सुदूरपश्चिम प्रदेशमा बैंक हाकिरहेकी एक्ली महिला बैंकर

 असोज १३, २०७७ मंगलबार ६:४०:४५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - जसले एउटा लक्ष्य लिएर सपना देख्छ, त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाब, मेहनत, दृढता, योग्यता, क्षमता पनि आवश्यक पर्छ । अहिले युवा पुस्ताको ठूलो जमात के गर्ने र कसो गर्ने भनेर अन्योलमा भौंतारिरहेको छ । तर युवा पुस्तामा त्यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो गन्तव्यको खाका कोरेर प्रेरणाको स्रोत पनि बनिरहेका छन्।

त्यही युवालाई प्रतिनिधित्व गर्ने एक सफल महिला बैंकर संगीता शर्मा चटौत पनि हुनुहुन्छ । जो अहिले एनसीसी बैंकको सुदूरपश्चिम प्रबन्धकको पदीय जिम्मेवारीमा हुनुहुन्छ । १६ वर्षदेखि अनवरत रुपमा खटिनुभएकी चटौत बैकिङ्ग क्षेत्रमा सुदूरपश्चिमका महिलाहरुका लागि उदाहरणीय हुनुहुन्छ । 

जुनियर असिस्टेन्टदेखि प्रदेश प्रबन्धकसम्मको यात्रा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) की प्रदेश प्रबन्धक संगीताले त्यही बैंकबाट करियर सुरु गर्नु भएको हो । स्नातकोत्तर गर्नुभएकी उहाँले एनसीसी बैंकमा जुनियर एसिस्टेन्ट पदबाट जागिर थाल्नु भएको थियो । सहायक पदबाट बैकिङ्ग सेवा सुरु गर्नुभएकी उहाँ निजी क्षेत्रको वाणिज्य बैंकमा सुदूरपश्चिममा प्रदेश प्रबन्धक तहमा पुग्ने पहिलो महिला हुनुहुन्छ।

प्रदेश प्रबन्धक सबै शाखाहरुलाई हेर्ने र नेतृत्व लिने पहिलो पोजिसनको काम हो । असिस्टेन्टदेखि बैंकको हरेक तह पार गरेर उहाँ एनसीसी बैंकमा प्रदेश प्रबन्धक  भएर काम गर्दै हुनुहुन्छ । 

साहस, लगनशीलता र इमानदारीले नेतृत्वका लागि सफलता प्रदान गर्ने उहाँको अनुभव छ । सुदूरपश्चिममा मुख्य नेतृत्व महिलाले सम्हालेको एनसीसी बैंकको सेवा प्रवाह र खराब ऋण असुली पनि उत्कृष्ट देखिँदै आएको छ ।

ग्राहकसँगको प्रत्यक्ष डिलिङ र केन्द्रीय कार्यालयले दिएको जिम्मेवारी पूरा गर्न पनि महिला सक्षम छन । ‘ग्राहकलाई कन्भिन्स गर्ने काम गाह्राे छ,’ उहाँले भन्नुभयो, ‘ग्राहकले सुरुमा महेन्द्रनगर शाखाको नेतृत्व हुँदा महिलाले पनि गर्न सक्छन् भनेर कुरा काटेका थिए तर गरे भने फरक पर्दैन भनेर देखाइ दिए ।’ 

धेरै समय काठमाण्डौमा बिताउनु भएकी उहाँ सुदूरपश्चिम फर्किएको पाँच वर्ष भएको छ । यो अवधिका धेरै वर्ष एनसीसी बैंकको महेन्द्रनगर शाखामा बिताउनुभयो । प्रदेश प्रबन्धक भएको एक वर्ष हुन लागेको छ । 

बैंकको उच्च व्यवस्थापनको विश्वासले जिम्मेवारी

उहाँ आफ्नो काममा दत्तचित्त भएर काम गर्नुहुन्छ । त्यही भएर उहाँलाई व्यवस्थापनले पनि जिम्मेवारी थप्दै लगेको छ । ‘सायद मेरो क्षमता बुझेरै व्यवस्थापनले जिम्मेवारी दिएको हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘आफ्नो टिओआरको काम समयमै सक्छु ।’ काम गर्दा टिमवर्कमा विश्वास गर्नुहुन्छ । ‘काम बाँडफाँड गर्दा आफूलाई सहज हुन्छ अरुले सिक्ने मौका पाउँछन्,’ उहाँले भन्नुभयो । 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) की नायब प्रमुख कार्यकारी अधिकृतमा पनि बन्दना पाठक महिला नै हुनुहुन्छ । अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नु भएकी पाठकले एनसीसी बैंकमा नायब प्रबन्धकबाट जागिर थाल्दा संगीताले पनि सँगै बैंकमा काम सुरु गर्नु भएको थियो । बन्दना पाठकको सफलताले पनि संगीतालाई काम गर्ने उर्जा र हौसला थपेको छ । 

बैंकको माथिल्लो तहमा रहेका सवै जनाको सहयोग सल्लाह र हौसलाले पनि काम गर्न उहाँ अझ हौसिनु भएको छ ।  त्यही भएर पनि संगीतालाई अझ काम गर्न हौसला थपिँदै गएको छ ।

उहाँलाई यहाँसम्म पुराउन प्रदेशका शाखाहरुमा रहेका शाखा प्रबन्धक र कर्मचारीहरुको टीम वर्कले काम गर्न अझ सहज भएको छ । अन्य कर्मचारीहरुकै कारण पनि आफूलाई बैंकको नयाँ नयाँ खुड्किलो चढ्न सहज भएको उहाँको भनाइ छ । 

बैंक जाँदा आउँदा बैंकर बन्ने चाहना

सानै उमेरमा आमासँग राष्ट्रिय वाणिज्य बैंक जाँदा आउँदा आफूले बैंकमा काम गर्ने पाए हुन्थ्यो भन्ने लागेको थियो उहाँलाई । बैंकमा काम गरेको उहाँलाई रमाइलो लाग्थ्यो । स्वयंसेविका आमासँग प्रायः बैंक आउने जाने क्रम बढी हुँदा उहाँलाई बैंकमा काम गर्ने चाहना थियो । त्यही चाहनाले संगीता आज सफल महिला बैंकर बन्नुभएको छ । 

सँगसँगै अघि बढिरहेको बैंकिङ करियर र पारिवारिक जीवन

काठमाण्डौमा जन्मिएर हुर्किनु भएकी र पढ्नु भएकी उहाँ अहिले प्रदेशको प्रबन्ध मात्रै नभएर सुदूरपश्चिमकी बुहारी पनि हुनुहुन्छ । स्नातकोत्तर पढ्दै गर्दा उहाँले कञ्चनपुरका व्यवसायी गणेश चटौतसँग प्रेम विवाह गर्नुभयो ।

उहाँका श्रीमान अहिले कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव र होटेल ओपेराका प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ सफल बैंकर मात्रै नभएर सफल बुहारी र असल आमाको रुपमा पनि सँगसँगै अघि बढिरहनु भएको छ । 

पारिवारिक जिम्मेवारीसँगै बैंकिङ जिम्मेवारी निभाउन अहिलेसम्म चुक्नु भएको छैनन् उहाँ ।  आजको यो अवस्थामा आइपुग्ने मुख्य प्रेरणाको स्रोत उहाँ जन्म दिने आमालाई ठान्नुहुन्छ । श्रीमानले पनि सधै उर्जा दिनुभयो । सासु ससुराले राम्रोसँग काम गर्न भनिरहनुभयो । घरको कामभन्दा पनि आफ्नो जागीरकै काममा ध्यान दिन सुझाई रहनुभयो ।

महिलालाई स्वतन्त्र हुन दिनुपर्छ

व्यक्तिको सफलतामा परिवारको पनि योगदान आवश्यक रहेको चटौत बताउनुहुन्छ । उहाँलाई यो पोजिसनमा पुग्न परिवारको साथ छ । ‘परिवारको सपोर्ट नभएको भए यो अवस्थामा आउने थिइनँ,’ उहाँले भन्नुभयो ।

चटौत आफ्नो काम गर्न परिवारबाट स्वतन्त्र हुनुहुन्छ । त्यसैले अरुलाई पनि स्वतन्त्र छोड्नुपर्ने उहाँ बताउनुहुन्छ । महिलाको सफलताका लागि छोरीलाई पनि छोरालाई जस्तै स्वतन्त्र छाड्नु पर्ने उहाँको धारणा छ ।

‘छोराहरु जति स्वतन्त्र हुन्छन् छोरीलाई पनि त्यही स्वतन्त्रता दिए प्रगति गर्न सक्छन्,’ उहाँले भन्नुभयो, ‘घरमा ढिला जाँदा कहाँ गयो, किन गयो भनेर छोरीहरुले धेरै प्रश्नको सामना गर्नुपर्छ,’ ‘ महिलालाई परिवारले यस्तो प्रश्न गर्नु हुँदैन ।’

राजधानीमै जन्मी हुर्किएकी उहाँको पालामा पनि कमै महिलाहरुले पढ्ने अवसर पाउँथे । यही कारण पनि अहिले हरेक क्षेत्रमा पुरुषको संख्या महिलाको भन्दा धेरै छ । पहिला अहिलेको जस्तो पढे लेखेका थिएनन् र प्रतिस्पर्धा पनि कम नै हुन्थ्यो ।

तर, त्यो बेला आफैसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो भन्नुहुन्छ संगीता ।  उहाँ भन्नुहुन्छ -‘मैले आफैँसँग प्रतिस्पर्धा गरेँ । यति लामो बैंकिङ करियरको यात्रामा म कहिले पनि विचलित भइँन । एकपछि अर्काे खुड्किलो पार गर्दै अगाडि बढेँ ।’ 

महिला भएर हाेइन क्षमता भएर अवसर पाउनुपर्छ

चटौतले ‘विना परिश्रम फल त्यसै फल्दैन, परिश्रम निरन्तर गरिरहनुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्नुभयो । त्यही आदर्शलाई मूल मन्त्र बनाएर अघि बढ्दा उहाँलाई सफलताको सिँढी चढ्न सघाउ पुगेको छ । सबैतिर ३३ प्रतिशत महिला सहभागिताको कुरा भैरहेका बेला बैंकिङ क्षेत्रको उच्च पदमा महिलाको किन खडेरी छ त ? त्यो ‘स्पेस’लाई पूरा गर्ने उहाँको दृढता छ । 

महिला भएकै कारण मात्र अवसर पाउनु पर्छ भन्नेमा उहाँ विश्वास गर्नु हुन्न । तर, आफ्नो जिम्मेवारीलाई सफलताका साथ पूरा गरे अवसरका ढोका खुल्नेमा आशावादी हुनुहुन्छ । चटौत अहिलेको प्रतिस्पर्धी बजारमा उच्च पदमा पुग्न सामना गर्नुपर्ने चुनौतीका बारेमा भने सचेत हुनुहुन्छ । 

‘चाहेर मात्र पद प्राप्त हुँदैन,’ उहाँले भन्नुभयो, ‘पदीय जिम्मेवारी बहन गर्न सक्ने क्षमता पनि विकास गर्नुपर्छ ।’ सन् २००४ मा बैंकमा करियर सुरु गर्नुभएकी उहाँले आत्मविश्वास र मेहनतले नै सफलता प्राप्त गरेको बताउनुहुन्छ । स्वदेशमै अध्ययनसँगै करियरमा पिकअप लिन सकिन्छ भन्ने आत्मविश्वासले यतै काम गर्नुभयो । देशमा बेरोजगारी समस्या छ । तर, बैंकिङ क्षेत्रमा अहिले पनि दक्षजनशक्तिको अभाव रहेको उनको अनुभव छ । 

‘कर्मचारी नियुक्ति गर्दा अन्तर्वार्ताको क्रममा दक्षजनशक्तिको अभाव देखिन्छ,’ उहाँले भन्नुभयो, ‘विषयवस्तुमा नि:पूर्णता पाइँदैन ।’ बैंकिङ क्षेत्रमा सीप र ज्ञान भएको जनशक्ति आवश्यक रहेको बताउनुहुन्छ । ‘किताबी ज्ञानको योग्यता मात्र नभएर बजारमा प्रतिस्पर्धी क्षमताको जनशक्ति आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘पाठ्यक्रम पढेर मात्र पुग्दैन ।’ देशको राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्म महिला पुगे पनि बैंकिङ क्षेत्रमा महिलाको संख्या कम छ । 

बैंक क्षेत्रका उच्च पदमा महिला पुगे पनि बैंकिङ क्षेत्रको उच्च पदमा महिला नपुग्नुमा समाजको ‘माइन्ड सेट’ पनि कारक रहेको उहाँको बुझाइ छ । आफ्नो क्षमताले आउँदा पनि आफै आएको होइन भनेर हेर्ने प्रचलन रहेको उहाँले बताउनुभयो । ‘महिलालाई हेर्ने समाजको माइण्ड सेट पनि नकारात्मक छ,’ उहाँले भन्नुभयो, ‘समाजको माइन्ड सेट परिवर्तन गर्नुपर्छ ।’ 

‘धेरै महिला परिवार र समाजबाट बाँधिएका छन्,’ उहाँले भन्नुभयो, ‘वर्किङ स्टेसनमा पनि महिलाले त गर्न सक्ला र ? भन्ने टेन्ड्र पनि छ,  यसले मनोबल घटाउँछ ।’ तर उहाँ खुल्ला प्रतिस्पर्धामै विश्वास गर्नुहुन्छ । ‘आरक्षणमै भर पर्नु हुँदैन,’ उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नुपर्छ ।’ बैंकको जुनियर पोजिसमा महिला सहभागिता धेरै राम्रो भए पनि सिनियर पोजिसनमा संख्या कम रहेको उहाँले बताउनुभयो ।

बैंक कोर बैंकिङ मात्रै नभएर मल्टिपल सेक्टर

बैंकिङ क्षेत्रमा प्रवेश गरेकी चटौत अहिले यही क्षेत्रमा जमेर काम गरिरहनु भएको छ । ‘बैंकिङ करियरमा प्रवेश गरेपछि फरक पाएँ,’ उहाँले भन्नुभयो, ‘यहाँ कोर बैंकिङ मात्रै नभए मल्टीपल सेक्टर रहेछ । 

‘सायद बैंकिङ क्षेत्रसँग नजोडिने कोही पनि छैन,’ उहाँले भन्नुभयो, ‘वित्तीय आवश्यकता नभएको कोही हुँदैन । त्यसैले सबै क्षेत्रका मानिस कतै न कतैबाट जोडिन आइपुग्छन् ।’ कामको बोझ धेरै भएकाले पर्सनल लाइफ भने कम भएको उहाँले बताउनुभयो ।

‘बैंकिङ क्षेत्रमा पनि नयाँ नयाँ इस्यु आइरहेको हुन्छ,’ उहाँले भन्नुभयो, ‘सिक्दै गर्दै अघि बढ्न आनन्द आउँछ ।’ उहाँमा सिकाइको भोक छ । त्यो भोक पूरा गर्न तल्लीन हुनुहुन्छ । ‘नयाँ कुरा सिक्न मन लाग्छ,’ उहाँले भन्नुभयो, ‘त्यो अवसर पाएको छु ।’

प्रतिस्पर्धाको युगमा पुरुष सरह काम गर्न सक्छन महिला

पछिल्लो समय महिलाहरु देशका उच्च तहमा रहेर काम गरिरहेका छन् । माथिल्लो तहमा रहेर काम गर्ने मध्यमै पर्नुहुन्छ उहाँ पनि । सामाजिक कार्यमा योगदान पुर्याउँदै आउनु भएकी संगीता भविष्यमा नेपाली महिलाहरु पुरुष सरह काम गर्न सक्ने बताउनुहुन्छ । अहिलेको पिँढीमा धैर्यता कम देख्ने उहाँ अध्ययनमा अगाडि भएकाले प्रतिस्पर्धाको युग सुरु भएको बताउनुहुन्छ । 

यसले हरेक क्षेत्रमा दरिएका र खरिएका महिलाहरुको सूची भविष्यमा निकै लामो हुने दृढता व्यक्त गर्नुभयो । उहाँ बैंकिङ्ग क्षेत्रमा करियर बनाउने सपना बोकेका युवतीहरुलाई मेहनत, निरन्तरता र बैंकिङ क्षेत्रको अध्ययन राम्ररी गरेर आउनेले निकै ठूलो सफलता हासिल गर्न सक्ने सल्लाह दिनुहुन्छ ।

जीवनमा आइपर्ने चुनौतीहरुको सामना गर्दै र करियरमा केन्द्रीत भएर अगाडि बढ्नेले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्ने संगीताको तर्क छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया