यसपालिको दशैँमा नयाँ लुगाफाटा किन्नै समस्या, खल्लो हुँदैछ मध्यम वर्गको दशैँ

तीन कारणले बजारमा लत्ताकपडाको व्यापार छैन

 असोज २६, २०७७ सोमबार १०:३:५८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - दशैँ सुरु हुन अब केही दिन मात्रै बाँकी छ । विगतमा दशैँको एक/डेढ महिनाअघिदेखि नै बजारमा ठेलम्ठेल हुन्थ्यो । पसलमा किनमेल गर्नेहरुको लर्को हुन्थ्यो ।

दशैँमा कम्तीमा एक जोर भए पनि नयाँ लुगा किन्ने चलन अनुसार दुःखी गरिबले पनि एकसरो लुगा किन्थे । तर यसपटक धेरै जनासँग लुगाफाटा किनमेलको लागि पैसा छैन । त्यसमाथि सरकारले नै पुराना लुगाफाटाले काम चलाउनु भनेकाले लुगाफाटा किन्ने र बेच्ने दुवै निराश छन् । लुगाफाटाको व्यापार चौपट हुनुमा तीन कारण छन् ।

कारण एक : मान्छेको आम्दानी छैन 

महामारीका कारण कयौँको रोजगारी गुमेको छ । केहीको तलब काटिएको छ । केही तलब नआए पनि काम गर्न बाध्य छन् । विकास निर्माणका काम तीव्र गतिमा नहुँदा र उद्योग कल कारखाना पूर्ण क्षमतामा चल्न नसक्दा दैनिक ज्यालादारी गर्नेहरुलाई छाक टार्नै मुश्किल परिरहेको छ ।

मध्यम र निम्न वर्गका मान्छेलाई जीवन धान्न मुश्किल भइरहेको यस्तो अवस्थामा दशैँमा नयाँ लुगा किन्नुपर्छ भन्ने धारणा धेरैले त्यागेको पाइन्छ । पुरानै लुगाफाटामा दशैँ मनाउने तयारी गरेकाको संख्या निकै ठूलो छ। 

कारण दुई : नाकामै अड्किए लुगाफाटा

नेपालमा आयात हुने लुगाफाटाको झण्डै ८० प्रतिशत लुगाफाटा चीनबाट भित्रन्छ । बालकदेखि वृद्धसम्मका लुगाफाटा र जुत्ता चप्पल चीनबाटै आयात हुन्छन् । तर यसपटक कोरोना भाइरसको कारण गएको चैतदेखि रसुवागढी र तातोपानी नाका बन्द जस्तै छन् । 

बेला बेलामा नाका खुलेका खबर आए पनि चिनियाँ पक्षले कोरोनाको कारण देखाएर दिनमा एक/दुई वटाका दरले मात्रै कन्टेनर नेपाल आउन दिने गरेको छ । झण्डै एक हजारको हाराहारीमा कन्टेनर सीमामै रोकिएका छन् । 

लुगाफाटा, जुत्ताचप्पल र कस्मेटिकका सामान बोकेका कन्टेर चीनमै रोकिँदा नयाँ कपडा नेपाल आएका छैनन् । गोजीमा पैसा हुनेहरु बजारमा गए पनि नयाँ कपडा नपाउँदा निराश हुँदै घर फर्कन बाध्य छन् । 

कारण तीन : सुरक्षा सतर्कता

अहिले दैनिक पाँच हजारको हाराहारीमा कोरोना सङ्क्रमित देखिन थालेका छन् । 

सरकारले १९ हजार जनाको परीक्षण गर्दा पाँच हजार जनामा कोरोना देखिएको छ । यसको मतलब सरकारले एक लाख नागरिकको परीक्षण गर्यो भने २२/२३ हजार जनामा कोरोना देखिन सक्छ । अवस्था भयावह भएको र सरकारले नै अब जिम्मेवारी लिन नसक्ने संकेत गरेपछि नागरिक डराएका छन् । 

बजारमा केही चहलपहल देखिए पनि धेरै नागरिक किनमेलको लागि जानै डराएका छन् । सरकारले हरेक दिन नागरिकलाई सचेत गराउने र तर्साउने हिसाबले पनि बजार नजान भनिरहेको छ । नागरिक पनि कोरोना लागेमा सरकारले हेर्दैन भन्ने मानसिकतामा पुगेकाले बजार निस्कन डराइरहेका छन् । यो कारणले पनि बजारमा लुगाफाटाको व्यापार छैन । 

‘यो वर्ष पुरानै लुगाफाटा लगाएर दशैँ मनाउनुहोला, कोरोनालाई परास्त गर्न सक्यौँ भने अर्को वर्षका चाडबाडमा रमाइलो गरौँला, किनमेल गरौंँला । यो वर्ष नयाँ लुगा किन्नुपर्यो भन्दै बजार नगएको राम्रो’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भन्नुभएको छ । 

व्यापारी भन्छन् : दशैँमा पनि ग्राहक कुरेर बस्ने अवस्था आउनु भनेको टाट पल्टनु हो

लुगाफाटाको व्यापार गर्ने व्यापारीहरुले आफ्नो व्यवसाय चौपट भएको गुनासो गरेका छन् । सरकारले बजार ननिस्कन नागरिकलाई बारम्बार आग्रह गर्नु, नेपाल आउने लुगाफाटा चीनमै रोकिनु र मान्छेको किन्ने क्षमता घट्नु लगायतका कारण व्यापार चौपट भएको उनीहरुको गुनासो छ । 

‘दशैँको बेलामा त दिनभरि हात खाली नहुनुपर्ने हो, ग्राहक ठेलम्ठेल गरेर आउनुपर्ने हो, तर अहिले त दुई जना ग्राहक आउँदा पनि खुसी हुनुपर्ने अवस्था आएको छ’ नयाँ बानेश्वर व्यापार संघका अध्यक्ष रामशरण गिरीले भन्नुभयो । 

उहाँले अहिले व्यापारीहरुले धमाधम सटर बन्द गर्न थालेको बताउनुभयो । ‘पसलमा मान्छे आउनै छाडे, धेरै व्यापारीले भाडा तिर्न नसकेर पसल नै बन्द गरेर हिँडेका छन्, व्यापारमा  ठूलो संकट आएको छ’ गिरीले भन्नुभयो । 

दसैँको रमाइलोपना खोसियो : अर्थविद् आचार्य

अर्थविद् केशव आचार्यले कोरोनाका कारण दशैँको रमाइलोपना नै खोसिएको बताउनुभएको छ । निम्न वर्गदेखि उच्च वर्गका मान्छेले पनि दशैँलाई उत्साह र उमङ्गका साथ मनाउने चलनलाई कोरोनाको महामारीले बिथोलेको उहाँको भनाइ छ ।

‘दैनिक मजदुरी गरेर खानेले समेत दशैँमा एकसरो लुगा फेर्नुपर्छ भन्ने चलन थियो, अरु बेला नभए पनि दशैँमा उनीहरुले नयाँ कपडा किन्थे, तर यो दशैँमा त रमाइलोपना नै खोसियो’ आचार्यले भन्नुभयो । 
निम्न वर्गको दशैँ आम्दानी नहुँदा खल्लो भएको र उच्च वर्गको दशैँ पैसा भए पनि चहलपहल गर्न नपाउँदा खल्लो हुने अर्थविद् आचार्यको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया