बाग्लुङ बाढी पहिरोमा परेका १६ जना अझै बेपत्ता, खोजी कार्य रोकियो

 असोज १३, २०७७ मंगलबार १५:५४:३५ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ – बाग्लुङका बाढी पहिरोमा परेका १६ जना अझै हराइरहेका छन् । गएको भदौ १७ गते भुजी खोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका ९ का १५ जना हराइरहेका छन् । त्यसअघि साउन १० गते बाग्लुङ नगरपालिका १ मा खसेको पहिरोले टिप्पर पुर्दा हराएका चालक निर्मल पुनको पनि अवस्था थाहा हुन सकेको छैन । 

एक महिना पुग्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजी गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौँसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना कम रहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भएकाका परिवारलाई पनि मृतकसरह राहत दिलाउन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी पहिरोमा बेपत्ताको खोजी र स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ । सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिएको थियो ।

यस्तै एउटै परिवारमा अन्य सदस्यको पनि ज्यान गएमा थप एक लाखका दरले राहत उपलब्ध हुने गरेको छ । बेपत्ता भएका परिवारलाई पनि तत्कालीन राहतस्वरुप १५ हजार रुपैयाँ दिने गरिएको छ ।

यो वर्ष बाढी पहिरोका कारण ढोरपाटनसहित जैमिनी नगरपालिका, निसी खोला, तमान खोला, तारा खोला, बडिगाड, काठेखोला गाउँपालिकालगायत क्षेत्रमा जनधनको क्षति भएको छ । भुजी खोलाको बाढीमा सबैभन्दा धेरै २२ जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया