‘विदेशबाट फर्किएकालाई व्यवसायमा सहयोग गर्छु भन्ने सरकारको गफ मात्रै रैछ !’

 असोज १२, २०७७ सोमबार १५:२५:४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई व्यवसाय गर्नको लागि सरकारले ऋण दिने खबरले जाजरकोटका टेकराज शाहीलाई लाग्यो – ‘अब जे गरिन्छ आफ्नै देशमा गरिन्छ ।’ 

‘सरकारले सहयोग गर्ने भएपछि किन अर्काको देशमा पसिना बगाउनु,’ मलेसियामा दुःखका दिन बिताइरहँदा टेकराजको मनमा यही कुरा घुमिरह्यो । आफ्नै गाउँठाउँमा व्यवसाय गरेको कल्पना गर्दै त्यसैमा रमाउन थाल्नुभयो । तर मलेसियामा छँदा देशमै केही गर्छु भनेर देखेको सपना बिपनामा परिणत गर्न सजिलो रहेनछ । किनकी न सरकारले भनेजसरी व्यवसाय गर्नेलाई सहयोग गर्ने न त आफ्नै बलबुताले सम्भव हुने ।

२०७२ सालमा रोजगारीको लागि मलेसिया पुग्नुभएका टेकराज तीन वर्ष त्यहाँ बसेर नेपाल फर्किनुभयो । दिमागमा आफ्नै देशमा व्यवसाय गर्ने योजना बुन्नुभएका टेकराजले स्वदेश फर्किने बित्तिकै कुखुरा व्यवसाय थाल्नुभयो । त्यो पनि आफ्नै जिल्लामा होइन, श्रीमती कार्यरत जिल्ला, गोरखामा । 

जहाँ गयो त्यहाँ अवसर देख्न थाल्नुभयो । यो गरे कसो होला, त्यो गरे कसो होला भन्ने मनमा बेचैनी छाइरह्यो, त्यतिबेला । मनमा रहर मात्रै थिएन, आँट पनि थियोे र सरकारका आश्वासनले मन फुरुङ्ग थियो । जस्तोसुकै व्यवसाय पनि हाँकिन्छ भन्ने सोच भएका टेकराजलाई लाग्यो कुखुरा व्यवसाय भन्दा पनि अरु नै केही ठूलो धन्दा काम गर्नुपर्यो । मनमा यस्तै व्यवसायको सोच लिएर गोरखाबाट घर फर्किने क्रममा श्रीमतीसहित टेकराज दाङमा बस दुर्घटनामा पर्नुभयो । भाग्यले ज्यान त जोगियो, तर दुई महिना अस्पतालको आईसीयूमा बस्नुपर्यो ।

खुलेन चप्पल उद्योग

भौतिक शरीरमा चोट लागे पनि मनको रहर र दिमागमा पालिराखेको सपनामा भने कत्ति चोट लागेन । दुई महिना अस्पतालमा बसेर घर फर्किनुभयो । त्यहिबेला उहाँको दिमागमा नयाँ व्यवसायको जुक्ति फुर्यो । 

नेपालगञ्जमा १ सय रुपैयाँ पर्ने हात्तीछाप चप्पल टेकराजको गृह जिल्लामा २ सय रुपैयाँ पथ्र्यो । उहाँले आफैं उत्पादन गरेर जारजरकोटमा १ सय रुपैयाँमा चप्पल पुर्याउने सोच बनाउनुभयो । त्यसै पनि गरिबीमा पिल्सिएका नागरिकलाई व्यवसायकै माध्यमबाट भए पनि केही राहत पुर्याउन सकौं भन्ने उहाँको सोचाइ थियो ।

तर त्यसको लागि खर्च धेरै लाग्ने देखियो । आफूसँग त्यति धेरै पैसा थिएन । त्यसै त मलेसियामा दुःख पाएर फर्किनुभएका टेकराज दुर्घटनापछि झन् आर्थिक रुपमा त्यत्रो व्यवसाय गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।  

त्यहीबेला टेकराजका साथी दिनेश राना पनि मलेसियाबाट घर फर्किनुभएको थियो । दुवै जनाको गृह जिल्ला जाजरकोट नै भए पनि गाउँ फरक थियो । साहित्यिक कार्यक्रममार्फत मलेसियामै चिनजान भएका दिनेश र टेकराजको मित्रता आत्मीय रुपमा अगाडि बढिसकेको थियो । 

टेकराजको गोरखामा कुखुरा व्यवसाय गर्दा पनि दिनेशले आर्थिक सहयोग गर्नुभएको थियो । दुवै जनाले मलेसियामा छँदै स्वदेशमा केही न केही त गर्नैपर्छ भन्ने सोच बनाइसक्नुभएको थियो । टेकराजले आफ्नो योजनाको बारेमा दिनेशलाई सुनाउनुभयो । 

त्यसपछि दिनेशले पैसाको जोहो गर्ने र टेकराजले सम्पूर्ण व्यवसायको योजना बनाउने निधो भयो । त्यसको लागि २० लाख रुपैयाँसम्म लागत लाग्ने अनुमानित योजना बन्यो । ऋण खोजेरै भए पनि बीस लाख रुपैयाँ लाग्छ भने व्यवसाय थाल्ने निधो गर्नुभयो दुवैले । त्यसपछि उहाँले बाँकेस्थित घरेलु तथा साना उद्योगमा गएर कम्पनी दर्ता गर्नुभयो ।  

दुवैजना मेसिनको बारेमा बुझ्न दुई पटक दिल्ली जानुभयो । एक पटक बैंगलोरमा चप्पल बनाउने कारखानामै पुगेर त्यसको बारेमा बुझ्नु पनि भयो । 

रुपेडिया भन्सारमा गएर भ्याटको बारेमा बुझ्नुभयो । भारतबाट नेपालमा मेसिन ल्याउँदा मेसिनको खर्च भन्दा बढी भ्याट नै तिर्नुपर्ने देखियो । त्यसको लागि उहाँले सरकारका विभिन्न निकाय चाहार्नुभयो । धेरैलाई बिन्ती बिसाउनुभयो । मेसिन सहजै ल्याइपुर्याउनको लागि र ऋणको व्यवस्था गर्न सकेजति प्रयास गर्नुभयो ।

उहाँले आफू विदेशबाट आएको र नेपालमै केही गर्ने अठोट गरेको भन्दै आफ्नो पासपोर्ट र विदेशमा काम गरेको प्रमाण बोकेर कहिले पालिका त कहिले जिल्ला प्रशासन धाउनुभयो । तर कहीँ कतै पनि आशाको त्यान्द्रो भेटिएन । त्यसपछि उहाँ त्यहाँबाट पनि पन्छिनुभयो ।

‘सबै कुरा बुझ्दा मेसिन नेपालमा ल्याएर काम थाल्नसम्म चालिस लाखले पनि नपुग्ने देखियो’, उहाँले भन्नुभयो, ‘न कतैबाट ऋणको जोहो हुने देखियो न त भन्सार छुटको नै सहयोग मिल्ने देखियो, त्यसपछि चप्पल उद्योग खोल्ने योजना पनि स्थगित गर्नुपर्यो ।’

अनेक झमेला खेपेर दर्ता गर्नुपरेको उद्योग बन्द गर्नुपर्यो । कम्पनी दर्ता र बन्द गर्नमै दुई लाख रुपैयाँ सकियो । कम्पनी सुरु गरेर काम गर्नुभन्दा पहिले नै मानसिक बोझ थपिदिने नेपालको प्रशासनिक संयन्त्र भएको भन्दै टेकराज दुखेसो पोख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कम्पनी खोल्न जति झन्झट भएको थियो त्यसलाई खारेज गर्न पनि त्यति नै दौडधुप गर्नुपर्यो ।’

लन्ड्री उद्योग सञ्चालनमा 

चप्पल उद्योगमा धेरै लगानी लाग्ने र सहयोगको लागि कहीँबाट पनि आशा नभएपछि कम लगानीको अरु नै व्यवसाय गर्ने सोच बनाउनुभयो टेकराज र दिनेश दुवैले । 
अरु व्यवसाय त गर्ने, तर के गर्ने ?

मलेसियामा छँदा लन्ड्रीमा ८ महिना काम गरेको अनुभव थियो टेकराजसँग । दुवै जना मिलेर त्यही गर्ने सोच बनाउनुभयो । त्यसको लागि सल्लाह लिन काठमाण्डौमा ‘स्मार्ट धोबी’ नामक लन्ड्री व्यवसाय सञ्चालन गरी बसेका सुजन चौलागाईंलाई भेट्नुभयो । त्यसपछि उहाँले लन्ड्री व्यवसाय नै गर्ने पक्कापक्की गरेर सामान खरिद गरेर कोहलपुर पुग्नुभयो । 

त्योभन्दा पहिले टेकराज र दिनेशले कोहलपुर, नेपालगञ्जमा लण्ड्रीको बजार बुझिसक्नुभएको थियो । धेरै होटेलहरुसँग पनि कन्ट्र्याक्ट लिने कुरा भइसकेको थियो । तर आर्थिक चाँजोपाँजोको समस्या भने चप्पल उद्योग खोल्ने बेलाको भन्दा निराशजनक नै थियो ।

फर्केर विदेश नजाने, मरे पनि स्वदेशमै मर्ने, गरे पनि स्वदेशमै गर्ने भनेर मनमा गाँठो बाँधिसकेका दुवैजनाले कम्मर कसे । बैंकबाट सहयोग पाइने आशा थिएन । आफ्नै गाउँलेबाट ऋण जुटाए । १५ लाखको लगानीमा बाँकेको कोहलपुरमा लण्ड्री व्यवसाय भयो । व्यवसाय सोचेजस्तै चलिरहेको थियो । दिनमा तीन चार हजार रुपैयाँको कारोबार भइरहेको थियो । तर व्यापार १५ दिन पनि चल्न पाएन । व्यवसाय सुरु भएको १५ दिनपछि कोरोनाको महामारीसँगै नेपालमा लकडाउन सुरु भयो । योसँगै टेकराज र दिनेशको व्यवसाय ठप्प भयो ।

सरकारका आश्वासन झुटा : बैंकले ऋण दिन मान्दैन 

सयकडा ३ प्रतिशतमा ब्याज लिएर चलाएको व्यवसाय अहिले बन्द छ । पछिल्लो समय केही खुले पनि अपेक्षित आम्दानी छैन । छ महिनादेखिको घरको भाडा तिर्न बाँकी नै छ । घरबेटीलाई र ऋण दिनेहरुलाई सम्झाउन निको गाह्रो भइरहेको छ यतिबेला । 

यस्तो बेला सरकारले केही सहयोग गरिदियोस् भन्ने टेकराज र दिनेश बताउनुहुन्छ ।

‘भाषणमा बिना ब्याज बिना धितो ऋण दिने भनेको सरकार अहिले कहाँ गयो ?’ टेकराज प्रश्न गर्नुहुन्छ ।

सरकारले विदेशमा काम गरेको प्रमाण भए सहजै बैंकबाट ऋण लिन सक्ने भनेर भन्दै आएको भए पनि आफूहरुलाई त्यसले पटक्कै नछोएको उहाँहरुको गुनासो छ । 

आफ्नो व्यवसाय देखाएपछि बैंकले ऋण पत्याउला भनेर सुरुमा सयकडा तीनका दरले ब्याज लिनुभयो । तर पछि बैंकमा ऋणको लागि जाँदा बैंकले बिना धितो ऋण नदिने बतायो । यतिसम्म कि आफ्नो जमिन धितोमा राखेर ऋण लिन खोज्दा पनि बैंकले नपत्याएको उहाँ बताउनुहुन्छ ।

‘आफूसँग गाउँमा भएको जमिन धितोमा राख्छु भन्दा पनि कुनै पनि बैंकले गाउँको जमिन धितोमा राख्न मानेनन्’, टेकराज तितो अनुभव सुनाउनुहुन्छ, ‘एउटा जिल्लाबाट ऋण लिएर अर्को जिल्लामा व्यवसाय गर्नको लागि बैंकबाट ऋण मिल्दैनसम्म भने ।’

वैदेशिक रोजगारीबाट फर्केर आफ्नै देशमा केही गरौं भन्ने युवाहरुको लागि सरकारको भाषण मात्र गर्ने र कार्यान्वयन नगर्ने नीतिले आफूजस्ता युवाहरु समस्यामा फस्ने गरेको टेकराजको भनाइ छ ।

‘स्वदेशमै केही गरौं भन्ने चाहना भएका युवाहरुलाई अनुदान दिन नसके पनि बिना धितो ऋण मात्रै दिए पनि धेरै राहत हुने थियो’, टेकराज भन्नुहुन्छ, ‘धितो राख्छु भन्दा त ऋण पाइँदैन, बिना व्याज ऋण कसरी दिन्छन् होला, विदेशबाट फर्केर नेपालमै व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने भनेको गफ मात्रै रैछ !’

बैंकले गाउँको जमिन धितोमा राख्न नमानेपछि आफूसँग भएको १२ पासको सर्टिफिकेट धितोमा राख्न खोजे पनि पाउनुभएन । सरकारले शैक्षिक प्रमाणपत्र राखेर ऋण पाउने निर्णय नगरेको होइन । तर यस्तो सरकारी सहयोगका कुरामा टेकराज र दिनेशजस्ता पहुँच नभएकाहरु समेटिंदैनन् ।

टेकराज विरक्त हुँदै भन्नुहुन्छ, ‘आफ्नो चिनजानको मान्छे नभएर पनि होला, कहीँ कतैबाट सहयोग नमिलेको ।’

फेरि विदेश नै  जाउँजस्तो लाग्छ 

पसिना बगाए पनि आफ्नै देशमा बगाउँ, स्वदेशमै केही गरौं भन्ने सोच भएकाहरुलाई सरकार मात्रै होइन समाजबाट पनि उपेक्षाको व्यहार सहनुपर्ने अवस्था रहेको टेकराजको भोगाइ छ । 

‘आफन्तहरु पनि जापान, अष्ट्रेलिया जान्छु भन्यो भने १०/१२ लाख रुपैयाँ बिना हिचकिचाहट ऋण दिन तयार हुन्छन्, तर आफ्नै देशमा केही व्यवसाय गर्छु भन्दा पैसा लुटेर भाग्ने हो जस्तो व्यवहार देखाउँछन्’, यो टेकराज र दिनेशले पछिल्लो एक वर्षमा भोगेको कटु सत्य हो ।

आफ्नै आफन्त पनि स्वदेशमा व्यवसाय गर्ने भनेपछि विश्वास मान्दैनन् । यो राज्य संयन्त्रले समाजमा स्थापना गरेको एक परिपाटी नै भइसक्यो । यस्तो परिपाटीको शिकार बनेका छन् टेकराज र दिनेश ।

‘आफ्नै देशमा केही गरेर खाने मन थियो, तर अहिले हामीसँग दुईवटा बाटो मात्र छ, कि फेरि त्यही खाडी जाने या आत्माहत्या गर्ने’ टेकराज निराश हुँदै भन्नुहुन्छ, ‘खाडी जान मन छैन, आत्महत्या गरौं भने बा आमालाई ऋणको बोझ र छोराछोरीको बिचल्ली सोच्नै सकिन्न ।’

बैंकहरुले कार्यान्वयन नै गर्दैन भने सरकारले त्यति मिठा आश्वासन किन दिएको भन्ने प्रश्न छ दिनेशको । 

‘सरकारका आश्वासन सुनेर विदेशको राम्रो जागिर छोडेर नेपाल आउँछौं, तर यहाँ आएर हामीलाई राज्य नै नभएको अनूभुति दिलाइन्छ’, दिनेश भन्नुहुन्छ, ‘स्वदेशमै केही गर्छु भनेर विदेशको रमझम छाडेर आएकाहरुलाई राज्यले निरुत्साहित नगरोस् ।’
 

अन्तिम अपडेट: असोज १३, २०७७

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

3 Comments

  • Chandra B Thapa

    Sept. 29, 2020, 11:59 a.m.

    मिलेर काम गर्न र तपाँईहरुको सपनामा मेरो पनि सपना थप्न चाहन्छु कृपया अघि बढौँ>>

  •  0 Reply
  • Chandra B Thapa

    Sept. 29, 2020, 11:53 a.m.

    युवा साथीहरुको जोश र सपना साकार पार्न म पनि यस्तो सपनामा साथ दिन मन छ र मलाई पनि तपाईँहरुसँग मिलेर काम गर्न मन छ ; कृपया सम्पर्क गर्न फेसबुकको ID नाम दिनुस् न है !

  •  0 Reply
  • Tekraj shahi

    Sept. 28, 2020, 4:31 p.m.

    यो अमुल्य पहलको लागि उज्यालो र बेदानन्द जोशीलाई हृदय देखि धन्यवाद, कतै बाट आसाको किरण राहत या सहयोग या भनौं बैंकले पत्याउला नपत्याउला, तर मनको बोझ धेरै कम भनेको अनुभुती भैरहेको छ।फेरि पनि बेदानन्द जोशीलाई धेरै धन्यवाद !

  •  0 Reply

तपाईको प्रतिक्रिया