बेहोस भएपछि कसरी अस्पताल जानु ? ‘सरकारले सचेत पार्न खोजेको शैली नै ठिक भएन’

 असोज २२, २०७७ बिहिबार १३:३५:५५ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक दिन प्रेस ब्रिफिङ्ग गर्दै आएको छ । नियमित प्रेस ब्रिफिङ्गमा स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको सङ्ख्या, सङ्क्रमणबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदनासँगै चेतनामूलक जानकारी पनि दिने गर्छ । 

यसै क्रममा बुधबार स्वास्थ्य मन्त्रालयले सास फेर्न गाह्रो भए, बेहोस भएमा वा होला जस्तो भएमा मात्रै अस्पताल जानु भन्यो । मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल नजान अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि बिरामी बेहोस भएमा वा होला जस्तो भएमा, सास फेर्न गाह्रो भएमा, पिसाब बन्द भएमा वा कम भएमा मात्रै अस्पताल जानुहोस् ।’ 

मन्त्रालयको यस्तो आग्रहपछि सामाजिक सञ्जालमा हाँसीमजाक र ठट्टा मात्रै होइन, चर्को आलोचना पनि भइरहेको छ । कोरोनाको लक्षण देखिएर घरमै बसेको सङ्क्रमित बेहोस भइहालेमा कसरी अस्पताल पुग्ने समस्या छ । परिवारका सदस्य र आफन्तसँगै भए त अस्पताल पुर्‍याउलान् । तर एक्लो भए बेहोसमा कसरी अस्पताल जाने ? सरकारले कतै बेहोसमै यस्तो आग्रह गरेको त होइन ? धेरैले प्रश्न उठाएका छन् । 

जनस्वास्थ्य विज्ञ तथा डाक्टरहरुले पनि नागरिकलाई सचेत पार्न स्वास्थ्य मन्त्रालयले उपयुक्त तरिका नै नपुर्‍याएकाे भन्दै आलोचना गरेका छन् । सरकारको काम नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्नेमा खेलबाड गरेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको प्रतिक्रिया छ ।

सरकारको शैली नै ठिक भएन : डा. बाबुराम मरासिनी

कोरोना सङक्रमण होस् या अरु रोगले ग्रस्त भइसकेको बिरामीलाई आफ्नो ज्यान खतरामा परेको अनुभव उसैलाई थाहा हुन्छ । बेहोस हुनु मात्रै या होला जस्तो हुनु मात्रै कोरोनाको जटिल अवस्था होइन । त्यसलाई आधार मानेर अस्पताल जानु नभनेर अरु गम्भीर स्वास्थ्य समस्या र लक्षणलाई प्राथमिकतामा राखेर सचेत बनाउनुपर्नेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीको जोड छ । रुघाखोकी, उच्च ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, स्वाद या गन्ध थाहा नपाउनु जस्ता लक्षण देखिए अस्पताल गएर जाँच गरेपछि कोरोना सङक्रमण हो या होइन भनेर ढुक्क हुन सकिन्छ । 

ती लक्षण लिएर अस्पताल पुगेको सङ्क्रमितको जाँचपछिको अवस्थाबारे बुझाएर थप उपचार या घरमै बस्न सक्ने सल्लाह दिनुपर्ने डाक्टर मरासिनी बताउनुहुन्छ । ‘उच्च ज्वरो एउटा लक्षण हो । ज्वरो उच्च आएमा निमोनियाको सङ्केत गर्छ । अथवा अरु कुनै लक्षण देखिएमा अस्पताल जानु भन्नुपर्थ्याे’, उहाँले भन्नुभयो, ‘आफूलाई अप्ठ्यारो भइरहेको बिरामीले अनुभव गर्न सक्छ । त्यस्तो खतराको लक्षण वा सङ्केत पाइहाले तत्काल सम्बन्धित स्वास्थ्य संस्था वा अस्पतालमा जान अनुरोध गर्नुपर्थ्याे तर सरकारले नागरिकलाई सचेत बनाउने शैली नै ठिक भएन ।’

स्वास्थ्यसम्बन्धी मौलिक हकको बेवास्ता

नेपालको संविधानले हरेक नेपालीलाई स्वास्थ्यसम्बन्धी मौलिक हक दिएको छ । हरेक नेपालीले आफ्नो स्वास्थ्य उपचारको जानकारी लिन पाउनुपर्छ । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा, सहज पहुँच र सर्वसुलभ उपचार प्राप्त गर्ने अधिकार हुन्छ । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आवश्यक तयारी नगरि अस्पताल नआउनु भन्नु गलत भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर मरासिनीको भनाइ छ ।

‘कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा सरकारको तयारी नै पुगेको छैन’, डाक्टर मरासिनी भन्नुहुन्छ, ‘अलिअलि सङ्क्रमण देखिएला, यत्तिकैमा रोकिन्छ भन्ने सरकारको बुझाइ थियो, जुन अहिले सङ्क्रमण ह्वात्तै बढेपछि गलत साबित भयो ।’

नागरिकलाई जाँचमा सहज हुने गरी क्षमता बढाउन जोड

डाक्टर मरासिनीका अनुसार सरकारले गाउँगाउँमा भएका स्वास्थ्य चौकीको क्षमता बढाउन सक्थ्यो । हरेक जिल्ला अस्पतालमा बेड थप्न सक्थ्यो, ५० बेड भएका अस्पतालको क्षमता बढाएर दोब्बर, तेब्बर गर्न सक्थ्यो । अझै पनि त्यो अवसर बाँकी नै छ । सरकारले भइरहेको स्रोत साधनबाट स्वास्थ्यमा पहुँच र क्षमता बढाउने काम गर्न सक्छ । कोरोना सङ्क्रमण भइहाले वा लक्षण देखिए नागरिक स्वास्थ्य जाँच तथा उपचार गर्न जान सक्छन् ।

कोरोना महामारी नियन्त्रण गर्न बनाएका केन्द्र वा क्षमता बढाएका अस्पताललाई महामारी रोकिएपछि कसैलाई प्रसूति केन्द्र, कुनैलाई ज्येष्ठ नागरिक हेरचाह केन्द्र, सडक छेउछाउ भएका दुर्घटनाका घाइते या प्राथमिक उपचार केन्द्रका रुपमा प्रयोग गर्न सकिन्छ । यसले सरकारको कोरोना नियन्त्रण तथा रोकथाममा गरेको काम पनि देखिने अनि नागरिकले मौलिक हकका रुपमा रहेको स्वास्थ्य उपचार पनि सहजै लिन सक्ने डाक्टर मरासिनीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया