प्रदेश ५ काे राजधानी भालुवाङमै हुनुपर्ने पक्षमा कांग्रेसका १० नेता

 असोज १९, २०७७ सोमबार १९:५१:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाली कांग्रेसका १० जना नेताले ५ नम्बर प्रदेशको राजधानी भालुवाङ आसपासको देउखुरी उपत्यकालाई तोकेको भन्दै प्रदेश सरकारको निर्णयको स्वागत गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिमा रहेका प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने बालकृष्ण खाँड र चन्द्र भण्डारी बाहेकका सबै केन्द्रीय सदस्य भालुवाङ राजधानीको पक्षमा देखिएका हुन् । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको नेतृत्वमा कपिलवस्तु पश्चिमका १० जना नेताले विज्ञप्ति निकालेर प्रस्तावकाे समर्थन गरेका हुन् । 

केन्द्रीय सदस्य गिरी किशोरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, डा. गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी र कृष्ण किशोर घिमिरेले प्रदेश केन्द्र भालुवाङ तोक्ने निर्णय अत्यन्त उपयुक्त भएको बताएका छन् । 

प्रतिनिधि सभा सांसद समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम र पूर्व राज्यमन्त्री हुनु भइसकेका रोल्पाका पूर्वसभापति अमरसिंह पुनले पनि भालुवाङको नाममा आफूहरुको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

संयुक्त विज्ञप्ति निकालेर उनीहरुले सुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनुपर्छ भनेको स्मरण गराउँदै आएकोमा त्यही ठाउँलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश ५ सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक स्राेतकाे न्यायिक वितरण, जनमतको कदर र सङ्घीयताको मर्म र भावनाअनुसार सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत अत्यन्त उपयुक्त रहेको भन्दै देउखुरीको भालुवाङलाई प्रदेशको राजधानी बनाउने प्रस्तावमा पूर्ण समर्थन रहेको उनीहरुले जनाएका छन् ।

यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाइ जनतालाई उत्तेजित बनाउने कार्य कहीँ कतैबाट नगराउन पनि उनीहरुकाे आग्रह छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया