बाग्लुङ : ढोरपाटनका बाढी प्रभावितका लागि जुट्यो डेढ करोड राहत

 असोज १७, २०७७ शनिबार १२:३७:९ | रासस
unn.prixa.net

बाग्लुङ - ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा अहिलेसम्म एक करोड ६५ लाख रुपैयाँ सहयोग जुटेको छ ।

राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो । कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनर्निर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । 

‘राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ’, उहाँले भन्नुभयो, ‘सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिवद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ ।’ उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत २७ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्लुङले पनि १९ लाख बढी राहत रकम प्रदान गरेको थियो । बिहीबार मात्र प्रभु बैंकले  पाँच लाख रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरप्रमुख नेपालीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि देश-विदेशमा राहत अभियान चलाइएको छ । कतिपय व्यक्ति, संस्थाले नगरपालिकाको कोषमा जम्मा नगरी बाढीग्रस्त ठाउँमै पुगेर राहत बाँडिरहेका छन् ।

गएको भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेर २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् भने ढोरपाटन नगरपालिका-९, ८ र ७ का सयौँ परिवार घरबारबिहिन बनेका छन् ।सडक, पुल, खानेपानी, सिँचाइ, लघु-जलविद्युत्, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइलगायत कैयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् ।

यसअघि गृहमन्त्री रामबहादुर थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक योजना विकास मन्त्री रामशरण बस्नेतलगायतले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया