क्रिकेटर नभएको भए कार चढेर टेनिस कोर्ट जान्थेँ होला: सचिन तेन्दुलकर

 साउन २६, २०७५ शनिबार १४:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सन्यास लिएको पाँच वर्ष भइसक्दा पनि अझै सचिन तेन्दुल्कर जता जान्छन्, उनलाई भीडले छोप्ने गरेको छ ।

‘लिटिल मास्टर’ को उपनाम पाएका सचिन तेन्दुल्कर टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनलाई क्रिकेट इतिहासकै सर्वोत्कृष्ट ब्याट्सम्यान समेत भनिन्छ ।

करोडौं समर्थकको प्रशंसा पाउँदै आएका सचिनले सफल खेलाडी करियरपछि पनि अर्को खेल छलाङ लगाउन सफल भएका छन् ।

‘जब बिहानै, विशेष गरी साना साना बच्चाहरुले मलाई न्यानो स्वागत गर्दछन्, मलाई निकै खुसी लाग्छ,’ सचिनले भने ।

‘उनीहरुले मलाई ३५ वर्ष अघि पुर्‍याइदिन्छन् । त्यसबेला म उनीहरुका उमेरको थिएँ, जोसले भरिएको थिएँ । मन अनि दिमागमा जीवन्त उर्जा थियो । बच्चाहरुलाई म यही कुरा भन्छु, त्यो उर्जालाई निरन्तरता दिनु पर्छ ।’

‘यो एक आशिर्वाद हो । कुनै गुनासो गर्न सक्दिन । मानिसहरुलाई म यो भन्न चाहन्छु कि मलाई यस्तै माया दिइरहनुस् । धेरै धेरै धन्यवाद ।’ सचिनले भने ।

सन् २०११ मा आईसीसी विश्वकपको उपाधि जिताउन महत्वपूर्ण योगदान दिएर सचिनले भारतलाई आईसीसी विश्वकपको दोस्रो उपाधि जिताए । त्यसअघि भारतले सन् १९८३ को विश्वकप जितेको थियो ।

सचिन यति लोकप्रिय छन् कि भारतका समर्थकहरु उनलाई ‘क्रिकेटको भगवान’ भन्छन्, जुन उपाधिलाई उनी सम्मानपूर्वक अस्वीकार गर्दछन् ।

‘द तेन्दुल्कर मिडिल्सेक्स ग्लोबल एकेडेमी’ तेन्दुल्कर र इंग्लिस काउन्टी क्रिकेटको संयुक्त साझेदारीमा स्थापना भएको हो, जसले नौ देखि १४ वर्षसम्मका बालबालिकालाई प्रशिक्षण दिनेछ ।

एकेडेमीको पहिलो प्रशिक्षण शिविर लण्डनको नर्थउडमा हुनेछ । त्यसपछि लण्डनका केही स्थान हुँदै भारतको मुम्बईमा यो प्रशिक्षण शिविर संचालन हुनेछ ।

तेन्दुलकरका अनुसार यो एकेडेमीको उद्धेश्य राम्रा क्रिकेटरमात्र नभई ‘असल मानव’ उत्पादन गर्ने हो । ‘बालक कालमा हुँदा बुवाबाट केही कुरा सिकेको थिएँ ।’ तेन्दुल्कर सम्झिन्छन् । ‘ठीक छ, भारतका लागि खेल्नु तिम्रो सपना हो, तर त्यसपछि के हुन्छ ? त्यहाँबाट तिमी कहाँ जान्छौ ?

‘अवश्य पनि तिमी राम्रो क्रिकेटर बन्न चाहन्छौ, तर म तिमी असल व्यक्ति भएको हेर्न चाहन्छु । जसका कारण मानिसहरुले क्रिकेटिङ करियर पनि पनि निरन्तर माया गरुन् ।’ यो सन्देश म बच्चाहरुलाई दिन चाहन्छु ।

‘केवल राम्रो क्रिकेटर बन्नुमात्र हाेइन, असल व्यक्ति बन्नु ठूलो कुरा हो । असल व्यक्ति बन्ने प्रकृया जिवनपर्यन्त निरन्तर रहन्छ ।’

उनी जीवनका केही महत्वपूर्ण शिक्षा कक्षा कोठाबाटभन्दा पनि मैदानमा टिमको एउटा सदस्यका रुपमा पाएको विश्वास गर्दछन् ।

क्रिकेट मात्र नभई टेनिस, ब्याडमिन्टन, पौडी र स्क्वास जस्ता खेल सिकाउने एकेडेमी संचालन गर्ने उद्धेश्य सचिनको छ । ‘अधिकतम टिम गेमले एक अर्काका लागि बलिदान गर्न सिकाउँछ ।’

‘खेलकुदले मलाई टिमको एक सदस्यका रुपमा कसरी अघि बढ्ने भन्ने कुरा सिकाएको छ,’ सचिन भन्छन् ।

२४ वर्ष लामो टेस्ट करियरमा सचिनले १५,९२१ रन बनाएका छन्, जुन कीर्तिमानलाई कसैले भेट्न सकेका छैनन् । यदि क्रिकेटबाहेक अन्य खेल रोज्नु पथ्र्यो भने के रोज्थे होला ?  

‘म कारको सौखिन छु, मेरो विचारमा म माइकल सुमाकर जस्तो बन्थेँ होला ।’ सुमाकरले फर्मुला वनको सात विश्व उपाधि जितेका छन् । ‘रेसिङ मेरो प्यासन हो ।’

‘मोटर रेसिङ र टेनिस रोज्थेँ होला । रोजर फेडेरर र माइकल सुमाकर मध्ये एक बन्ने थिएँ ।’
त्यसमध्ये एउटामात्र रोज्नु पर्दा ?

‘म कार चढेर टेनिस कोर्ट जान्थेँ होला,’ उनी हाँस्छन् ।

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया