात सञ्चालन भइसकेका छन् । दशैँसम्ममा सडक विभाग अन्तर्गतका सबै सडक मर्मत गर्न सकिन्छ । यातायात सजिलै सञ्चालन गर्न सकिने अवस्था छ ।

राष्ट्रिय राजमार्गहरुमा समस्या आइपरेमा तुरुन्तै मर्मत सम्भार गर्न उपकरण र जनशक्ति विभागले तयारी अवस्थामा राखेको हुन्छ । काठमाण्डौ उपत्यकाभित्र र उपत्यकाबाहिर निर्माणका क्रममा रहेका र मर्मत गर्नुपर्ने सडक चाडबाड पहिले नै बन्छ ।                                                                                                                                 

अन्तिम अपडेट: चैत १५, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • lok bahadur thapa

    Sept. 28, 2020, 2:40 p.m.

    कुरा मात्रै होइन काम पनि गरेर देखावोश

  •  0 Reply

तपाईको प्रतिक्रिया