कुलमान बाहिरिएपछि बिजुली जाने समस्या बढ्यो, दोष मुसाको कि कर्मचारीको ?

भारतबाट दैनिक दुई सय ५० मेगावाट बिजुली आयात हुँदै

 असोज २३, २०७७ शुक्रबार १०:३:४९ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - पूर्व अर्थसचिव रामेश्वर खनालले बुधबार ट्वीटमार्फत गुनासो पोख्नुभयो, ‘कता पस्यो मुसा फेरि । बिजुली गएर बित्यासै पार्यो ।’

ट्वीटरमै सुदर्शन काफ्लेले लेख्नुभयो, ‘समय-समयमा अघोषित रुपमा लोडसेडिङ गराइ जनतालाई पहिले झैं १८ घन्टे लोडसेडिङ भोग्न बाध्य पारेर जेनेरेटर, सोलार, ब्याट्री, इनभर्टर जस्ता सामग्रीको व्यापार बढाएर मुनाफाको रुपमा कमिसन भित्र्याउन खोजिएको नै हो त ?’

प्रभाव राज लेख्नुहुन्छ, ‘बिजुली नगएको त दिनै हुँदैन हिजोआज । जहिले बिजुली जान्छ । आज त दिनैभरि नै बिजुली गयो । अब त आयो होला भनेको, झिलिक्क आयो, झ्याप्प गयो । कुलमानसँगै बिजुली पनि पछिपछि जान थाल्यो ।’

यी त केही गुनासा र आक्रोश मात्रै हुन् । हिजो आज झ्याप्प झ्याप्प बत्ती जाने समस्याले नागरिक हैरान छन् । साँझ बिहान त झन् पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा बत्ती गयो भन्ने गुनासो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न पाइन्छ । प्राधिकरणले मुसाका कारण प्राविधिक समस्या भएको बताए पनि यस्तो समस्या कम हुनुको सट्टा झन् बढिरहेको छ ।

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकबाट भदौ ३१ गते बिदा भएपछि यस्ता गुनासा बढेका छन् । घिसिङ पदमा रहेको बेला पनि प्राविधिक कारणले भन्दै बिजुली जान्थ्यो । तर केहीबेरमै आइहाल्थ्यो, बिजुली जानुको कारणबारे सम्बन्धित क्षेत्रको नो लाइट युनिटमा फोन गरेर जानकारी पाइन्थ्यो । तर अहिले नो लाइटले ‘रेस्पोन्स’ नै नगरेको उपभोक्ताको गुनासो छ।

प्राधिकरण भन्छ : बिजुली नपुगेर बत्ती गएको होइन, भारतबाट समेत आयात हुँदै

बत्ती गएको गयै गर्छ भनेर नागरिकले गुनासो गरिरहँदा जहिल्यै पनि प्राधिकरणको जवाफ हुन्छ - बिजुली नपुगेर काट्नु परेको होइन । प्राविधिक समस्या आयो । 

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार अहिले सबैभन्दा धेरै  खपत हुने समय अर्थात पीक आवरमा १३ सय १० मेगावाटसम्म बिजुलीको माग छ । १३ सय १० मेगावाट माग पुर्याउन प्राधिकरणलाई कुनै गाह्रो नभएको उहाँको भनाइ छ । 

नेपाल विद्युत प्राधिकरणले बनाएका आयोजनाबाट पाँच सय ८२ मेगावाट विद्युत उत्पादन हुन्छ । निजी क्षेत्रका आयोजनाबाट सात सय १० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । तर यी आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदैनन् । त्यसैले औसतमा देश भित्रैबाट अहिले एक हजार मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको छ । 

पीक आवरमा माग पूरा गर्न भारतबाट दुई सय ५० मेगावाट बिजुली आयात भइरहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाको भनाइ छ । आइतबार भारतबाट दुई सय १७  मेगावाट बिजुली आयात भएको थियो, सोमबार दुई सय ३४ र मंगलबार दुई सय ४५ मेगावाट बिजुली आयात भएको थियो ।

‘हाम्रो अधिकतम माग अहिले १३ सय १० मेगावाटको हाराहारीमा रहेको छ, त्यति माग पूरा गर्न हामीलाई खासै समस्या छैन, बत्ती नपुगेको होइन, प्राविधिक कारणले मात्रै समस्या आएको हो’ प्रवक्ता तिम्सिनाले भन्नुभयो । 

‘कुलमान हिँडेपछि कर्मचारीले टेर्नै छाडे’

प्राविधिक कारणले गएको बत्ती आउन किन घण्टौँ लाग्छ त ? यो प्रश्नले नेपाल विद्युत प्राधिकरण र उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका पदाधिकारी हैरान छन् । दुवै निकायको उच्च स्रोतले उज्यालोलाई भन्यो, ‘विद्युत प्राधिकरणबाट कुलमान बाहिरिएपछि कर्मचारीले टेर्नै छाडे ।’

नागरिकले अघोषित लोडसेडिङको झल्को दिनेगरी गुनासो गरिरहेको विषयमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई मन्त्रालयमा बोलाएर मन्त्री वर्षमान पुनले पटक पटक निर्देशन पनि दिनुभएको छ ।  तर बत्ती जाने समस्या समाधान भएको छैन । 

‘मन्त्रीले कोइराला जीलाई पटक-पटक बोलाएर निर्देशन दिनुभएको छ, कोइराला पनि बत्ती नजाओस् भनेर खटिरहेको देखिन्छ, तर उहाँलाई कर्मचारीले पटक्कै नटेर्ने रहेछन्’ मन्त्रालय स्रोतले उज्यालोसँग भन्यो, ‘एउटै समस्या कुलमानजी हुँदा एक घण्टामा समाधान हुन्थ्यो भने अहिले त्यही समस्या तीन घन्टामा पनि सम्पन्न हुँदैन, यो गम्भीर विषय हो ।’

यही जिज्ञासा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई सोध्दा उहाँले यो विषयमा धेरै सत्यता नभएको बताउनुभयो । ‘कर्मचारीले टेरेनन् भन्ने कुरामा धेरै सत्यता छैन, म व्यक्तिभन्दा पनि प्राधिकरणको कार्यकारी निर्देशकले दिएको निर्देशन भन्ने हिसाबले बुझ्नुपर्छ, सबै कर्मचारीको सहयोग छ भन्ने विश्वासमा छु’ कोइरालाले भन्नुभयो । 

तर कर्मचारीले चुस्त भएर काम नगर्ने, ग्राहकको गुनासो नसुन्ने, के कारणले बिजुली गएको हो भनेर जानकारी नदिने लगायतका समस्या देखिएका छन् । ‘कर्मचारीले पहिले जस्तो जाँगरका साथ काम नगरेकै कारण अहिले समस्या बढेको कुरामा मन्त्री कन्भिन्स हुनुहुन्छ, उहाँले निर्देशन दिइरहनुभएको छ, तर समस्या समाधान भएको छैन, यो कुराले चिन्तित बनाएको छ’ मन्त्री पुन नजिकका एक कर्मचारीले भने । 

‘हिजो पनि समस्या थियो, अहिले धेरै हल्ला भयो’

विद्युत प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका लेखनाथ कोइराला प्राविधिक कारणले बिजुली पहिले पनि जाने गरेको तर अहिले हल्ला धेरै भएको बताउनुहुन्छ । धेरै ठाउँमा अहिले पनि बिजुली वितरणका पुरानै संरचना रहेकाले प्राविधिक समस्या आइरहेको उहाँको भनाइ छ । 

‘देशैभरि बत्ती गएको छैन, तर कतै-कतै प्राविधिक समस्या आउँछ, केबल जल्ने, जम्पर जल्ने र पड्कने, ट्रान्सफर्मरको फ्युज जाने, इन्सुलेटर पड्कने, हुरी चल्दा रुखको हाँगाले तार छुँदा लाइन फल्ट हुने, सडकमा गाडीले पोललाई ठक्कर दिएर ढाल्ने जस्ता समस्या र  ग्राहकलाई थ्रि फेज लाइन दिने क्रममा तथा मर्मतको लागि पनि बिजुली काट्नुपर्ने हुन्छ, यसलाई लोडसेडिङको रुपमा बुझिदिन भएन’ कोइरालाले भन्नुभयो । 

पहिले पनि प्राविधिक कारणले बत्ती जान्थ्यो तर छिटै आउँथ्यो, अहिले किन ढिला हुन्छ भन्ने ग्राहकको गुनासोलाई के भन्नुहुन्छ भन्ने उज्यालो अनलाइनको प्रश्नमा निमित्त कार्यकारी निर्देशक कोइरालाले भन्नुभयो, ‘ग्राहकले सकभर एक सेकेन्ड पनि बत्ती नजाओस् भन्ने चाहनुहुन्छ, गए पनि तत्काल आइहालोस् भन्नुहुन्छ, हामीलाई पनि सकभर छिटै नै बत्ती दिऔं भन्ने त लाग्छ, तर कहिलेकाहीँ प्राविधिक काममा ढिलाइ  हुन्छ ।’

यो समस्या विगतदेखि अहिलेसम्म रहेको र भोलि पनि रहने उहाँको भनाइ छ । ‘यो समस्या हिजो पनि थियो, आज पनि छ, हामी पुरै स्मार्ट सिस्टममा नगएसम्म भोलि पनि रहन्छ, सुधार गर्दै जानुपर्छ’ कोइरालाले भन्नुभयो । 

देशैभरिका प्रमुखलाई निर्देशन

बत्ती जाने क्रम बढेको, प्राधिकरणले उपलब्ध गराएको नो लाइटको नम्बर नउठेको तथा प्राधिकरणको सेवाप्रति नागरिकको गुनासो बढ्दै गएपछि निमित्त कार्यकारी निर्देशक कोइरालाले देशैभरिका कार्यालय प्रमुखलाई समस्या समाधानको लागि निर्देशन दिएको जानकारी दिनुभएको छ । 

‘समस्या नआउने होइन आउँछन्, तर समस्या तत्कालै समाधान हुने गरी काम हुनुपर्यो, प्राधिकरणका सबै नो लाइटको फोन चौबीसै घन्टा उठ्नुपर्यो, उपभोक्ताले गुनासो गर्ने ठाउँ नराख्नुहोस् भनेर मैले भिडियाे बैठकमार्फत निर्देशन दिइसकेको छु’ कोइरालाले भन्नुभयो । सबैतिर स्पष्ट निर्देशन दिइसकेकाले अब काम थप चुस्त हुने उहाँको दाबी छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा बसेर काम गर्दा कुलमान घिसिङले धेरै वाहवाही पाउनुभयो, उहाँको ठाउँमा बसेर काम  गर्न कत्तिको गाह्रो रहेछ त ? भन्ने जिज्ञासामा निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले भन्नुभयो, ‘काम गर्ने चुनौती जहाँ पनि हुन्छन्, उहाँको ठाउँमा बसेर काम गर्न मलाई गाह्रो भएको छैन, मैले पनि विद्युत प्राधिकरणमा ३२ वर्ष सेवा गरिसकेको छु, ग्राहकसँगै जोडिने विभागमा रहेर लामै समय काम गरेको हुनाले मलाई कुनै कठिनाइ भएको छैन, मेरो क्षमता र ज्ञानले भ्याएसम्म प्राधिकरणलाई चुस्त बनाउने, नागरिकलाई राम्रो सेवा दिने कोशिस गरिरहेको छु ।’

अन्तिम अपडेट: चैत १४, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया