एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण  बाँकी

 असोज १६, २०७७ शुक्रबार १२:५४:५९ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ  एकान्तकुनाकाे यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ ।

लकडाउनमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो । कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ ।

लकडाउनकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ ।

कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, 'हामीले स्वास्थ्य सावधानी अपनाउन लगाउनेभन्दा सेवाग्राही आफैँ पनि सजग हुनुपर्छ ।'

सरकारले गएकाे चैतदेखि जारी लकडाउन असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र अहिलेका लागि स्थगन गरेको छ ।

कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन छ । उहाँले भन्नुभयो, 'प्रदेश सरकारले निर्णय नै गरेर नखुलाउँदासम्म यो सेवा तत्काल खुल्दैन ।'

काठमाण्डौ उपत्यकालगायत प्रदेशभरका विभिन्न जिल्लामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेको उहाँले जानकारी दिनुभयो । केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो ।

काठमाण्डौ उपत्यकामा अहिले चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी सेवाग्राहीको भीड भने एकान्तकुनामा रहेकाे कार्यालयमा नै देखिन्छ । अहिले पनि यहाँ खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन भएको देखिन्छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया