असई मृत्यु प्रकरण : ‘हत्यापछि शव माेहना नदीमा फालिएकाे हुन सक्छ’

 कात्तिक २, २०७७ आइतबार १४:३०:४५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीको धनगढीमा गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ ।

शनिबार रातिदेखि बेपत्ता भएका धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडामा कार्यरत असई विकको आइतबार बिहान नेपाल–भारत सीमाकाे मोहना नदीमा शव भेटिएकाे थियो ।

घटनास्थलमा पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीले मृतक विकको शव खोलाबाट निकालेको छ ।

‘उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको चोट देखिएको छ’, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले भने, ‘उनलाई हत्या गरेर त्यहाँ फ्याँकिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाउँछ ।’

विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात रहेको सिंहले जानकारी दिनुभयाे । 

अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्जसमेत रहनुभएका असई विक र प्रहरी जवान साउद नियमित गस्तीमा गएका बेला शनिबार रातिदेखि बेपत्ता भएका थिए । राति आठ बजेतिर नियमित गस्तीमा गएका उनीहरू १२ बजेतिर फर्किनुपर्नेमा नफर्किएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलसमेत प्रहरीले फेला पारको छ । शव भेटिएको ठाउँदेखि साढे दुई किलोमिटर पश्चिमतर्फ उहाँको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । विकसँग रहेको हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा बेपत्ता रहेका जवान साउदको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियाकाे ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थलमा पुगेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया