असई मृत्यु प्रकरण : हत्यामा संलग्न भएकाे आशङ्कामा ११ जना पक्राउ

 कात्तिक २, २०७७ आइतबार १८:२३:५८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीमा धारिलो हतियार प्रहार गरी नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को हत्या भएको छ । अर्का एक प्रहरी जवान भने अझै सम्पर्कविहीन छन् । 

यसैबीच असईको हत्यामा संलग्न भएको आशङ्कामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी बिट जुगेडाका असई विकको हत्याका विषयमा सोधपुछका लागि ११ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताउनुभयो । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम भने नखुलाइएको प्रहरीले जनाएको छ  । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडामा कार्यरत असई गोविन्द विकको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महाननिरीक्षक (डीआईजी) उत्तम सुवेदीले बताउनुभयो । 

‘असईको हत्या गरी मोहना नदीमा शव फालिएको रहेछ । प्रारम्भिक अनुसन्धानमा अन्यत्रै हत्या गरेर नदीमा फालेको देखिएको छ’, डीआईजी सुवेदीले भन्नुभयो । उहाँका अनुसार विक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि बेपत्ता थिए । २८ वर्षीय असई विकको घर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–९ को ख गाउँमा छ । सम्पर्कविहीन साउदको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीको अत्तरियाको ७ नम्बर बाहिनीको गोताखोर टोली परिचालन भएको सशस्त्रका डीआईजी (प्रहरी नायब महानिरीक्षक) हरिशंकर बुढाथोकीले बताउनुभयो । 

उखुबारीमा हत्या गरी शव नदीमा फालेको निष्कर्ष

गोविन्दबहादुर विकको हत्या भएको खुलेको छ । असई विकको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ । उहाँ आइतबार बिहान नेपाल–भारत सीमा हुँदै बग्ने मोहना नदीमा मृत भेटिनुभएको थियो । घटनाको अनुसन्धानको लागि सुदूरपश्चिम प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसहित निमित्त जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्ट नेतृत्वको टोली घटनास्थल पुगेको थियो । 

धनगढीबाट अपराध अनुसन्धानमा सहयोग पुगोस् भनेर ‘ट्र्याकर डग’ लाई पनि घटनास्थल लगेर शव सुँघाइएको निमित्त जिल्ला प्रहरी प्रमुख, डीएसपी विष्टले बताउनुभयो । घटनास्थल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० मा पर्छ । त्यस क्षेत्र आसपासमा बिहानैदेखि सादा पोसाकका प्रहरी परिचालित गरिएका थिए । २८ वर्षीय असई विकको साथमा रहेको पेस्तोल पनि हराएको डीएसपी विष्टले बताउनुभयो । उहाँका अनुसार घटनास्थल र असई विकको शव फेला भेटिएको मोहना नदीको दुरी अन्दाजी तीन सय मिटर हो ।

घटनास्थलमा उखु खेती छ । जहाँ घम्साघम्सी परेको देखिएको छ । रगतका छिटाहरू उछिटिएका छन् । एक जोडी चप्पल पनि भेटिएको छ । हत्यापछि घिसार्दै नदीमा शव फालेको हुन सक्ने ‘क्रिमिनल सिन’ को आधारमा प्रहरीको निष्कर्ष छ । सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार असई विक अस्थायी प्रहरी चौकी जुगेडाका इञ्चार्ज हुन् । जुन धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ मा पर्दछ ।

नियमित गस्तीको लागि उहाँ शनिबार राति साढे ८ बजेतिर हवल्दार रामबहादुर साउँदसँगै निस्कनुभएको थियो, यो प्रहरी चौकीको ‘एरिया अप्रेशनल रेस्पोन्सिबिलिटी’ क्षेत्र हो । गस्तीमा निस्केको टोली साढे १० बजेपछि भने सम्पर्कविहीन भएको थियो । लगत्तै नजिकका प्रहरी चौकीहरूबाट खोजीका लागि प्रहरी परिचालन भए पनि भेटिएका थिएनन् । आइतबार बिहानै जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले असई विकलाई मृत अवस्थामा भेटेको हो ।

शव भेटिएको स्थल र अस्थायी प्रहरी चौकीको दुरी झण्डै पाँच किलोमिटर हो । हवलदार साउद र असई विक गस्तीमा निस्किँदा सवार बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल चौकीदेखि झण्डै अढाइ किलोमिटरको दुरीमा फेला परेको एसएसपी सिंहले बताउनुभयो । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनाको कारणबारे कुनै ‘क्लु’ फेला पार्न सकेको छैन । 

घटनामा कसको संलग्नता रह्यो भन्ने पनि अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धानमा संलग्न अनुसन्धान अधिकारीहरूले घटनालाई रहस्यमयी मानेका छन् ।

घटनास्थल भारत सीमा क्षेत्र हो । सीमा क्षेत्रमा तस्करहरू सक्रिय छन् । तस्करहरूले नियन्त्रणमा लिएर असई विकको हत्या गरेको हुन सक्ने प्रहरीको आशङ्का छ । जुगेडा धनगढी नजिकैको नेपाल–भारत सीमा क्षेत्र हो । त्यहाँ रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत दश प्रहरीमध्ये इन्चार्ज विक प्रहरी जवान साउदलाई लिएर शनिबार राति मोटरसाइकलमा सीमा क्षेत्रको गस्तीमा गएको प्रहरीको भनाइ छ ।  

जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन् । कञ्चनपुरबाट जुगेडा पुगेका आफन्त र स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया