गुनासोरहित कार्यालय अभियानमा रुकुम प्रशासन, हरेक दिन नयाँ काम

 असोज २७, २०७७ मंगलबार १३:२१:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - कार्यालयलाई गुनासोरहित बनाउने अभियान थालनी गरेको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले सेवा प्रवाहलाई सरल, प्रभावकारी, पहुँचयोग्य तथा सेवाग्राहीमैत्री बनाउन हरेक दिन नयाँ कामको अवधारणा ल्याएको छ । 

गएकाे भदौ महिनाबाट सुरु गरिएको गुनासोरहित जिल्ला प्रशासन कार्यालय अभियानअन्तर्गत विभिन्न रचनात्मक गतिविधि सुरुवात गरिएको र सकारात्मक प्रतिफल प्राप्त भइरहेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो। 

भदौ महिनाको ३१ दिन नयाँ ३१ काम सम्पादन गर्यौँ’ प्रमुख जिल्ला अधिकारी राईले भन्नुभयो, ‘हरेक दिनमा उल्लेख योग्य काम सुरुवात गर्ने र महिनाको अन्त्यमा त्यसको समीक्षा गर्ने गरेका छौँ ।’ सेवाग्राहीलाई सरकारी सेवा प्राप्तिमा झन्झट झेल्नु नपरोस् र हरेक कार्यालयको सेवा प्रवाह नमुनायोग्य बनोस् भन्ने योजनाका साथ काम गरिएको प्रजिअ राईले उल्लेख गर्नुभयो ।

कार्य विभाजन तथा कार्य सम्पादन करार सम्झौता गरेर वार्षिक कार्ययोजना बनाइएको र योजना अनुसारको क्यालेण्डर समेत निर्माण गरेर काम गरिरहको प्रजिअ राईको भनाइ छ । कोराना भाइरसको रोकथाम, नियन्त्रण, सचेतना र पूर्व तयारीको कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्नुलाई पहिलो प्राथमिकतामा राखेर अन्य सेवाहरु प्रदान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अघिल्लो महिनाका ३१ दिनका ३१ कामले यस महिनामा पनि केही नयाँ गर्न र सुखद प्रतिफलहरुलाई निरन्तरता दिन प्रेरित गरेको सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले बताउनुभयो । ‘हरेक घरमा कार्यालयको नागरिक वडापत्र उपलब्ध गराइदिने सोच छ’, सूचना अधिकारी समेत रहनु भएकी सहायक प्रजिअ पोखरेलले भन्नुभयो, ‘यसो हुँदा सेवाका सबै प्रकार र प्रकृति सर्वसाधारणले छर्लङ्ग बुझ्छन् ।’

विकट र दुर्गम गाउँबाट आउने सेवाग्राहीहरुले रित्तो हात फर्कनु नपरोस्, सरकारी सेवाप्रति गर्व गरुन् भन्ने मनसायले हरेक दिन सुनाउन लायक कामको सुरुवात गरिएको उहाँले जनाउनुभयो । मासिक रुपमा उत्कृष्ट कर्मचारी घोषणा गर्ने कामको सुरुवात गर्नुका साथै सरसफाई र वृक्षारोपणको कामलाई निरन्तरता दिइएको छ ।

कार्यालय परिसरमा सचेनामुलक डिजिटल बोर्ड, सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउँने, व्यवस्थित अभिलेखीकरण, कार्यालय परिसरमा करेसाबारी स्थापनालगायतका कामले सकारात्मक उर्जा प्रतिक्रिया आएको बताइएको छ ।

सहायक प्रजिअ पोखरेलका अनुसार, कार्यालयमा पुस्तकालय सुरु गर्न थालिएको छ भने हरेक कार्यालयलाई सूचनामैत्री बनाउन पहल थालिएको छ । जिल्लाका अन्य कार्यालयहरुले पनि गुनासोरहित कार्यालय बनाउन प्रतिबद्धता जनाएको सहायक प्रजिअ पोखरेलले बताउनुभयो । 

जिल्ला प्रशासनको यस्तो कार्यशैली र अभियानले सेवा प्राप्ति सरल र सहज हुने विश्वास लिइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया