किरिया सकेर स्वास्थ्य चौकीमा बास, लगाउने लुगा र खाने रासन पनि छैन !

 असोज २१, २०७७ बुधबार १२:३४:३३ | देव पचभैया
unn.prixa.net

पाल्पा – गएको ८ गते रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा ४ घर पुरिँदा ज्यान गुमाएका ६ जनाको परिवारले मंगलबार मृत्यु संस्कार अर्थात् किरिया सकेका छन् ।

आइतबार फोक्सिङ्कोटमा पुग्दा छिमेकीहरुले पहिरोले पुरेका भाँडाकुडा र सरसामानहरु निकाल्न सहयोग गरिरहेका थिए । घर अगाडि राखिएको सुलीमा भेटिएका केही मकै टिनमाथि सुकाइएको थियो । घरका झ्याल ढोकालाई एकातिर सारिँदै थियो । 

स्थानीय ६० वर्षीय हुमबहादुर गाहा, उहाँकी श्रीमती ५० वर्षीया धनिसरा, कान्छी छोरी वर्ष १७ की कृष्णामाया र नातिनीहरु १४ वर्षीया खुमिसरा र ८ वर्षीया लक्ष्मी गाहाको पहिरोले ज्यान लिएको हो ।  त्यही दिन वडा नम्बर २ कै सुरुङ्डाँडा निवासी २७ वर्षीया मोतीसरा गाहाको समेत पहिरोले घर च्यापिँदा ज्यान गएको थियो ।

घरै पहिरोले बगाएपछि हुमबहादुरका ३ छोरा र बुहारीहरु गाउँकै दाजुभाइ गाहा थरको घर खोजेर किरियामा बसे । 

पाँच जनाको एकै चिहान बनाएको असोजे झरीले  १८ बाख्रा र ३ वटा भैँसी समेत पुरिएकाले अझै पनि गन्ध आइरहेको थियो ।

‘मरेको लास निकाल्न त दुई दिन लाग्यो, बाख्रा र भैँसी निकाल्न सकिएन, त्यहीँ पुरियो’, स्थानीय  धनबहादुर सारुले भन्नुभयो, ‘पहिरोले गाउँलेलाई समेत उठीबास बनायो ।’

पीडित धेरैको मनमा अबका दिन कसरी काट्ने भन्ने चिन्ता छ । भएको अनाज, लुगाफाटा सबै पहिरोमा पुरिएपछि गास, बास र कपासको चिन्ताले छोएको हो । 

‘किरिया त गरिँदैछ, सकेपछि कहाँ बस्ने, के खाने, के लाउने केही टुङ्गो छैन’ हुमबहादुरका छोरा मनबहादुरले चिन्ता पोख्नुभयो, ‘छिमेकी सबैको घर जोखिममा रहेकाले माग्न र भन्न जाने अवस्था पनि छैन ।’

मनबहादुरले यसो भनिरहँदा उहाँका भाइहरु वीर र हेमबहादुरका आँखा रसाए ।  बुहारी भागीमाया र चेतनाले मनबहादुरलाई नरुन भनिरहे, तर आफू भने डाँको छोडेर रोएपछि छिमेकी महिलाहरुले पनि आँसु पुछ्न सुरु गरे । 

तीन दिनसम्म परेको पानीले गाउँका १५ घर जोखिममा पारेको छ ।  घर माथि र तल समेत पहिरो गएको छ । धाँजा फाटेको छ । बस्ने अवस्था नभएपछि उनीहरु आफन्त र गाउँकै स्वास्थ्य चौकीमा रात कटाइरहेका छन् । 

‘एकैपटक आपत आइलाग्यो’, स्थानीय अगुवा  टंकबहादुर सारुले भन्नुभयो, ‘बाटो छैन, गाउँमा गाडी नआएको ३ महिला भयो, खाद्यान्न सकिन थालिसक्यो ।’

बाटो नहुँदा पनि सेना प्रहरी तत्काल घटनास्थलमा आउन नपाउँदा ५ जनाकै ज्यान गएको मृतक खुमीसरा आलेकी आमा मनसरीले  गुनासो गर्नुभयो ।

'बिहानै घटेको घटना, अर्को दिन बेलुकी मात्रै खोज्न सकियो', खुमिसराले पटुकीले आँसु पुछ्दै भन्नुभयो, ‘बेलैमा खोजेको भए सबैलाई जिउँदै फेला पार्थे ।’ 

निरन्तर पानी र पहिरो गइरहेपछि गाउँलेले पनि घटना भएको दिन केही गर्न सकेनन् । भोलिपल्ट दिउँसो पुगेको सेना र प्रहरीले बेलुकी मात्रै ५ जनाको लास भेटाएको थियो । पीडितहरु अहिले रातमा छिमेकी र स्वास्थ्य चौकीमा बस्छन् दिनमा भने मन थाम्न घर जाने गरेका छन् ।  

‘दिनमा घर आउन मन लाग्छ, गाईबस्तु कराउँछन्, झन् रुन मात्रै आउँछ’, ३७ वर्षीया सुमित्रा आलेले भन्नुभयो, ‘दुःखले बनाएको घर, गोठ छोड्न सकिएन, जाने ठाउँ पनि कहीँ छैन  ।’

अहिले बस्ती सार्ने कुरा भइरहेको छ । नयाँ ठाउँमा बस्ती सारेमा आफूलाई ठूलो राहत मिल्ने स्थानीयहरुको भनाइ छ । तर कहिले सार्ने, कहाँ सार्ने केही निश्चित छैन ।

‘पुरानो घरमा बस्ने अवस्था छैन, नयाँ ठाउँ कहाँ राख्ने अन्योलमा छौँ’ वडा अध्यक्ष उमान सिंङ सारुले भन्नुभयो, ‘गाउँपालिकासँग बस्ती सार्ने बारेमा कुराकानी भैरहेको छ ।’ 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया