लमही आँखा अस्पतालमा अत्याधुनिक प्रविधि ‘फेको’बाट शल्यक्रिया सेवा

 असोज २३, २०७७ शुक्रबार १२:५७:५८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको लमही आँखा अस्पतालमा अत्याधुनिक प्रविधि ‘फेको’बाट शल्यक्रिया गर्न थालिएको छ । मेसिनले शल्यक्रिया गरेर आवश्यक काम मेसिनले नै गर्ने प्रविधिलाई ‘फेको’ भनिन्छ । 

यही प्रविधिको प्रयोग लमही आँखा अस्पतालमा गर्न थालिएको अस्पतालले जनाएको छ । यसअघि आँखाको जटिल समस्याको शल्यक्रिया गर्न भैरहवा वा काठमाण्डौ नै जानुपर्ने बाध्यता अब हटेको लमही आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत शमशेर थापाले बताउनु भयो ।

दाङको लमही र तुलसीपुरको रक्षाचौरमा आँखा अस्पताल छन् । तर, आँखाको सबै उपचार हुँदैन । लमहीमा रहेको आँखा अस्पतालको स्तरवृद्धि गरेर प्रादेशिक तहको आँखा अस्पताल बनाउन जोड दिइएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भएपछि आँखाको सबै प्रकारको उपचार र सेवा लमहीबाट प्रदान गर्न आँखा अस्पतालको स्तरवृद्धि गर्न आवश्यक रहेको थापाले बताउनुभयो । 

अन्धोपन निवारणको लागि प्रदेशस्तरीय उच्चस्तरीय आँखा अस्पतालको रुपमा विकास गर्न गुरुयोजना अनुसारको पूर्वाधार विकासमा स्थानीय, प्रदेश र केन्द्र सरकारको सहयोगको आवश्यकता पर्ने उहाँको भनाइ छ । आँखा अस्पताललाई अध्ययन प्रतिष्ठान र तालिम केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । विसं २०५८ सालमा लमहीमा साप्ताहिक आँखा उपचार क्लिनिक सुरु गरिएको थियो । 

२०६३ सालबाट दैनिक आँखा उपचार र २०७० सालबाट अस्पतालको रुपमा सेवा सुरु गरेको इतिहास छ । अस्पतालले अहिलेसम्म २ लाख ८६ हजार बढीलाई आँखा उपचार सेवा दिएको छ । आठ हजारभन्दा बढीले मोतियाबिन्दु शल्यक्रिया सेवा लिएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया