धनकुटा : पहिराेमा पूर्णरुपमा क्षति भएका ४१ घर पुनर्निर्माणकाे लागि सिफारिस

 असोज २६, २०७७ सोमबार १५:४१:३२ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटामा पहिरोमा परि पूर्णरुपमा क्षति भएका ४१ घर पुनर्निर्माणको लागि सिफारिस भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति धनकुटाकोे बैठकले जिल्लाभरिबाट निवेदन आएकामध्ये प्रक्रिया पुगेकालाई पहिलो चरणमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिरोमा पुरिएर ज्यान गुमाएका एक जनाका परिवारलाई राहतका लागि सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताउनुभयो ।

धनकुटामा विपद्का घटनाका (साना–ठूला) गरी दुई सय ५७ वटा निवेदन आएका थिए । घर पूर्णरुपमा क्षति भएका तर कागजात नपुगेर रोकिएका पीडितहरुको प्रक्रिया पु¥याइ फेरि अर्को पटक सिफारिस गर्ने निर्णय भएको छ । बेठकमा प्रतिनिधि सभाका सदस्य राजेन्द्रकुमार राईले विपद्मा परि पीडित भएकाहरुलाई निष्पक्ष ढङ्गबाट राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।  

पहिरोमा घर पूर्णरुपमा क्षति भएर पीडित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले राहत स्वरुप तत्कालका लागि परिवार सङ्ख्या हेरेर १५ हजारदेखि २० हजार रुपैयाँसम्म वितरण गरेको थियो । 

बैठकमा धनकुटाका सात वटा विद्यालय पुनर्निर्माणका लागि सूचीमा दर्ता गर्ने निर्णय गरिएको थियो । कार्यक्रमकै अवसरमा अमेरिका रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाद्वारा प्रकाशित जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ नामक पुस्तकको प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार राई, प्रदेश सभाका सदस्यहरु इन्द्रमणि पराजुली, निरन राईले संयुक्त रुपमा विमोचन गर्नुभएको छ ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया